काठमाण्डौँ । नियामक निकाय बिमा समितिले सबै बिमा कम्पनीहरुलाई निर्देशन कोरोना बिमाको दाबी भुक्तानी ७ दिनभित्र दिन निर्देशन दिएको छ । कोरोना लागेर निको भइसकेको लामो समयसम्म पनि धेरैले बिमा दावी भुक्तानी नपाएको व्यापाक गुनासो आएपनि समितिले ७ दिनभित्रै भुक्तानी दिन निर्देशन दिएको हो । समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले कागजात पुरा भएर दाबी परेकालाई नरोक्न निर्देशन दिइएको बताए ।
बिमा समितिले ५ सय रुपैयाँ तिरेर ५० हजार रुपैयाँ र एक हजार रुपैयाँ तिरेर एक लाख रुपैयाँको कोरोना बिमा गर्न सक्ने व्यवस्था गरेको थियो । सामूहिक बिमा गर्दा भने बिमा शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको थियो । तर, कोरोना धेरैलाई लागेपछि बिमा कम्पनीहरु आत्तिएका थिए । भुक्तानी गर्न नसकिने भन्दै बिमा समितिलाई पोलिसी खारेज गर्न सुझाएका बिमा कम्पनीहरुले अर्बौको भुक्तानी नदिई अहिले रोकेर राखेका छन् । बिमा गरिसकेपछि भुक्तानी दिनैपर्ने भन्दै समितिले यस्तो निर्देशन दिएको जनाएको छ । शुरुमा कोभिड पोजिटिभ आउने बित्तिकै एक लाखको गरेको भए पुरै रकम पाउने भनिएकोमा पछिल्लो पटक मापदण्ड संशोधन गर्दै समितिले पोजिटिभ आएमा २५ प्रतिशत रकम तत्कालै र बाँकी ७५ प्रतिशतसम्म रकम अस्पताल वा होटल आइसोलेसनमा बसेको बिल भपाई पेश गरिसकेपछि दिने व्यवस्था गरिएको छ ।