शहरीकरण भन्नाले शहरी क्षेत्रको भौतिक, सामाजिक तथा आर्थिक विस्तारलाई जनाउँछ । चाहे त्यो क्षेत्रफल, जनसंख्या र पूर्वधारको विकास किन न होस् । एकातिर शहरीकरण समस्या हो भने अर्कोतिर गरिबी हटाउने अवसर हो । संयुक्त राष्ट्रसँगका अनुसार ग्रामीण क्षेत्रको जनमानस शहरमा गएर बस्नु र काम गर्नु पनि शहरीकरण हो । व्यवस्थित शहरीकरण नै विकासको मार्ग हो । विगत केही वर्ष नियाल्ने हो भने नेपालको जनसंख्यामा तिब्र वृद्धि भएको पाइन्छ । शहरमा मानिसको आर्कषण बढी देखिन्छ । सरकारी तथ्याङ्क अनुसार शिक्षा, रोजगारी, सुविधा र सरल जीवनको खोजिमा लाखौं नेपाली गाउँबाट शहर भित्रने गरेका छन् । उचित व्यवस्थापन, असल नीति र परिवर्तनशील योजनाहरु नहुँदा यस्ले शहरी भेगमा वतावरणीय असर र अब्यवस्थित बसोवास फैलन थालेको छ ।
ग्रामीण परिवेशबाट बाहिर निस्की रहेको विश्वले अब भने गम्भीर भएर सोच्नै पर्ने भएको छ । कार्वन उत्सर्जनले विकराल रुप लिइ रहेको समयमाा जलवायु परिवर्तनका साथै जीव चक्रमा पनि नकरात्मक असर पर्दै गएको छ । ग्रामीण परिवेशहरु एकादेशको कथा जस्तै बन्न थालेको वर्तमान अवस्थामा अव्यवस्थित शहरीकरणले पनि निकै नै समस्या सिर्जना गरेकै छ । हुन त आजकै दिन अर्थात् हरेक वर्षको अक्टुबर ३१ को दिन विश्वभरि शहरीकरण दिवस मनाइन्छ । यो दिवस मनाउन थालिएको लामो समय भने भएको छैन । सन् २०१४ मा चीनमा ‘प्रमुख शहरी रूपान्तरण’ भन्ने नाराका साथ पहिलो शहरीकरण दिवस मनाइएको थियो । त्यसपछि विश्वभर नै हरेक वर्ष यो दिवस मनाउन थालियो । हाम्रो समाज र विश्व शहरीकरणको मार्गमा द्रुत गतिमा अगाडि बढेको भएपनि विगतमा त थियो नै र अहिले पनि गाउँको छुट्टै मौलिक पहिचान हुन्छ । तर, शहर भन्ने बित्तिकै सबैको अनुमानमा सुविधा सम्पन्न संसार रहेको हुन्छ । तर जति सोचिएको छ ग्रामीण समुदायले शहरको बारेमाा त्यस्तो भने हुन सकेको छैन । शहर एउटा ठूलो मानव समुदायलाई व्यवस्थित आवास, यातायात, स्वच्छता, उपयोगिता, भूमिको उपयोग, र सञ्चारका लागि व्यापक सुविधायुक्त जगत हो भन्ने मान्यता रही आएको छ र हो पनि त्यस्तै । तर ठूला शहरहरुमा जे जति सुविधाहरुको अपेक्षा गरिएको हुन्छ त्यस्तो हुन नसकि रहेको अवस्थामा शहरीकरण र त्यस्ता शहरमा बढेको औद्योगिकरणको मारमा पशुपंक्षी र मानिसहरु नै परेको सबैलाई थाहा छ । तर पनि जसरी जुन तबरले व्यवस्थित बन्न पर्ने थियो शहर त्यो हुन नसक्नु दुःखद् हो । तसर्थ शहरलाई व्यवस्थित गर्न तर्फ सबैले ध्यान दिन जरुरी छ ।