Shittalpati
माथागढीमा प्रभावकारी बन्दै ‘गर्भवतीलाई अण्डा र झण्डा’ कार्यक्रम

रामचन्द्र रायमाझी
पाल्पा । माथागढी गाउँपालिका १ चिदीपानीकी २५ वर्षीय कविता सारु नियमित गर्भ परीक्षणका लागि स्वास्थ्य चौकी पुगिन् । गर्भ परीक्षण गराई घर फर्किने क्रममा उनलाई स्वास्थ्यकर्मीले हातमा अण्डा थमाइदिए । सुरुमा त उनलाई अचम्म लाग्यो । तर पछि उनलाई स्वयमसेविकाले स्वास्थ्य संस्थामा नियमित गर्भ परीक्षण गराए वापत गाउँपालिकाले अण्डा उपहार दिने बताएपछि बल्ल थाहा भो । स्वास्थ्य चौकीमा आएपछि स्वास्थ्य परीक्षण पनि हुने र आफ्नो लागि पौष्टिक आहार पनि मिल्ने भएपछि अहिले उनले नियमित चेकजाँच गराउँदै आएकी छन् । सारुले अहिलेसम्म तीन पटक नियमित गर्भ परीक्षण गराए वापत अण्डा पाइसकेकी छन् । दोस्रो सन्तानका रुपमा जन्म दिन लागेकी उनले पहिलो सन्तानका लागि भने कुनै पनि सुविधा पाएकी थिइनन् । सारु भन्छिन् ‘अहिले समय–समयमा परीक्षण गराउन मात्र होइन अण्डा पनि पाएकी छु, जसले गर्दा मेरो र शिशुको स्वास्थ्य अवस्था राम्रो हुनेमा विश्वस्त छु ।’ अर्की उज्याला विक पनि अण्डा र परीक्षण गर्न पाउने भएपछि नियमित स्वास्थ्य चौकी जाने गरेकी छन् । सारु र विक मात्र होइन यहाँका अधिकांश महिलाहरु अहिले नियमित गर्भ परीक्षणका लागि स्वास्थ्य संस्थामा जाने गरेका छन् ।

माथागढी गाउँपालिकाले अण्डा वितरण कार्यक्रम सञ्चालन गरेपछि अहिले स्वास्थ्य संस्थामा पुगि नियमित गर्भ परीक्षण र सुत्केरी हुने महिलाको संख्यामा वृद्धि भएको छ । गाउँपालिकाले गत आर्थिक वर्ष २०७६/०७७ बाट अण्डा वितरण गर्न सुरु गरेसँगै नियमित गर्भ परीक्षण र सुत्केरी हुन स्वास्थ्य संस्थामा पुग्ने महिलाको संख्यामा वृद्धि भएको हो । गाउँपालिकाले उपाध्यक्ष आमा सुरक्षा, गर्भवती महिलालाई अण्डा, घरमा हरियो झण्डा कार्यक्रम सञ्चालन गरेपछि त्यहाँका महिलाहरु गर्भ रहेको चार महिनादेखि नै स्वास्थ्य संस्थामा चेकजाँचका लागि पुग्ने गरेका छन् । जसले गर्दा आमा र शिशुको अवस्थालाई स्वस्थ राख्न यो कार्यक्रम प्रभावकारी बन्न पुगेको छ । गाउँपालिकाले अहिलेसम्म विभिन्न स्वास्थ्य संस्थामा चेकजाँच गर्न पुगेका १ सय ६० जना गर्भवती तथा सुत्केरी महिलाहरुलाई अण्डा वितरण गरिसकेको छ । गर्भवतीलाई नियमित स्वास्थ्य जाँच गराउन प्रेरित गर्ने र पोषणयुक्त खानामा ध्यान पुर्‍याउने भन्दै गत वर्षदेखि नियमित गर्भ जाँच गराउनेलाई अण्डा वितरण अभियान सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए । उनले भने ‘अण्डामा मानिसलाई चाहिने सबै पोषक तत्व पाइने र सबैभन्दा बढी प्रोटिनको स्रोत भएकाले गर्भवती र सुत्केरी अवस्थामा पोषण पर्याप्त भए जन्मने शिशु स्वस्थ जन्मिने भएकाले पनि पालिकाभित्रका गर्भवती तथा सुत्केरी महिलाहरुलाई उपहार स्वरुप अण्डा वितरण गर्दै आएका हौं ।’

अण्डा उपहार कार्यक्रमले गर्भवतीलाई नियमित रुपमा स्वास्थ्य संस्थामै आएर नियमित गर्भ परीक्षण गराउने बानीको विकास भएको गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले बताइन् । उनले भनिन् ‘अज्ञानताका कारण हिजोका दिनहरुमा गर्भवती भई घरमै सुत्केरी हुने महिला दिदीबहिनीहरु हिजोआज भने स्वास्थ्य संस्थामा आउने गरेका छन् ।’ पौष्टिक आहारविहार र परीक्षण नहुँदा आमा र शिशुको ज्यान जोखिममा हुने गथ्यो । तर हिजोआज भने गाउँपालिकाले टोल–टोलमा सचेतना र प्रोत्साहन कार्यक्रम सञ्चालन गरेकाले यस्तो अवस्थामा कमी आएको सरोकारवालाहरु बताउँछन् । गाउँपालिकाले गर्भवती महिलामा गर्भ रहेको सामान्यतया चार महिनादेखि नौ महिनासम्म गर्भ जाँच गर्न आउँदा स्वास्थ्य संस्थामार्फत नै अण्डा वितरण गर्दै आएको छ । गर्भवती महिलाले ४, ६, ८ र ९ महिना गरी चार पटक अनिवार्य गर्भ जाँच गराउनुपर्ने हुन्छ । गर्भ जाँच गराउने गर्भवतीले अण्डा उपहार पाएको देखेर गाउँका अन्य गर्भवती महिला पनि स्वास्थ्य चौकी आउने गरेको र यो अभियानले गर्दा धेरैजसो महिला स्वास्थ्य संस्थामै सुत्केरी हुने गरेको स्वास्थ्य संस्थाको तथ्यांकमा रहेको छ ।

गत वर्ष चार लाख रकम विनियोजन गरी अभियान अगाडि बढाइएको गाउँपालिकाले अहिले पनि त्यसलाई निरन्तरता दिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक केशव जिसीले बताए । गाउँपालिकाले गर्भ रहेका महिला स्वास्थ्य संस्थामा आए ३ सय ५० बराबरको अण्डा दिने व्यवस्था मिलाएको छ । स्वास्थ्य संस्थामा गर्भ जाँचका लागि पुगेका महिलालाई स्वास्थ्यको अवस्था र आवश्यक पौष्टिक आहारका विषयमा जानकारी गराएरमात्रै अण्डा वितरण गर्ने गरिएको स्वास्थ्य शाखा प्रमुख जिसीले बताए । अण्डा वितरण गर्नुअघि १ महिना जेकजाँचका लागि स्वास्थ्य संस्था पुगेका महिलाहरु अर्को महिनामा फर्केर नजाने समस्या थियो । अहिले भने यो समस्या क्रमशः समाधान हुनुका साथै स्वास्थ्य चेकजाँचका लागि गर्भवती तथा सुत्केरी महिलाहरु आर्कषित भएका छन् । गाउँपालिकाले स्वास्थ्य संस्थामा गएर सुत्केरी भएमा संस्थागत सुत्केरी प्रोत्साहन रकम समेत वितरण गर्दै आएको छ । गाउँपालिकाले गत वर्ष ६५ र अहिले ४० जना संस्थागत सुत्केरी महिलाहरुलाई संस्थागत सुत्केरी प्रोत्साहन रकम वितरण गरिसकेको छ । स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलाहरुलाई गाउँपालिकाले २५ सय रुपैयाँका दरले प्रोत्साहन रकम दिर्दै आएको छ । ८ वटा वडा रहेको गाउँपालिकामा हाल ७ वटा स्वास्थ्य चौकी, दुई वटा सामुदायिक स्वास्थ्य इकाई गरी ९ वटा स्वास्थ्य संस्था रहेका छन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update