Shittalpati
समृद्ध नेपाल र श्रमको सम्मान

छन्दबहादुर पहराई

समृद्ध भनेको उन्नत, सम्पन्नता र बढि बढाउ हो भने श्रम भन्नाले मेहनत, परिश्रम भन्ने बुझिन्छ । समृद्धिका लागि श्रम अनिवार्य छ । किनकी श्रम बिना विकास हुन सक्दैन । सुखी नेपाल र समृद्धि नेपाल हरेक नेपालीको चाहना हो । सुख र समृद्धि नेपालीको आवश्यकता मात्र होइन अनिवार्यता पनि हो । विश्व कहाँ पुगी सक्यो भनेर आकलन गर्ने हो भने हाम्रो कल्पना भन्दा बाहिर गइसकेको छ । हामीले भगवान मानेर पुजा गर्ने चन्द्रमा भित्र घर बनाउने तरखर चलेको छ । मानिसले मंगल ग्रह चालिसकेको छ भने मानिस समुन्द्रको पिँधमा पुगिसकेको छ । तर हाम्रो देश नेपाल भने मानव सूचांकमा विश्वको १४७ देखि ४९ औं भित्रमा छ । हरेक नेपालीले एक पटक घोत्लिनु पर्ने बेला आएको छ की हाम्रो अवस्था किन यस्तो भयो ? समृद्धि नेपाल नाराले मात्र हुन्छ र ? नारा अनुसार काम हुनु पर्ने होइन र ? नेपालको संविधान २०७२ साल असोज ३ गते जारी भए बमोजिम हामी तीन तहको सरकारमा पुगिसकेका पनि छौं । संघीयताको कार्यान्वयन पनि भइसकेको छ । नेपालमा ४६० गाँउपालिकाहरु, २७६ नगरपालिकाहरु, ११ उपमहानगरपालिकाहरु र ६ महानगरपालिकाहरु गरी जम्मा ७५३ स्थानीय तह, ६७४३ वडाहरु, ७ वटा प्रदेश छन् । सबैको समान इच्छा हुन्छ की आफ्नो देश शान्त र सुन्दर होस । आफ्नो गाँउ, शहरमा कुनै कुराको अभाव नभई दिए हुन्थ्यो, बाटो, सफा खानेपानी, स्वास्थ्य, शिक्षा, प्रविधि, पार्क, खेल मैदान आदि सबैको रहर र आवश्यकता मात्र नभएर अनिवार्य हो । भारतको बनारस हिन्दु विश्व विद्यालयका संस्थापक व्यक्ति मदन मोहन मालवियले हिन्दुधर्म हितोपदेशलाई पछ्याउँदै भन्नु भएको छ कि “ग्रामे ग्रामे सभा कार्या, ग्राम्रे ग्राम्रे कथा शुभा । पाठशाला मल्लशाला प्रतिपर्व महोत्सव” अर्थात गाँउ गाँउमा सभाकार्य, शुभ प्रवचन, पाठशाला, खेलमैदान आदि भयो भने बल्ल गाँउमा बस्न लायक हुनेछ । तर आज गाउँको अवस्था केलाउने हो भने कवि मिन बहादुर बिष्टले भने झैँ साला पहाडमे क्या है ? गाँउमा बस्नेहरु केवल नवजात शिशु मरेका आमाहरु झैँ, असाध्यै पीडामा आँसु बगाइरहेका नदीका मुहानहरु छन् । कलेजै कटाउने गरी घुरीरहेका सुकम्वासी परेवाका बथानहरु छन् ।

केटाकेटी, बुढाबुढी, असक्त, अपांग, गरिब महिला बाहेक गाँउमा कुछ नही है भन्ने भइसकेको छ । नेपाल कसले बनाउने ? कोबाट बनाउने ? प्रश्न गर्ने बेला भइसकेको छ । नेपालका राजनेता महामानव बिपी कोइरालासँग १५ वर्षमा प्रत्येक नेपालीलाई कम्तिमा आफु समान एक छाक राम्ररी खान पुग्ने, एक सरो कपडा लगाउन सक्ने, सामन्य औषधी उपचार गर्न पुग्ने, गाँसबास र कपासको लागि कसैलाई हात जोड्न नपर्ने स्तरमा पु¥याउने लक्ष्य थियो तर आम नेपालीको दुर्भाग्य भनौ राजा महेन्द्रले २०१७ पौष १ गते जननिर्वाचित प्रधानमन्त्रीलाई बहुदलीय प्रजातान्त्रिक व्यवस्था सहित घाँटी निमोठी जेल हाल्ने काम भयो । त्यस पछि देशमा धेरै नेताहरु आए तर दृढ इच्छा शक्ति भएको राजनेता हाल सम्म नेपालले प्राप्त गर्न सकेको छैन । एउटा असल राजनेताको दृढ चाहना भयो भने देश धेरै माथि उठ्न सक्छ भन्ने धेरै उदाहण छन् । जस्तै दक्षिण अफ्रिका (नेल्शन मण्डेला), कोरिया (पार्क चुंग ही), सिंगापुर (लि क्वान यु ), मलेसिया (डा.महाथिर मोहम्मद), संयुक्त अरब इमिरेट्स (शेख जायद बिन सुल्तान), चिन (मओसेतुङ र देङसिया पिङ), काजकस्तान (नुरसुल्तान) आदि धेरै नेताका प्रमाणहरु छन् ।

सुखी नेपाली, समृद्ध नेपाल र राष्ट्रियताको नारा नेपाली जनताले हल्लै हल्लाको भरमा विश्वास गरी गरिब तथा सर्वहाराको भोट प्राप्त गरेर करिब दुईतिहाई बहुमतको जगमा उभिएको केपी ओलीको सरकार समक्ष समृद्धि नेपाल गराउने कुनैपनि भरपर्दो आधार अहिलेसम्म देखिएको छैन । आफ्ना आसेपासे र ढोकेलाई पोस्ने, भ्रष्टचारीको संरक्षण गर्ने, आफ्ना, मन्त्रीहरु, माननीयहरु तथा जननिर्वाचित प्रतिनिधीहरुको सेवासुविधा टनक्कै बढाउने बाहेक खासै केहि काम गरेको पाइदैन । देशमा श्रमको सम्मान हुने गरी रोजगारको वातावरण सरकारले नै सिर्जना गर्नु पर्ने हो । देशका लाखौ युवाहरुलाई देशबाहिर पठाएर कदापी देश विकास हुँदैन । विपी कोइरालाले भन्नु भएको थियो कि देशको अवस्था बुझ्नका लागि घर परिवार बुझे पछि धेरै कुरा थाहा हुन्छ भन्नु भएको थियो । हामी कल्पना गरौं न,आफ्नो घरको परिवारहरुलाई घरको कुनै पनि काममा नलगाएर सडकमा हात थाप्न पठाउने हो भने विस्तारै त्यस घरको हालत के हुन्छ ? त्यस्तै हाम्रा युवा जनशक्तिलाई बाहिर जान नरोक्ने हो भने एक्काईसौं शताब्दीको नेपाल बन्छ भन्ने कुरा कल्पना पनि गर्नु बेकार छ ।

नेपाल भन्दा बाहिर गएर श्रम गर्ने विभिन्न कारणहरु छन् । ऐतिहासिक पृष्ठभुमिलाई केलाउने हो भने धेरै कारणहरु निस्कन्छन् । तत्कालिन प्रधानमन्त्री श्री ३ महाराज वीर शमशेर राणाले सन १८८५ सालमा भारतको अँग्रेज सरकारसँग नेपालका मगर र गुरुङ युवाहरुलाई अँग्रेजी सेनामा भर्ती गर्ने बैधानिक सम्झौता गरे पछि विदेश जाने अर्थात् लाहुर जाने परम्परा कायम हुँदै आएको हो । विदेश जाने प्रवृति बढ्नुको कारण देशको आर्थिक अवस्था कमजोर हुनु, समाजमा प्रदेश जाने प्रतिष्ठाको विषय बनाइनु, मुलुकमा शान्ति सुरक्षा कायम राख्न नसक्नु, नेपालको मुद्रा विदेशी मुद्राको तुलनामा सानो हुनु, स्वदेशमा काम गर्न लाज मान्नु, सामन्ति संस्कारको अन्त्य नहुनु र राज्य गैर जिम्मेवार बन्दै जानु जस्ता विविध कारण हुन । तर एउटा धुर्ब सत्य कुरा के हो भने दिगो र समृद्धि नेपालको निर्माण नेपाली जनता आफैले, आफ्नै प्रयासबाट र हाम्रो स्थानीय मौलिक विशेषता सहितको परिश्रमबाट सम्भव छ । यसका लागि स्वदेशमा मेहनत गर्ने बानि बसाल्नु पर्छ । अहिलेसम्म नेपाल बनाउने हातहरुले युरोप, अमेरिका, साउदी अरब, मलेशिया, कतार लगायत धेरै मुलुक बनाउने काम भइरहेको छ । विदेश जाने विभिन्न कारणहरु मध्ये विशेष कारण नेपालमा श्रमप्रति एकले अर्कोलाई गर्ने अपमान सबैका लागि एउटा विडम्बना हुँदै आएको छ । जबसम्म नेपालमा श्रमप्रति सम्मान गर्ने सोचाइमा परिवर्तन गर्न सकिदैन तबसम्म सुखी नेपाली र समृद्धि नेपाल बन्न सक्दैन । श्रमप्रतिको अपमान किन हुँदै आयो ? १९१० को प्रथम नेपालको मुलुकी ऐन को प्रस्तावनामा भनिएको छ की नेपाल ऋषि मुनिहरूको देश, हिमवतखण्ड, कलिको राज्य, ब्राÞमण र गौहत्या नहुने देश भनेर भनिएको छ ।

यसबाट प्रष्ट हुन्छ की नेपालमा जातको आधारमा कारवाही गर्ने कानुन थियो । नेपाललाई भौगलिक रुपमा एकिकरण गराउने नायक पृथ्वी नारायण शाहले नेपाल चार जात छत्तिस वर्णको फुलबारी भनेका छन् । वेदमा पनि कर्मको आधारमा ब्राÞमण, क्षेत्री, वैश्य र शुद्र भनी जातको विभाजन गरिएको छ । जातको विभाजन राम्रो मनसायले वा नराम्रो जुन सुकै उद्देश्यले गरिएता पनि विस्तारै यो भाइरसको रुपमा जातीय श्रम विभाजनमा असर पार्दै गयो र अहिले सम्म पनि यो गलत संस्कारको रुपमा कायम नै छ । यदि समृद्धि नेपाल गराउने हो भने यस्ता श्रम गर्नेलाई अपहेलना गर्ने तथा तल्लो वर्ग मान्ने ंस्कारको अन्त्य गर्नु पर्छ । समृद्धि नेपालका आधारहरु भनेका देशमा जीविकोपार्जन,शान्तिसुरक्षा, पहिचान, वृद्धिविकास, सामाजिक सद्भाव, मनोरञ्जन, सामाजिक सुरक्षा, सार्वजनिक सेवासुविधा, पारदर्शीता, गोपनियता, स्वतन्त्रता, अन्तरसम्बन्ध, अन्तर्राष्ट्रिय सम्बन्ध, आत्मसम्मान, दिगोपन आदि हुन् । दिगो र समुन्नत नेपाल बनाउने हो भने यो काम आफ्नै प्रयासबाट मात्रै सम्भाव छ । संसारको जुनसुकै कुनामा फल्ने र जेसुकै पनि उत्पादन हुने देश नेपाल भएर पनि पहाडदेखि तराई सम्मका जमिनहरु किन बाझिदै गए ? यस प्रश्नको जवाफ खोज्ने हो भने विभिन्न कारण निस्कन्छन् । विशेष गरी हाम्रो देशमा श्रम प्रति कसैले पनि आत्मसम्मान गर्न सकिरहेको अवस्था छैन् । धेरै पटक आन्दोलन भए, धेरै पटक राजनीतिक परिवर्तन भए तर पनि सोचाइमा परिवर्तन आएको छैन । काम प्रति सम्मान गर्ने सोचाई नआए सम्म श्रम प्रति स्वदेशमा दुःख गर्नुपर्छ भन्ने कसैको पनि चासो देखिन्न । हाम्रा गलत किसिमका संस्कारहरुले अहिलेसम्म नकारात्मक प्रभाव पार्दै आएको छ । हामीले हाम्रा बच्चाहरुलाई यदि पढ्न सकिनस भने हलो जोत्ने होलास भनेर डर देखाइन्छ । किसान प्रति सम्मान छैन । जसले बढी मेहनत गर्छ उस प्रति इज्जत गर्ने चलन छैन । अब हामीले सारंगी बजाउने गाइनेलाई कपडा सिलाउनेले हेप्नु हुँदैन, कपडा सिलाउनेलाई जुत्ता सिउनेले हेप्नु हुँदैन, जुत्ता सिउनेलाई फलामको काम गर्नेले सम्मान गर्नुपर्छ ।

फलामको काम गर्नेलाई हलो जोत्नेले इज्जत दिनुपर्छ, हलो जोत्नेलाई सुरक्षाकर्मीले हेप्ने होइन भने बन्दुक चलाउने सुरक्षाकर्मीलाई पूँजापाठ गर्नेले आदर गर्नुपर्छ । पूँजापाठ गर्नेलाई शासकीय स्वरुपमा बसेर काम गर्नेले नहेप्ने जस्ता सकारात्मक मान्यता र सकारात्मक धारणाको विकास हुँदै आयो भने श्रम प्रतिको सम्मान भएको महसुश हुन्छ । हाम्रो देशमा छोराले काम पाएको छैन भने अर्कोतिर बाबाले खेतारो पाएका छैन । छोराले पनि घरमा दुख गर्न खोज्दैन भने बाबाले पनि विदेश पठाउने चाहना गर्छन् । हाम्रो गाउँघरतिर पनि जाली चप्पल बेच्न आउने, सिसाका बोटल उठाउन आउनेलाई गाउँलेहरुबाट दोस्रो दर्जाको नागरिक सोसरह गराइन्छ । आज हामी यस्तो अवस्थामा पुगेका छौ कि न आफुले गर्न खोजिन्छ न अरुले गरेकोमा सम्मान गरिन्छ । गाउँघरतिरमा पनि एउटाले अर्कोलाई हेपेको छ भने बजारमा बस्नेले आफुलाई गाउँको बासिन्दा भन्दा एक कदम आफुलाई ठूलो ठान्ने अहंकार छ । बजारमा बस्नेलाई शहरमा बस्नेले सानो ठान्नेदेखि साना शहरमा बस्नेलाई ठूला शहरमा बस्नेले हेप्ने जस्ता गलत प्रचलनको अन्त्य गर्नका लागि सोचमा परिवर्तन आउन पर्ने देखिन्छ । जब मान्छे मान्छेमा हामी जुनसुकै काम गरे पनि समान हौँ भन्ने धारणाको विकास हँुदैन तबसम्म श्रमप्रतिको सम्मान बढ्दैन । जबसम्म श्रमप्रति सम्मान बढ्दैन तबसम्म देश विकास हँुदैन । जापानमा श्रमगर्ने मामिलामा मालिक र नोकरको पहिचान हँुदैन भनिन्छ । हाम्रो देशमा कामको आधारमा जातको विभाजन जुन दिनदेखि हुँदै आयो त्यसदिन देखि श्रमको सम्मानमा विस्तारै कमजोर हुँदै गएको हो । हाम्रो शास्त्रले पञ्च पिताको व्याख्यामा भनेको छ कि जन्म दिने पिता,कन्या दिने पिता, शिक्षा दिने पिता,अन्न दिने पिता र सुरक्षा दिने पिताहरु हुन । त्यसकारण देशमा असल नेता छ भने सबैको पिता बराबर हुन सक्छ भने अन्न उत्पादन गर्ने किसान पिता बराबर भएकाले श्रम गर्ने किसान प्रति सबैले सम्मान गर्नु पर्छ । जसले श्रम गर्छ वा समाजमा मेहनत गर्छ त्यसको सम्मान गर्नु पर्छ भने समाजमा जसले ठगेर खान्छ वा भ्रष्टचार गर्छ त्यसको पानी बार्नु पर्छ । समृद्धि नेपालको लागि तँ र म, अनि तेरो र मेरो,जात भात र वादलाई बिर्सेर हामी र हाम्रो पुस्ता,समाज र देशलाई उन्नति गर्ने नयाँ सोचले काम गर्न जरुरी छ । (लेखक नेपाली काँग्रेसका केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य समेत हुन् ।)

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update