हरेक वर्ष चाडपर्वको समयमा चोरी र अपराधिक घटनाहरु बढ्ने गर्दछन् । यसै पनि चाडपर्वको समयमा सबै क्षेत्रमा मानिसको चाप बढ्ने गर्छ । यही भीडभाडको मौका छोपेर चोरी र अपराधिक घटनाहरु बढ्ने गर्दछन् । विगतमा पनि बडादसैँ, दीपावली र छठपर्वको समयमा अवाञ्छित एवं अपराधिक घटनाहरु हुने गरेका थिए । अहिले पनि यी घटनाहरु दोहोरिएका छन् । भिडभाडको मौका छोपेर लुटपाट हुने गर्दछ । लुटेराले धनमाल लुट्नेमात्र होइन, ज्यानैसमेत लिने गरेका विगतका दृष्टान्त छन् । हरेक वर्ष चाडवाडको समयमा लुटपाटका घटनाहरुले आम मानिसमा त्रास पैदा गर्ने गर्दछ । हातहतियार देखाएर धम्की दिई गरगहना लुट्ने र सार्वजनिक स्थलबाट सवारी साधन चोरी हुने क्रम पाल्पामा बढेको छ ।
मंगलबार मात्र पाल्पाको रामपुरमा अपरिचित व्यक्तिहरुले बिहानको समयमा खुकुरी देखाएर कुटपिट गरी बाकस र दराजमा रहेको नगद तीन लाख भन्दा बढी रकम र सुनका विभिन्न गरगहना चोरेको घटना सार्वजनिक भएको छ । यो अवस्थाले पनि अहिले चोरी चकारी बढेको छ भन्ने देखाउँछ । यस्ता घटनामा सुरक्षा संयन्त्र बेखबर देखिनुले चोरी नियन्त्रणप्रति चनाखो हैन लापरबाही भएको आँकलन गर्न सकिन्छ । हिन्दुहरूको ठूलो चाडमध्येको बडादसैँ भर्खर सकिएको छ । दसैँ सकिए लगत्तै तिहारको चहलपहल पनि सुरु भएको छ । यो समयमा सबैभन्दा बढी चोरीको सम्भावना देखिन्छ । नागरिकहरूको सामान्य गल्तीको फाइदा चोरहरूले लिन सक्छन् । गरगहना, रूपैयाँ पैसा, सवारी साधनहरू चोरको निसानामा पर्ने गर्दछ । यसमा सबै सुरक्षित हुन आवश्यक देखिन्छ । तर यसको सजकता र नियन्त्रणका लागि भने कोही पनि चनाखो भएको अवस्था छैन र देखिदैन पनि । चाडपर्वलाई लक्षित गरी शान्त र सुरक्षित बनाउने दायित्व राज्यको हो । यसका लागि राज्यका सम्पूर्ण निकायहरुले आमनागरिककोे हित प्रवद्र्धनतर्फ लाग्नुपर्छ । पाल्पामा विगत केही समय अघिदेखि नै चोरीका घटना भइरहेका छन् । यसर्थ चाडपर्वसँगै बढ्ने चोरी तस्करीलाई नियन्त्रण र नियमन गर्नका लागि आम नागरिक, सरोकारवाला र सम्बन्धित निकाय तदारुकताका साथ लाग्न जरूरी छ ।