Shittalpati
शान्ति र विकासका लागि विज्ञान

हरेक वर्षको नोभेम्बर १० तारिखमा विश्वभरि शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाइने गरिन्छ । आज विश्वभर शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाइँदैछ । सन् २००१ मा युनेस्कोको आह्वानमा विश्वभर यो दिवस मनाउन शुरु गरिएको हो । समाजमा विज्ञानको महत्वपूर्ण भूमिका र वैज्ञानिक मुद्दाहरूको बहसहरूमा व्यापक जनता संलग्न गरी विज्ञानले हाम्रो दैनिक जीवनमा यसको महत्व र प्रासंगिकतालाई कसरी प्रभाव पार्दछ भनि बुझ्नको लागि संयुक्त राष्ट्र संघले यो दिवस मनाउन सुरु गरेको पाइन्छ । समाजको सकारात्मक परिवर्तन अर्थात् विकास आममानिसको चाहना हो । यही आवश्यकतलाई परिपूर्ति गर्न दिगो शान्ति र विकासको माध्यमद्वारा वातावरणीय संरक्षण गर्दै नवीनतम् विज्ञान र प्रविधिद्वारा समुन्नत समाज निर्माणमा २१ औं शताब्दीको विश्व अघि बढिरहेको छ ।

यही मानवीय र सामाजिक आवश्यकतालाई परिपूर्ति गर्न यो दिवसले महत्वपूर्ण टेवा पुर्‍याउँछ । त्यसबाहेक, देशहरू बीच साझा विज्ञानको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय एकता बढवा गर्नु, समाजको लाभको लागि विज्ञान उपयोगमा राष्ट्रिय र अन्र्तराष्ट्रीय प्रतिवद्धताको नविकरण गर्नु, विज्ञानले सामना गरेको चुनौतीहरूमा ध्यान आकर्षित गर्नुको साथसाथै वैज्ञानिक प्रयासको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समर्थन जुटाउनु शान्ति र विकासका लागि विश्व विज्ञान दिवसका उद्देश्यहरू हुन् । विज्ञानकै माध्यमद्वारा वर्तमान समाजलाई सु–सूचित गराउँदै प्रविधिमूलक शिक्षा, स्वास्थ्य लगायत हरेक क्षेत्र समृद्धि हासिल गर्नु गराउनु यस दिवसको प्रतिकात्मक सन्देश रहेको छ । पछिल्लो समयमा वैज्ञानिक प्रगतिलाई उचित तरिकाले उपयोग गर्न नसकेकै कारणले विश्वमा कतिपय मुलुकमा राजनीतिक भविष्य अन्यौलमा परेको छ । मुलुकको ध्रुवीकरण र विज्ञानको गलत प्रयोगले मानव अधिकारको हनन् र आतंकवादको श्रृंखला समेत बढेको छ । अहिले मुलुकमा शुरु गरिएको प्रविधिमूलक शिक्षाको भविष्य उज्ज्वल छ । तर, यसलाई औपचारिकता मात्र नसम्झी व्यवहारिक रुपमा उतार्न सक्नुपर्छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update