नेपालको आर्थिक विकास, संस्कृति संरक्षणको लागि तथा परनिर्भरता घटाउनका लागि विकल्पहरु धेरै छन् । कही उद्योग स्थापना त कही पर्यटन व्यवसाय कतै कृषि लगायतका पेशालाई व्यवसायिक बनाएर निरन्तरता दिन आवश्यक रहेको छ । सरकारी होस् वा गैरसरकारी क्षेत्र जहाँबाट शुरू गरिएपनि निरन्तरता र मेहनतका साथ अगाडि बढाउनुपर्छ । जमिन बाँझो राखेर विदेशी भूमिमा खटिन बाध्य भएका नेपाली युवाहरूलाई कसरी आफ्नै भूमिमा आत्मनिर्भर बनाउने भनेर साेंंच्नु पर्दछ । सम्भावना हुदाँहुँदै पनि निरन्तरता र स्पष्ट नीतिको अभावले युवा अलपत्र परी विदेशिनु परेको छ । देशमा के–कस्ता सम्भावनाहरू छन् र तिनीहरूलाई कसरी प्रयोगमा ल्याउँदा विकास हुन्छ, त्यसतर्फ साेंच्नु जरूरी हुन्छ तर विकासले विनास ननिम्त्याहोेस् यो पनि ख्याल पनि राख्नुपर्दछ ।
जहाँबाट सफलता हात लाग्छ, त्यही बाटो जानुपर्छ । जसले काम थालिसकेका छन्, तिनीहरूका लागि संरक्षण र उपयुक्त वातावरण दिनुपर्दछ । त्यति भएमात्र एउटाको सफलता देखेर अरूहरूलाई पनि त्यसतर्फ लाग्नको लागि हौसला मिल्छ । त्यसैले योजना र प्रक्रियागत रूपमा नीति नियम ल्याउनुपर्छ । विशेष गरेर युवा वर्गलाई लक्षित गरेर कार्यक्रम बनाउनुपर्छ । देशले राजनीतिक र आर्थिक क्रान्ति एकै साथ ल्याउनका लागि युवाको जोस र जागर खोजिरहेको छ । सोंचलाई व्यवहारमा र व्यवहारलाई वास्तविकतामा परिणत गरे मात्र देश विकासतर्फ मोडिन्छ । युवाले स्वेदेशमै काम गरेर जीवन निर्वाह हुन सक्छ भन्ने भावना बनाउन सकियो भने मात्र स्वेदेशी सीपले स्वेदेश मै भाउ पाउँछ । युवा रोजगार कार्यक्रमहरू लागुगर्ने, सीप अनुसारको काम र काम अनुसारको दामको व्यवस्था हुनुपर्दछ र त्यो भएमा युवाको श्रम र पसिनालाई देश मै लागु गर्न सकिन्छ । कामलाई सानो ठूलो भन्ने साथमा एकले अर्कोको खुट्टा तान्ने प्रवृत्तिको जरैबाट अन्त्य गरी श्रमको उचित सम्मान गरौं ।