Shittalpati
सुत्केरी व्यथा लागेर अस्पताल पुगेकी गुल्मीकी एक महिलाको बुटवलमा मृत्यु

बुटवल । सुत्केरी व्यथा लागेर अस्पतालमा भर्ना भएकी गुल्मीकी एक महिलाको बुटवलमा मृत्यु भएको छ । बिहीबार सुत्केरी व्यथा लागेर बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी गुल्मीको मदाने गाउँपालिका–३ भुजुङकी ३० वर्षीया गीता पुरीको बिहीबार साँझ मृत्यु भएको हो । अस्पतालको लापर्बाहीका कारण मृत्यु भएको दाबी आफन्तले गरेका छन् ।

सुत्केरी व्यथा लागेपछि पुरी बिहीबार दिउँसो अस्पताल भर्ना भएकी थिइन् । गर्भमा रहेको शिशुको समेत मृत्यु भएको छ । १३ गते बिहीबार बच्चा जन्मने अन्तिम मिति भन्दै डाक्टरले ती महिलालाई अस्पताल बोलाएका थिए । अस्पताल भर्ना भएपछि उनलाई व्यथा लाग्ने औषधि दिइएको थियो । चिकित्सकहरुले दिउँसोसम्म पनि बच्चा र आमा दुवैको स्वास्थ्य सामान्य भएको बताएका थिए । गीताले पनि आफन्तसंगको फोनमा दिउँसो स्वास्थ्य अवस्था सामान्य रहेको बताएकी थिइन् । तर एक्कासी साँझ ७ बजेतिर बच्चाको मृत्यु भएको खबर अस्पतालले गीताका आफन्तलाई सुनाए । राती ९ बजेतिर गीताको पनि मृत्यु भएको जानकारी चिकित्सले आफन्तलाई गराएका थिए । यही कारणले नै मृत्यु भएको हो भनेर किटान गर्न नसकिएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । उनका अनुसार ति महिलालाई सुरुमा सुत्केरी व्यथा लगाउने औषधि दिइएको थियो । साँझ साढे ५ बजे बच्चा निस्कने ५ वटा ‘घर’ खुलिसकेकाले नर्मल डेलिभरी हुने ठानेर केहीबर छोडिएकोमा महिलालाई एक्कासि श्वास प्रश्वासमा समस्या देखिएको अस्पतालको भनाइ छ । समस्या बढेपछि तत्काल शल्यक्रिया गर्न शल्यक्रिया कक्षमा लैजाने क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update