Shittalpati
मैले देखेको पर्यटन

विश्वव्यापी कोरोनाको कहरले पर्यटन क्षेत्र धरासयी बनेको छ । पर्यटनसँग सम्बन्धित लाखौं पर्यटन व्यवसायी र मजदूरहरुको रोजगारी गुमेको छ । कोरोनाका कारण सबैभन्दा बढी असर यही क्षेत्रमा परेको छ । सिजनमा प्रशस्त मात्रामा पर्यटकहरु भित्राउने र विदेशी मुद्रा आर्जन गर्ने, बढीसे बढी मानिसहरुले रोजगारी पाउने क्षेत्र नै पर्यटन हो भने पनि हुन्छ । तर अहिलेको यो अवस्थामा के पर्यटन भन्ने । पर्यटनको लागि विश्वले गरिरहेको आकर्षक क्रियाकलापहरु र त्यहाँ भएका संंरचनाहरु हेर्दा नेपालले अझ धेरै गर्न बाँकी छ जस्तो लाग्छ । हुन त नेपाल आफैमा प्राकृतिक सौन्दर्यको खानी नै हो तर पूर्वाधारको कमीले अझ कतिपय सौन्दर्य पर्यटनको पहुँचबाट बाहिर नै रहेको छ भनिन्छ । विश्वका कतिपय देशहरुले कृत्रिम सौन्दर्यतालाई प्राथमिकतामा राखेर विभिन्न आकर्षक संरचनाहरु बनाएर भएपनि पर्यटकहरुलाई लोभ्याई रहेका छन् भने नेपाल यता तिर चुकेको छ । केही समयका लागि यूरोपका विभिन्न देशहरुको भ्रमणको सिलसिलामा मैले धेरै पर्यटकीय प्राकृतिक र कृत्रिम संरचनाहरु हेर्ने मौका पाएको थिए । पर्यटनमा आफनो पनि चासो भएको तथा आफुले पर्यटन सम्बन्धी लेखहरु लेखिरहने भएकाले पर्यटकहरु भित्र्याउने यूरोपमा के कस्ता तरिकाहरु रहेछन् किन यति धेरै पर्यटकहरु यूरोपमा ओइरो लाग्ने रहेछ भन्ने केही मात्रामा भए पनि जानकारी पाउन सफल भए । यसर्थ यसै विषयमा केन्द्रीत रहेर यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।

हाम्रो छोरा यूरोपको एउटा सानो भूपरिवेष्ठित देश अष्ट्रियाको राजधानी भियनामा आफनो अध्ययन सकेर चौध वर्षदेखि भियनामा नै जागिरे भएकाले हामीलाई त्यहाँ जान धेरै सहज भयो । हामी दुई बुढाबुढी र नातिनी (ठूलो छोराको छोरी) गरी तीनजना यूरोप पुगेका थियौं । केही समय घुम्नका लागि र छोराको इच्छाले गर्दा पनि । नौ वटा राज्यहरु मिलेर बनेको अष्ट्रियाको राजधानी भियना विश्वको सबैभन्दा राम्रो शहर मध्येमा पहिलो नम्बरमा पर्दछ भन्ने पनि थाहा भयो । हुन पनि जब सबै क्रियाकलापहरु एउटा निश्चित सिस्टममा चल्छ तब सबै सम्भव हुने रहेछ । दिनहुँ हजारौं पर्यटकहरु यूरोपका विभिन्न देशहरुमा पुग्ने रहेछन् । अधिकांश एशियन मूलका अनुहारहरु त्यसमध्ये पनि युवा पुस्ताहरु अझ बढी देखिने रहेछन् । भियनामा पनि टन्नै देखिए पर्यटकहरु । हुन पनि भियनामा पनि यति धेरै पर्यटकीय संरचनाहरु रहेछन् ती केही दिन बसेर हेरेर नसकिने रहेछ । वास्तवमा पर्यटकहरु त्यस्तै विभिन्न संरचनाहरु हेर्न विभिन्न ठाउँहरु पुग्ने गर्दा रहेछन् । अधिकांश देशहरुमा सदियौं पुराना संरचनाहरु रहेका छन् तर कसैले पनि तिनलाई पुराना भन्न सक्दैनन् । त्यस्तै भियनामा पनि यस्ता धेरै सदियौं पुराना संरचनाहरु रहेछन । त्यहाँ मैले प्राकृतिक भन्दा पनि कृत्तिम संरचनाहरु धेरै रहेकाले सदियौं पुराना दरवारहरु भर्खर नयाँ बनाए जस्तै गरी रंगरोगन गरी चिटिक्क पारिएका छन् । दरवार भित्र त्यसबेलाको समयलाई झल्काउने पूराना सामग्रीहरु सजाएर राखिएका म्यूजियम, दरवार अगाडि पछाडी आकर्षक फोहरा सहितका रंंगीविरंगी फूलहरुका फूलबारी, मार्बलका आकर्षक विभिन्न आकृतिहरु, राष्ट्रिय पुस्तकालय, राष्ट्रपति भवन, चान्सलर भवन, सांसद भवन प्लेग स्मारक । अझ रातको समयमा दरवार चारैतिरबाट रंगीन बत्तिहरुले झलमल हुँदा अत्यन्त आकर्षित देखिने रहेछ । दरवार अगाडि भएको क्याफेमा बसी कफि, वियर तथा वाइनको चुस्कीमा रमाई रहेका पर्यटकहरु देख्दा सायद यस्तै हेर्न आउने रहेछन् पर्यटकहरु जस्तो लाग्यो । विश्वको सबभन्दा पुरानो चिडियाखाना जहाँ संसारभरी पाइने सबैजसो जीव जन्तु, किरा फटेङ्ग्राका साथै समुन्द्री जीवहरु पनि हेर्न सकिने रहेछ ।

त्यस्तै सिसाको घरभित्र मरुभूमिको झल्को दिने कृत्तिम मरुभूमी तापक्रम र वातावरण मिलाई राखेका मरुभूमी पाइने साना–साना जीवहरु । त्यस्तै गरी रक क्लाईविंग, पाराग्लाइडिंग, स्काई वाक (आकाशे हिडाई), स्की कम्पिटिसन, ठाडो चट्टानमा रेलको लिंकमा चढ्ने केवल कार, डोनाउ घुम्ने टावर जहाँबाट कफीको चुस्कीसंगै सम्पूर्ण भियना देख्न सकिन्छ । यूरोपको दशवटा देश भएर बग्ने दान्यूव नदि भियना भएर पनि बग्ने हुँदा सो मुख्य नदिबाट दुई वटा नहर निकालिएको रहेछ एउटा सानो नहरमा साना–साना डुंगाहरुमा पर्यटकहरु रमाइरहेको देखियो भने अर्काे अलि ठूलो नहर जस्मा साना–साना जहाज नै चलाइने रहेछ । डाँडाकाँडा, हिमाल यूरोपमा पनि टन्नै छन् ती सबै हेर्न दूरवीन सहितका भ्यू टावर बनाइएका छन् भने ती डाँडाकाँडा हिमालबारे जानकारी गराउन सिसाको फ्रेम भित्र जर्मन र अंग्रेजीमा लेखिएका ठूला–ठूला बोर्डहरु राखिएका छन् । त्यस्तै घर–घरमा साना ठूला होटल, क्याफे जहाँ पर्यटकहरुलाई मन पर्ने खानाका परिकारहरु इत्यादि सबै कारणले भियना पर्यटकीय दृटिकोणले अत्यन्त उपयुक्त गन्तव्य रहेछ । सबभन्दा महत्वपूर्ण त यूरोपका जुन देशमा गए पनि यातायातको अत्यन्त राम्रो सुविधा हामीले देख्यौं । हुन त कुनै पनि देशको विकासको मेरुदण्ड नै यातायात मानिन्छ । यूरोपमा यातायात सबै सरकारी संयन्त्र भित्र पर्ने रहेछ त्यसैले सबै सिस्टममा चल्ने रहेछन् । यूरोपमा यातायातको लागि जताततै सुरुङ्ग, सफा चिल्लो बाटो, मेट्रो, ट्राम, बस, रेलको सुविधा, सबै साधनहरुमा सो साधनको अन्तिम गन्तव्य सम्मको बाटोको नक्सा टाँसिएको हुन्छ जसलाई हेरेर कोहीले पनि सजिलै आफनो गन्तव्य पत्ता लगाउन सक्ने रहेछन् । यहाँ वर्षको एकपटक शुल्क तिरेर यातायात कार्ड बनाएपछि जति पटक जुन यातायातका साधनमा पनि यात्रा गर्न पाइने रहेछ । त्यसैले यस्ता साधनहरुमा न त कण्डक्टर न त खलासी नै हुने रहेछन् । यातायात कार्ड नभएकाहरुले यात्रा गर्नु पर्दा प्लेटफर्ममा भएका कम्प्युटर सिस्टमको बक्समा आफू जाने गन्तव्य छान्ने र लाग्ने शुल्क त्यही बक्समा छिराउने र टिकट लिने रहेछ यसो गर्दा न काउण्टरको झण्झट न कर्मचारीको न त भीडभाड कति आनन्द । यो पो हो त सिस्टम । त्यसैले पनि पर्यटकहरुलाई सुुविधा हुने रहेछ ।

पर्यटकहरुले खाने परिकारहरुमा ब्रेड, बर्गर, पिज्जा, हट डग, केक, ससेज, वीफ, चिकन, पोर्क, फ्रेन्चफ्राइ यस्तै यस्तै खानेकुराहरु मात्र पाइने रहेछ । खुर्सानी कम राखिएका धेरै जसो सबै गुलियो बनाइने रहेछ । । कफी, बीयर, वाइन यहाँको मुख्य पेय भने पनि हुन्छ । कतिपय पर्यटकहरु बिहानदेखि नै यी पेय पदार्थ खाँदै गरेको पनि देखियो । यहाँको हावापानी अंगुरका लागि अत्यन्त राम्रो हुने हुँदा प्रशस्त मात्रामा अंगुर पाइने हुँदा घर–घरमा जसो अंगुरको वाइन बनाइने रहेछ । वाइन र वियर सस्तो हुने भएकाले सबै जसोले वीयर वाइन नै खाने रहेछन् । त्यस्तै गरी इटलीको राजधानी रोममा करिव चार/पाँच सय वर्ष पुरानो रोमन सामाज्यको बिग्रे भत्केका अवशेषहरु हेर्न पनि पर्यटकहरुको घुँइचो देख्दा अचम्म लाग्यो । बाफरे बाफ कति हो पर्यटकहरु घण्टौ लाइनमा बसेको देखियो । त्यो जमानामा रोमन सम्राट तथा परिवारहरु र सर्वसाधारण जनताको मनोरञ्जनको लागि बनाइएको रंगशाला भनौ अखाडामा सम्राट र उसका परिवारहरु, भारदारहरु तथा सर्वासधारणहरु बस्ने बनाइएको रहेछ । जहाँ कैदीहरुलाई या त हिंस्रक जनावरहरुसंग लडाइन्थ्यो या डरलाग्दा राक्षस जस्ता मानिसहरुसंग लडाएर मनोरञ्जन गर्दथे रे ।

अहिले यो भग्नावशेषमा छ तै पनि यो भग्नावशेष हेर्न हजारौं पर्यटकहरुको लाइन देखियो भने अर्को तिर रोमन साम्राज्यको त्यस बेलाको शहर जुन भग्नावशेष थियो । बिग्रे भत्केका ढुँगा इटा, बाँकी भएका घरका भित्ता, पर्खालहरु आदिलाई सुरक्षित र संरक्षित गरी राखिएको थियो । यो भग्नावशेष हेर्न पनि हजारौं पर्यटकहरु टिकट काटेर घण्टौं लाइनमा बसेका थिए । त्यस्तै गरी म्यूजियममा संरक्षण गरी राखिएका त्यस बेलाका चित्रकलाहरु, हस्तकलाहरु, टुटेका फुटेका आकृतिहरु आदि हेर्न पनि त्यत्रिकै पर्यटकहरु थिए । स्लोभाकियाको राजधानी ब्राटिसलाभा भियनाबाट दान्यूव नदिमा पानी जहाजबाट जाँदा ३ घण्टा तर फर्कदा पानीको बहाव उल्टो हुने हुनाले ६ घण्टा लाग्ने रहेछ । यस जहाजमा यात्रा गर्नेहरु धेरै जसो बुढाबुढीहरु नै थिए । जहाजमा नै ब्रेकफाष्ट तथा डिनरको सुविधा भएकाले दिनभरी ब्राटिसलाभा घुमेर फर्कने रहेछ । यातायातका साधनहरु सहरहरुका मुख्य भागमा मात्र चल्ने रहेछन् । भित्री भाग अलि साँघुरो जस्तो भएकाले कुनै पनि सवारी साधन जान नपाइने रहेछ र पैदल नै घुम्नु पर्ने रहेछ । हुन त ती सडक हाम्रो यहाँको मखनटोलको सडक जत्रा देखिन्छन् । कुनै पनि सवारी साधन जान नपाइने पैदल नै हिड्नु पर्ने देखियो । बाटोलाई अलिकति भाग छोडेर करिब सबै जसो घरहरुमा साना–साना क्याफे थिए भने अगाडि आँगनमा टेवुल कुर्चीहरु सजाएर राखिएका थिए । पर्यटकहरु मजाले कफी, वियर वाइनमा मस्त थिए ।

विश्वको सबभन्दा सानो तर राम्रो गाउँ अष्ट्रियाको हलस्टाट । यो ठाउँ सोह्रौ सताब्दीको रहेछ । विशाल तालको किनारमा ठूला–ठूला चट्टानमा जोडिएर बनाइएका पूराना घरहरु, पहाडी नूनको खानी हेर्न यति धेरै पर्यटकहरु त्यहाँ थिए कि त्यो हूल छिचोलेर सकिदैन थियो । त्यस्तै विश्वको सबैभन्दा सानो देश भ्याटिकन सिटीमा जान पर्यटकहरुको लाइन देखेर हामी पहिलो दिन त फर्केर आउनु पर्‍यो र अर्को दिन बिहान सबेरै नै त्यहाँ पुगियो । यो देश वास्तवमा इसाइ धर्मावलम्बीहरुको तिर्थस्थल रहेछ । कस्तो अचम्भ इटलीको राजधानी रोमसँग नै जोडिएको यो सानो देश । यसको कम्पाउण्डबाट बाहिर रोम । यसलाई देश भित्रको अर्को देश भनिदो रहेछ । कस्तो अचम्म साना ठूला सहरहरु जहाँ गए पनि पर्यटकहरुको भीड त्यतिकै । कोही आफ्नै तालमा घुमिरहेका थिए त कोही समूह समूहमा गाइडको साथमा थिए । पर्यटकहरु मुख्यत सजिलो यातायातको सुविधा, आफुलाई मन पर्दो खाना, उचित बस्ने व्यवस्था, तथा बढी से बढी मात्रामा हेर्ने ठाउँहरु खोज्ने गरेको देखियो जुन यूरोपका सबै देशहरुमा देखियो त्यसैले त यूरोपमा पर्यटकहरु यति धेरै मात्रामा जाने रहेछ भन्ने थाहा भयो । हामीले पनि पर्यटकहरुलाई भित्राउने हो भने उनीहरु के चाहन्छन् ती सबै हामीले उपलव्ध गराउन सक्नु पर्दछ । पर्यटकहरुलाई देखाउने संरचनाहरु हामीसंग टन्न भए पनि त्यसको संरक्षण भएको छैन । त्यसैले पर्यटकहरुलाई आकर्षित गर्ने हो भने पहिला पूर्वाधार नै तयार हुनु पर्ने रहेछ । तर ति पूर्वाधार हाम्रोमा बन्ने कहिले हो खै ? अस्तु । (लेखक देउराली साँस्कृतिक अध्ययन प्रतिष्ठान, पाल्पाका अध्यक्ष समेत हुन् ।)

प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update