बालविवाह कानुनी रुपमा अपराध हो । नेपालको कानुनले बालविवाहलाई गैरकानुनी मानेको छ । मातृ शिशु मृत्युदरको कारक मानिने बालविवाहको अवस्था नेपालमा अझै कायमै रहेको छ । बालविवाह विरुद्धको चेतनास्तरमा वृद्धि भएपनि यसको क्रम भने घटेको छैन । सानै उमेरमा विवाह गरिदिने प्रचलनले नेपालमा बालविवाह न्यूनीकरणमा चुनौती थपिएको छ । बालविवाह न्यूनिकरणका लागि सरकारी तथा गैरसरकारी तवरबाट विभिन्न प्रयासहरु भएका छन् । तर, पनि ती प्रयासहरुले पूर्णता पाउन सकेका छैनन् । नेपाली समाजमा अझ पनि उमेर नपुग्दै बालविवाहहरू भएको पाइन्छ । बालविवाह कानुन विपरित कार्य हो । कानुनले विवाह गर्न योग्य भनी तोकिएको भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ । विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन निषेध छ । तर प्रहरी प्रशासन एवं समाजको अगाडि नै खुलयाम बालविवाह भइरहेका छन् । यस्ता गैरकानुनी कार्यलाई रोक्ने र बालविवाह गर्ने गराउने अभिभावक समेतलाई कानूनको दायरामा ल्याउन सकिएको अवस्था छैन । सानो उमेरका बालिकाहरु स्वास्थ्य र मानसिक रुपमा समेत गर्भवती बन्न सक्ने अवस्थाका हुँदैनन् । सानै उमेरमा बालिका गर्भवती भएका खण्डमा आफू स्वस्थ्य रहन र बच्चा समेत स्वस्थ रुपमा जन्माउन नसक्ने भई गर्भवती आमा तथा बच्चाको समेत अकालमा नै मृत्यु हुन सक्छ ।
परम्परा, धर्म, संस्कृति आदिका नाउँमा सानै उमेरमा विवाह गर्दा गराउदा आफ्नै बालिकाको अकालमा नै मृत्यु हुन सक्ने र सम्मानपूर्वक बाँच्न पाउने हकबाट नै बञ्चित हुनु पर्ने यथार्थतालाई हाम्रो समाजले नजरअन्दाज गर्ने गरेको छ । कानुनले कसैलाई पनि २० वर्ष नपुगी आफूखुसी विवाह गर्न रोकेको छ । तर कतिपय जाति र समुदायमा बच्चा जन्मिने बित्तिकै वा सानै उमेरमा अभिभावकले बालबालिकाको विवाह गरिदिने प्रचलन रहेको छ । खासगरी अशिक्षित, गरिब, दलित, आदिवासी र जनजातिहरुमा यो प्रचलन ज्यादा छ । कुनै पनि मानिसले विवाह गर्नु भनेको उसको जीवनको महत्वपूर्ण कार्य हो । विवाहले मात्र उनीहरुको घर बन्छ, उनीहरुबाट बालबच्चा हुन्छ र सृष्टि चल्छ । त्यसैले विवाह आवश्यक छ । तर, उमेर नपुगीकन, विवाह गर्ने केटाकेटी आपसमा राजी नभैकन, उनीहरु शारीरिक, मानसिक र व्यवहारिक रुपमा तयार नभैकन विवाह गरिदिनु हुँदैन । त्यसरी गरेको विवाह लामो समय नचल्न अथवा असफल बन्न पनि सक्छ । यसर्थ नेपाली समाजमा कायम रहेको यो बालविवाह रोक्न समाजका सचेत नागरिक र सरोकारवाला सबैले ध्यान दिन जरुरी छ ।