Shittalpati
सडकको सुरक्षामा ध्यान देऊ

पाल्पा र गुल्मीका अधिकांश सडकहरु जोखिम पूर्ण रहेका छन् । जताततै खाल्डा र खुल्डीका कारण यहाँका सडकहरु जोखिमपूर्ण बनेका हुन् । ग्रामीण क्षेत्रका सडक मात्र होइनन् यहाँ मुख्य–मुख्य सडकहरु हिँड्न समेत लायक छैनन् । कतै खाल्डा, कतै धुलाम्य सडकले सवारी साधन मात्र होइन ति सडकमा यात्रा गर्ने यात्रुहरु समेत प्रभावित भएका छन् । सडक, खाल्डा खुल्डी र धुलाम्ये हुन थालेपछि यातायात प्रभावित हुनु अस्वाभाविक होइन । आम जनमानस दिनहुँ हिँडडुल गर्ने व्यस्त सडकको सामान्य सुधार गर्न पनि सरकार उदासीन हुनुलाई स्वाभाविक मान्न सकिन्न ।

गाउँ–गाउँमा सिंहदरबारको रूपमा स्थानीय सरकार स्थापना भएपछि पूर्वाधार त्यसमा पनि सडक पहिलो प्राथमिकतामा पर्दै आएको छ । स्थानीय सरकारहरूको पहिलो प्राथमिकता राखेर विकासलाई तिव्रता दिएका छन् । सबैसँग जोडिएको र सुगमताको परिभाषाले पनि सडकलाई महत्व दिएको छ । सडक अपरिहार्य पनि छ । तर सडकलाई सुधार र व्यवस्थापन, सुरक्षाको आवश्यक हुन्छ । एकपटक निर्माण गरिएको सडकलाई दीर्घकालिन सम्मलाई भयो भन्नुभन्दा पनि समय र आवश्यकता अनुसार सडक मर्मत, सुधार र विस्तार गर्नसकेमा मात्रै सडकको सुरक्षा सुनिश्चित हुने गर्दछ । अहिले पाल्पा र गुल्मीका अधिकांश सडकहरू असुरक्षित बन्दै गएका छन् । त्यसमा पनि बजार क्षेत्रका सडक अझ जोखिम र संकटमा छन् । साँघुरो सडक र अव्यवस्थित सवारी साधनका असुरक्षित सडक हुँदा बेला–बेला दुर्घटनाहरू भइरहन्छ । त्यस्ता दुर्घटनाले मानवीय तथा भौतिक क्षति बढिरहेको छ । सडक साँघुरो हुनु र सडक सुरक्षा नहुँदा यस्ता घटनाहरू धेरै हुँदै आएका छन् ।

सडकलाई केवल भौतिक संरचनाको रूपमा मात्र लिइएकाले यो अवस्था आएको हो । नीति निर्माता र योजना कार्यान्वयनकर्ता सबैले सडकलाई भौतिक संरचनाको रूपमा मात्र लिए । तर सडक आम जनताको दैनिक जनजीवनसँग जोडिन्छ । यसलाई केवल भौतिक संचरनाको रूपमा मात्र लिनु मुनासिव हुन्न । यदि सडकलाई मानवीय जीवनको अभिन्न अंगको रूपमा लिनु आवश्यक छ । साँघुरो सडक, जथाभावी सवारी साधनको चाप, टिपरको जबरजस्तीले सडक सुरक्षा कमजोर हुँदैछ । यिनै कारणले सडक बढी अस्तब्यस्त बन्दैछ । तानसेनका मुख्य, सहायक र भित्रि सडक व्यवस्थित बन्न सकेका छैन । न त सडकमा सञ्चालन हुने साना ठूला सवारीका साधनहरू नै व्यवस्थित रूपमा सञ्चालन भएको देखिन्छ । सामान्य नगरका सडकहरूमा सुरक्षा अपनाउने सम्बन्धीको तयारी समेत देखिएको छैन । यसर्थ सडक सरोकारवालाहरू सडक सुरक्षाप्रति अब गम्भीर हुन जरुरी छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update