नेपालमा बहुमत प्राप्त दलको सरकार छ । त्यही सरकारबाट नेपाली जनताले सुरुवातमा धेरै आशा र भरोसा गरेका थिए । तर जनताको आशा निरासामा परिणत हुँदै गएको छ । देशको प्रमुख कार्यकारी निकाय भनेकै सरकार हो । यसले जनताको अभिभावकत्व निर्वाह गर्न सक्नुपर्छ । जनताले आफैंमाथि शासन गर्न आफ्नो सरकार चुन्छन् । नेपाली जनताले पनि सोही अनुरुप नै सरकार चुनेका हुन् । तर, दुर्भाग्य यो सरकारले जनचाहना बमोजिम काम गर्न सकेन । जनताका चाहना पूरा गर्न सकेन । अरू सामान्य समयमा हो भने विकास निर्माण कार्यले प्राथमिकता पाउने थिए, हालको विषम अवस्थामा बाटो, पुल, विजुली बत्ती, विद्यालय स्थापनामा भन्दा सरकारले आफ्नो स्वास्थ्य र पेटपूर्तितर्फ विचार गरिदेओस् भन्ने जनताको चाहना छ । सरकार भने दिनमा एक पटक बिरामीको संख्या र लास गनेर आफ्नो कर्तव्य पूरा भएको ठानिरहेको छ । यसैले प्रतिपक्ष वा अरू दल जस्तै गरी सत्तारुढ दलकै नेताहरू सरकारको आलोचना गर्न बाध्य भएका छन् । यतिसम्मको परिस्थिति आउनुलाई सामान्य अवस्था मान्न सकिँदैन । यो सरकारको ठूलो कमजोरीका रूपमा देखिएको परिस्थिति हो ।
अहिले देशको नेतृत्व समालेका प्रधानमन्त्री केपी शर्मा ओली नै सर्वोत्र आलोचनाका पात्रा बनेका छन् । प्रधामन्त्रीले आफ्नो अवस्था कमजोर हुँदा सहमति गर्नु र आफ्नो अवस्था बलियो हुनासाथ सहमति तोड्ने चरित्रले नै अहिले उनी सरकार र पार्टी बाटै आलोचित बन्दै गएका हुन् । वर्तमान प्रधानमन्त्री ओली यसै पनि राजावादी शक्ति, छिमेकी मित्रराष्ट्र भारत र प्रमुख प्रतिपक्षीदल नेपाली काँग्रेसको घेराबन्दीमा थिए । प्रधानमन्त्री ओलीविरुद्ध यी तीन वटै शक्तिहरू जे आइपर्छ त्यही गर्न तयार रहनु स्वभाविकै पनि हो । यो घेराबाट आफू बच्नका लागि मुख्य रक्षाकवच भनेको आफ्नै पार्टी हो । तर, सत्ता प्राप्तिका लागि जे गर्न पनि तयार प्रचण्डसँग हातेमालो गर्दै प्रधानमन्त्री ओलीले माधवकुमार नेपाल समूहलाई भित्तामा पुर्याउने प्रयास गरे । यसरी पनि उनी पाटीबाटै आलोचित बन्न पुगे । यसरी सरकारको नेतृत्व नै आलोचित र विवादको भूमरीमा पर्न पुग्दा जनताका अपेक्षाहरु पुरा हुन सकिरहेका छैनन् । नेपालमा कोरोना महामारीले ठूलो रुप लिदै गएको छ । तर सरकार भने त्यसको रोकथाम तथा नियन्त्रणमा चुकेको छ । जुनसुकै देशका नागरिकहरूको स्वास्थ्य तथा शिक्षा जस्ता आधारभूत कुराहरूको जिम्मेवारी सरकारले लिनुपर्नेमा यसरी नागरिकहरूको स्वास्थ्योपचारको दायित्वबाट हात झिकेर सरकार टाढिनुले उसको असलिनियत छर्लङ्ग भएको छ ।