हरेक वर्षको नोभेम्वर ८ मा विश्व रेडियोग्राफी दिवस मनाउने गरिन्छ । आज पनि विश्वभर विविध कार्यक्रमहरुको आयोजना गरी यो दिवस मनाउन लागिएको छ । विलहेल्म रोईन्टेनले सन् १८९५ मा आजकै दिन रेडियोग्राफीको आविष्कार गरेका थिए । रेडियोग्राफीलाई एक्सरे अथवा विकिरण पनि भन्ने गरिन्छ । आधुनिक सरल चिकित्सा प्रणालीमा यसको ठूलो महत्व छ । विश्वभरि रेडियोग्राफी अनि रेडिएशन थेरापीबारे जानकारी र चेतना फैलाउने दिनको रुपमा आजको दिनलाई लिने गरिएको छ । एक्सरेले हाम्रो शरीर भित्रका हड्डीहरु, क्याभिटिहरु र कुनै बाहिरी पदार्थ भए नभएको कुरा पत्ता लगाउने गर्दछ । अल्ट्रासाउण्डबाट शरीर भित्रका अङ्गहरुका बारेमा बिना चिरफार पत्ता लगाउन सकिन्छ भने पेट भित्र रहेको बच्चाको स्वास्थ्यस्थिति, शरीरका अङ्ग विकास जस्ता कुराहरू पत्ता लगाउन यसको अत्यन्त ठूलो महत्व रहेको छ ।
धेरै जनाले रेडियोग्राफीलाई आफ्नो जीवनको लक्ष्य अथवा करियरका रुपमा लिएको पाइन्छ । अस्पतालमा हाम्रो एक्स–रे गर्ने रेडियोग्राफरदेखि हाम्रो एक्स–रे को रिपोर्ट बनाउने डाक्टर, एम आर आई, सिटी–स्क्यान, अल्ट्रासाउन्ड, इकोकार्डियोग्राफी र एनजिओग्राफी जस्ता अत्याधुनिक एक्स–रे उपकरणहरु सञ्चालन गर्ने प्राविधिकहरु यस प्रविधिको उदाहरणीय सारथी बनेर सक्रिय रहेका छन् । एक्स–रे ले हाम्रो शरीर भित्रका हड्डीहरु, क्याभिटिहरु र कुनै बाहिरी पदार्थ भए नभएको कुरा पत्ता लगाउँदछ, फ्लोरोस्कोपीको माध्यमबाट पाचन प्रणाली भित्रका अङ्गहरुको तस्वीर खिचेर जाँच्न मिल्दछ भने एम आर आईले हाम्रो शरिरका तन्तुहरुको टु डी र थ्री डी नक्सा नै तयार गर्दछ । त्यस्तै एनजिओग्राफीका माध्यमबाट रक्तनलीहरुको सम्बन्धमा जानकारी दिनुका साथै तिनीहरुमा सहज रक्तसञ्चार भए–नभएको बारेको कुरा पनि पत्ता लाग्दछ । मानव शरिरको भित्री अंगमा भएका समस्याहरु बिना चिरफार पत्ता लगाउनका लागि पनि महत्वपूर्ण हुने रेडियोग्राफी विधिको सबैमा ज्ञान हुन जरुरी छ । रेडीयोग्राफीको प्रयोग गरेर गलत काम पनि गर्ने गरेको देखिन्छ । गर्भमा भएको भ्रुणको लिंग पहिचान गरेर गर्भपतन गराउने जस्तो गलत काम भने गर्नु अपराध हो । रेडियोग्राफीको माध्यमबाट सही काम गर्नेतर्फ हामी लाग्नुपर्छ होइन भने त्यसैले भोलिको दिनमा अपराध पनि नबढाउला भन्न सकिदैन । यसर्थ यसको प्रयोगका बारेमा सबै सचेत हुन आवश्यक छ ।