पछिल्लो समय कोरोना संक्रमणको अवस्था झन् जटिल बन्दै गएको छ । कोरोना भाइरस नियन्त्रणको प्रयास जति गरेपनि संक्रमण दर झन् बढ्दै गएको हो । कोरोना संक्रमण नियन्त्रणमा आउन नसकेपछि मृत्यु हुनेको संख्या झन् बढिरहेको छ । विकासोन्मुख र विकसित सबै राष्ट्रहरूमा कोरोनाले आफूलाई जटिलरुप देखाइरहेको छ । सुरक्षा लापरवाही र सतर्कताको कमजोरीका कारण धेरै देश र स्थानहरूमा कोरोना प्रभाव बढ्दो क्रममा छ । पाल्पामा मात्रै पनि अहिले दैनिकजसो मानिसहरूको ज्यान कोरोनाका कारण गइरहेको छ । अहिलेसम्म पाल्पामा १३ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा पनि हजार भन्दा बढीले कोरोनाका कारण ज्यान गुमाइसके । मुलुकमा कोरोनाको निको हुने दर बढी त छ तर संक्रमणको दर त्यो भन्दा पनि उच्च देखिदा कोरोनाको प्रभाव न्यून बनेको छैन भन्ने प्रष्ट नै देख्न सकिन्छ ।
हजारौं मान्छे होम आइसोलेशनमा छन् । सयौं जना गम्भीर प्रकृतिले आइसियु, भेन्टिलेटरमा उपचार गराइरहेका छन् । कति कोरोना विशेष अस्पतालमा उपचाररत छन् । दैनिक हजारौँ जना कोरोनाको संक्रमित बन्दै गएका छन् । तर पनि आम मानिसले अहिलेको अवस्थालाई पहिलेको जस्तै सहजरुपमा लिएका छन् । यो अत्यन्त ठूलो लापरवाही हो । लापरवाहीकै कारण अहिले थप जोखिम उच्च बन्दै गएको छ । अहिले सरकारसमेत कोरोनाबाट पछि हटेको छ । यस्तो अवस्थामा व्यक्ति स्वयम्ले नै सजकता अपनाउन जरुरी छ । संक्रमणबाट बच्नलाई गरिने प्रयास तयारी र सावधानी देखिएको छैन । कोरोना थप जटिल बन्दै गर्दा मानवीय जोखिम र क्षति भने त्यत्तिकै बढी छ । रोग आफैंमा जटिल प्रकृतिका हुन्छन् । यसबाट बच्नका लागि मानिस स्वयम् आफैंले स्वास्थ्यको ख्याल गरेन भने यसले भयानक रुप लिन सक्छ । यसर्थ कोरोना संक्रमणबाट बच्नका लागि व्यक्ति आफैंले उच्च सर्तकता अपनाउन जरुरी छ ।