काठमाडौं महानगरपालिकाका प्रमुखले टुँडीखेलमा भोका, नांगा र असहायहरूका लागि स्वयम्सेवी व्यक्ति र संस्थाले उपलब्ध गराएको निःशुल्क भोजन बन्द गर्ने आदेश दिएको समाचार सार्वजनिक भएपछि यसको सर्वोत्र आलोचना भएको छ । कोरोनाका कारण रोजी रोटी गुमाएर भोकभोकै सडकमा आएका नागरिकहरुलाई केही स्वयम्सेवक संस्थाहरुले खानाको व्यवस्था गरिरहेका बेला महानगरपालिकाका प्रमुखले दिएको यस्तो आदेशको आलोचना हुनु स्वाभाविक नै हो । जनताबाट निर्वाचित जनप्रतिनिधिले नै मानवीयता र आफ्नो कर्तव्य बिर्सेर दीनदुःखी असहायको गाँस खोस्न खोज्नु कदापी राम्रो होइन । नागरिकहरु कोरोना महामारीका कारण हैरान छन् । उनीहरूमध्ये कतिको जीवन लीला समाप्त भयो, कतिका घरबास उठ्ने गरी उपचारमा खर्च भयो र कति अहिले पनि संक्रमणको चपेटामा बसेका छन् । महानगरमा बसेका अनगिन्ती नागरिकहरूले आफ्नो सानोतिनो व्यवसाय गुमाए, बिहान–बेलुका खाने केही भएन, डेरा भाडा तिर्न नसकेर कति ठाउँमा घरबेटीहरूले दिनहँु मानसिक यातना दिइरहेका छन् । यी देख्दा मेयर विद्या सुन्दरजीको मुख मण्डल प्रफुल्ल हुन्छ । तर खुलामञ्चमा भोका, नांगाहरूलाई कुनै दयालुहरूले एक गाँस खानाको व्यवस्था गरेको देखेर लाज लागेछ ।
गरिबहरूले अलिकति भात र तरकारी खाएको त्यो पनि खुला चउरमा देखेर नेपालका साम्यवादका प्रखर अभियन्ता, कम्युनिष्टहरूका आदर्श युवा र राजधानीवासीका प्रिय मेयरलाई लाज लाग्नु निश्चय पनि गम्भीर विषय हो । यस्तोमा महानगरपालिकाले यसरी कार्यक्रम नै रोक्न हस्तक्षेप गर्नुपर्ने न्यायोचित कारण देखिँदैन । विश्वका सबैजसो महानगरमा चरम सहरी गरिबीमा बाँचेहरूलाई राज्य वा सामाजिक संस्था वा परोपकारी व्यक्तिहरूले भोजन, आवास र अन्य मानवोचित सेवा उपलब्ध गराउने प्रयास गरेका हुन्छन् । अधिनायकवादी मुलुकहरूबाहेक अन्यत्र यसरी दीनदुःखीलाई कसैले सहयोग गरेमा रोकतोक गर्ने गरेको पाइँदैन । पक्कै पनि टुँडीखेलको खुला ठाउँमा सदावर्त चलाउँदा फोहोर हुन्छ । यस्तै कर्तव्यबोध गर्ने हो भने राज्यका लागि लज्जाको विषय पनि हो । तर, राज्यका कुनै पनि निकायले भोजनको वैकल्पिक व्यवस्था नगरीकन एकाएक निषेध गर्नु जनताविरुद्धको अपराध हो । बरु सडकमा आएका भोका नाँगा र असहायका लागि खाना, नानाको व्यवस्था मानगरपालिकाले नै गर्नु पर्दछ । हैन भने यस्ता वर्गको हितमा निस्वार्थ लागेका व्यक्ति तथा स्वयम्सेवी संस्थाहरुलाई सहयोग गर्ने वातावरण मिलाईदिनुपर्छ यसर्थ व्यक्ति र पार्टीको स्वार्थका नाममा भोकाहरुको गाँस खोसिनु हुँदैन ।