Shittalpati
कोजाग्रत पूर्णिमा र दसैँको समापन

आजबाट दसैँको औपचारिक अन्त्य गरिदै छ । दसैँको प्रतिपदाबाट आजको पूर्णिमासम्मको १५ दिनलाई दुर्गापक्ष पनि भनिन्छ । यो दुर्गापक्षको समापनसँगै दसैँलाई अर्को वर्षसम्मका लागी विदाई गरिदै छ । आज कोजाग्रत पूर्णिमा, आकाशमा राती पूर्णचन्द्र उदाउने छन् । आजको दिन काठमाडौको स्वयम्भू लगायतका चैत्यहरुमा राती महादीप ज्योती प्रज्जवलन गरिन्छ । प्रतिपदाको दिन, घटस्थापनामा जम्मा गरेको माटाहरु र उमारेका जमराहरुलाई विधीपूर्वक कुनै नदी या जलाशयमा सेलाउने दिन पनि कोजाग्रत पूर्णिमाकै दिन हो । आजको दिन धनधान्य कि देवी भगवान् लक्ष्मी राती पृथ्वीलोकमा भ्रमणका लागि आउने र जसजसले राती नसुतेर भगवान लक्ष्मीमाताको भजन भक्ति गरेर बसेका छन् उनीहरुलाई धनधान्यले कृपा दिने जनविश्वास रहेको छ । अर्कोतर्फ कोजाग्रत पूर्णिमालाई दसैँको अन्त्य र तिहारको शुरुवाती संकेतका रुपमा पनि लिइन्छ । बिहानै सम्पूर्ण परिवारका सदस्यहरु भेला भएर भवानीको प्रसादका रुपमा टीका र जमरा लगाई जमराहरुलाई सेलाउने चलन छ ।

कोजाग्रत पूर्णिमा पछि सुरिलो बाँसलाई काटेर त्यस्को टुप्पामा रंगीन कागजको सानो दियो घर बनाएर त्यसभित्र हरेक साँझ कार्तिक शुक्ल पूर्णिमाको दिनसम्म आकाशे बत्ति बाल्ने चलन पनि रहेको छ । खुल्ला निलो आकाशमा ओर्लदै गरेको चन्द्रमा अनि बाँसको टुप्पामा बलेको आकाशे बत्ति एकदमै आकर्षक दृश्य हुने गर्दछ । दसैँ र नवरात्र विजया दशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन सुरु गरिएकोे हो । लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ । आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म कात्तिक स्नान गरी घर–घरमा विशेषरूपमा गरिने तुलसी पूजा पनि आजदेखि नै शुरु हुन्छ । तुलसी पूजा सूर्योदय अघि नै गरिसक्नुपर्ने मान्यता छ । आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक स्नान गरे महापातकबाट पनि मुक्त भइने धार्मिक विश्वास छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update