Shittalpati
वैकल्पिक शिक्षामा स्थानीय सरकारको अग्रसरता

गोपालप्रसाद बस्याल
कोरोना भाइरसका कारण यस शैक्षिक सत्रको तीन महिनाभन्दा बढि कुनैपनि शैक्षिक कार्यक्रम सञ्चालन हुन सकेन । बैशाख महिनाको दोस्रो सातासम्म नयाँ पुस्तक खरिद आदिमा बित्यो । त्यसपछि विद्यालय शिक्षा क्षेत्रमा छटपटि शुरू भयो । शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रले कक्षा १० सम्मका पाठ्यपुस्तक राखेर इ–लर्निङ्ग पोर्टल तयार गर्‍यो । अभिभावकको सहयोगमा घरमै स्वाध्ययनका लागि बाल विकासदेखि क्रमशः कक्षा १० सम्मको लागि पुस्तक पनि तयार गर्‍यो । असार १ गतेदेखि विद्यालय खोल्ने र वैकल्पिक शिक्षण पद्दति अपनाउने कार्यविधि समेत जारी गर्‍यो । नेपालको संविधान अनुसार विद्यालय शिक्षाको कार्य क्षेत्राधिकार प्राप्त स्थानीय सरकारहरूले यो बन्दाबन्दीको बेला केही नमूना कार्यहरू गरे ।
१. परियोजना कार्य निर्माण र वितरण : पाल्पाको माथागढी गाउँपालिकाले लकडाउनको बेला बैशाखको पहिलो सातादेखि विद्यार्थीले घरमै बसेर गर्न सकिने परियोजना कार्य निर्माण गर्‍यो र लागु गर्‍यो । यी कार्यहरू विद्यार्थीले के–के गर्ने र कसरी गर्ने भन्ने विस्तृत व्याख्यासहित निर्माण गरिएको थियो । यसबाट सिकाइका क्रियाकलाप चरणवद्ध बछ्याउँदै सिक्न सजिलो भएको थियो । भौगोलिक तथा आर्थिक अवस्थाका कारण इन्टरनेटमात्र होइन टेलिभिजन र रेडियो समेतको पहुँच सबैमा नभएको र यी वैकल्पिक विधि प्रयोग गर्दा सिकाइ अवसर प्राप्त गर्ने र नगर्ने विचको ठूलो दुरी बढ्ने भएकोले गाउँपालिकाले परियोजना कार्य निर्माण गरेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा बताउँछन् । गाउँपालिकाले परियोजना कार्य छपाइ गरी विद्यालयमार्फत सबै बालबालिका कहाँ पुर्‍याइएको उनले बताए । अधिकांश बालबालिकाले परियोजना कार्य सम्पन्न गरेको र विद्यालयहरूले संकलन गरिसकेका छन् । त्यसपछि गाउँपालिकाले गृहकार्य पुस्तिका तयार गर्‍यो । गाउँपालिका भित्रका विज्ञ शिक्षकहरू परिचालन गरी परियोजना कार्य तथा गृहकार्य पुस्तिकाहरू दुवै निर्माण गरिएको र पाठ्यक्रम तथा पाठ्यपुस्तकमा समाविष्ट विषयवस्तुलाई नै स्थानीय अवस्था अनुसार सहजीकरण गर्न सजिलो पारेर तयार गरिएको लेखन समूहका संयोजक अशेष भट्टराईले बताए ।

यसप्रकारको सामग्री विकास गरिएको हुनाले विद्यार्थीहरूलाई लकडाउनको समयमा पनि सिकाइ क्रियाकलाप निरन्तर गर्न सहयोग पुगेको अर्का लेखक लोकेन्द्र थापाले बताए । परियोजना कार्य अनिवार्य गरिएको र आवश्यक सहयोगका लागि शिक्षकहरूलाई सम्पर्क गर्न शिक्षकहरूको मोबाइल नम्बर समेत उपलव्ध गराइएको थियो । टोलटोलमा गई संकलन गरिएको परियोजना कार्य सम्पन्न गर्न विद्यार्थीहरूको सहभागिता राम्रो रहेको र गृहकार्यलाई मूल्याड्ढनको आधारसमेत मानिएकोले गर्दा विद्यार्थीले अझ राम्रो गर्ने अपेक्षा गरेको सौभाग्य माध्यमिक विद्यालय, माथागढी १ का प्रधानाध्यापक कृष्ण खनालले बताए ।
२. रेडियो शिक्षण कार्यक्रम : लकडाउनको समयमा स्थानीय तह र एफएम रेडियोहरूको सहकार्यमा रेडियोमार्फत शिक्षण कार्यक्रमहरू सञ्चालन भएका छन् । तानसेन नगरपालिकाको सहयोगमा सामुदायिक रेडियो मदनपोखराबाट चैत्रमै रेडियो पाठशाला कार्यक्रम शुरू गरियो । एसइई परीक्षाको तयारी कक्षाका रूपमा शुरू गरिएको एसइइ रेडियो पाठशाला २९ दिन चल्यो । तानसेन नगरपालिकाले कक्षा ११ र १२ को परीक्षा तयारी कक्षासमेत स्थानीय युनिक एफ.एम.मार्फत २५ दिन सञ्चालन ग¥यो । नेपाल सरकारले शैक्षिक सत्र २०७६ को एसइई परीक्षा खारेज ग¥यो र विद्यालयको आन्तरिक मूल्याड्ढनलाई आधार मानिने र कक्षा ११ र १२ को परीक्षा समेत अनिश्चित भै स्थगित ग¥यो । नयाँ शैक्षिक सत्रको समयसमेत नोक्सान हुन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असार १ गतेदेखि शिक्षकहरू विद्यालय जानुपर्ने र वैकल्पिक विधिबाट शिक्षण कार्य गर्नुपर्ने बतायो । यसका लागि कार्यविधिसमेत जारी गर्‍यो । वैकल्पिक शिक्षण कार्यविधिमा समेत रेडियो शिक्षण एउटा माध्यम हुनसक्ने भनिएको छ । लकडाउन अवधि खुकुलो भए तापनि तत्काल विद्यालय सञ्चालन हुनसक्ने अवस्था नदेखिएपछि स्थानीय सरकारले असार महिनाभर रेडियो शिक्षण कार्यक्रम चलाए । तर करिव एक महिना पछि यो कार्यक्रम के गर्ने भन्ने अन्यौल छ ।

गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाको संयोजन तथा छत्रकोट, सत्यवति, चन्द्रकोट र गुल्मीदरबार गाउँपालिकाको संयुक्त लगानीमा श्रृंगेश्वर एफ.एम. रुरु एफ.एम. र रुद्रावति एफ.एम.बाट कक्षा ४ देखि १० सम्मका सबै अनिवार्य विषयहरूको एक महिने रेडियो शिक्षण कार्यक्रम असार ३१ गते सम्पन्न भएको छत्रकोट गाउँपालिकाका शिक्षा अधिकारी विष्णुप्रसाद ज्ञवालीले बताए । रेसुङ्गा नगरपालिकाबाट समेत यसै प्रकारको रेडियो शिक्षण कार्यक्रम रेसुङ्गा एफ.एम., गुल्मी एफ.एम. र स्काई एफ.एम. बाट सञ्चालन गरिएको थियो । नेपाल सरकारबाट प्राप्त रू. तीन लाख खर्च गरेर कार्यक्रम सञ्चालन भएको शिक्षा अधिकारी ज्ञवालीले बताए । सहकार्य गरिरहेका सबै स्थानीय तहका विषयगत विज्ञ शिक्षकहरूबाट दैनिक विद्यालय समय अवधिभर शिक्षण कार्य सम्पन्न गरिएको रेडियो शिक्षण समन्वय समितिको संयोजक तथा श्रृंगा जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक विकासचन्द्र खरेलले बताए । प्रधानाध्यापक खरेलले आधारभूत तह (कक्षा ४–५) मा अंग्रेजी माध्यमका पुस्तकमा विविधता भएकोले केही कम प्रभावकारी रहेको र कक्षा ६–१० सम्मका रेडियो शिक्षण प्रभावकारी भएको चर्चा चलेको बताए । विद्यालयहरू अझै कतिञ्जेल नियमित सञ्चालन हुन नसक्ने हुन् ? स्थानीय सरकारहरू समेत गत आर्थिक वर्ष २०७६/२०७७ मा सञ्चालित रेडियो शिक्षण कार्यक्रमको निरन्तरताका लागि अन्यौलमा रहेका छन् । प्रधानाध्यापक खरेलले रेडियो शिक्षणको प्रभावकारिता राम्रो रहेको भन्ने शिक्षकहरूको समेत धारणा रहेकोले निरन्तरता दिनुपर्ने बताए । उनले कार्यक्रमको निरन्तरताका लागि रेडियोले कार्यक्रमको बिचबिचमा अन्य विज्ञापन समेत प्रशारण गर्ने, स्थानीय दुईवटा एफ.एम.रेडियो मार्फत् मात्रै प्रशारण गर्ने, स्थानीय सरकार र सहयोगी संस्थाहरूको खोजि गर्ने र विद्यालयहरूले समेत योगदान गरी पुनः कार्यक्रम सञ्चालन गर्ने बारेमा छलफल भैरहेको बताए । त्यसैगरी शिक्षा अधिकारी ज्ञवालीले कार्यक्रम चलाउनु आवश्यक रहेको बताउँदै पहिलो चरणमा प्रशारण भएको सबै कार्यक्रमको रेकर्ड पुनःप्रशारण गर्ने सम्बन्धमा छलफल भैरहेको बताए ।

यसैगरी रुपन्देहीको तिलोत्तमा र देवदह नगरपालिकाले रेडियो शिक्षण कार्यक्रम सञ्चालन गरेका छन् । तिलोत्तमा नगरपालिकाले एसइइ परीक्षार्थीका लागि एक महिने रेडियो शिक्षण कार्यक्रम सञ्चालन गरेको थियो । असार १८ गतेदेखि कक्षा ४–१० का लागि एक महिने रेडियो शिक्षण कार्यक्रम शुरू गरेको र विज्ञ शिक्षकहरूलाई रेडियो शिक्षणको कार्यतालिका प्रदान गरिएको तिलोत्तमाका शिक्षा अधिकारी गंगाराम आचार्यले बताए । त्यसपछि लकडाउनको अवस्था विश्लेषण गरी थप कार्यक्रमका बारेमा निर्णय गरिने अधिकारी आचार्यले बताए । यस्तै देवदहका शिक्षा अधिकारी टिकाराम शर्माले कक्षा १० का लागि एक महिने एसइई तयारी कक्षा सम्पन्न भैसकेको र कक्षा ६–१० सम्मका लागि अर्को एक महिने रेडियो शिक्षण कार्यक्रम शुरू भैसकेको बताए । उनले यही साउन १५ गते कार्यक्रम समाप्त हुने र त्यसपछिको निरन्तरताका लागि कुनै निर्णय भइ नसकेको बताए ।

दाङको तुल्सीपुर उपमहानगरपालिकाले स्थानीय पाँच वटा एफ.एम. रेडियो मार्फत कक्षा ६–१० सम्मका लागि रेडियो शिक्षण कार्यक्रम सञ्चालन गरेको छ । आफ्नो क्षेत्रभित्र ७३ प्रतिशत विद्यार्थीमा रेडियोको पहुँच भएको पाइएकोले रेडियो शिक्षण उपयुक्त हुने देखिएपछि उपमहानगरपालिकाभित्रका विशेषज्ञ शिक्षकहरूलाई अभिमुखीकरण पश्चात् असार १७ गतेदेखि प्रसारण शुरू गरिएको शिक्षा अधिकारी मानबहादुर खड्काले बताए । उनका अनुसार रेडियो अडियोबाट सन्दर्भ सामग्री र मनोपरामर्श सम्बन्धी सामग्री र अन्य चार रेडियोहरू क्रमशः रेडियो सञ्जिवनी, रेडियो पाठशाला, रेडियो हाम्रो पहुँच र रेडियो तुल्सीपुरबाट कक्षागत प्रमुख पाँच विषयहरूको शिक्षण भइरहेको छ । उपमहानगरपालिका र रेडियोहरूका विच १५० इपिसोड प्रसारणका लागि सम्झौता भएको उनले बताए । रेडियो शिक्षण कार्यक्रम बिहान १० बजेभन्दा पहिला र साँझ ४ बजेपछि प्रसारण गरिएकोले विद्यालय सञ्चालन हुँदाका बखतसमेत रेडियो शिक्षण नियमित सञ्चालन हुनेछ ।
३. टेलिभिजन शिक्षण कार्यक्रम : बुटवल उपमहानगरपालिकाले लुम्बिनी टेलिभिजन र बुद्ध टेलिभिजनबाट एक महिने विद्यालय शिक्षण कार्यक्रम सम्पन्न गरेको छ । उपमहानगरपालिकाभित्रका विज्ञ शिक्षकहरू छनोट गरी अंग्रेजी, गणित, विज्ञान, सामाजिक, स्वास्थ्य शारीरिक र ऐच्छिक गणित विषयका कक्षाहरू सञ्चालन भएको र अहिले बन्द भएको कान्ति नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक पूर्णभद्र उपाध्यायले बताए । उनले यसप्रकारको विकल्पको प्रयोगबाट केही मात्रामा भए तापनि सहयोग पुगेको र अन्य थप कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।
४. सिकाइ सहजीकरण सामग्रीको व्यवस्था : रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट उत्पादित अभिभावकको सहयोगमा सिकाइ सहजीकरण पुस्तक कक्षा १ नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत सबै विद्यालयका विद्यार्थीलाई उपलब्ध गराइसकेको र चालु आर्थिक वर्ष २०७७÷२०७८ मा समेत सहजीकरण सामग्री व्यवस्थाका लागि बजेट विनियोजन गरिएकोले मध्य साउनसम्म कक्षा २ र ३ को सामग्री पनि छपाइ गरी वितरण गर्नका लागि कार्य भैरहेको शिक्षा अधिकारी गंगाराम आचार्यले बताए । यसैगरी तानसेन नगरपालिकाले पनि सामुदायिक तथा संस्थागत दुवै विद्यालयका सबै विद्यार्थीलाई उपलब्ध हुने गरी केन्द्रबाट उत्पादित कक्षा ८ सम्मका सहजीकरण पुस्तक वितरण गर्न छपाइ कार्य गरिरहेको छ ।
५. शिक्षकहरूका लागि डिजिटल साक्षरता कार्यक्रम : पाल्पाको तानसेन नगरपालिकाले नगरपालिकाभित्रका सबै शिक्षकहरूका लागि ७ दिने कम्प्युटर सञ्चालन सीप विकास र ५ दिने डिजिटल प्रविधिबाट शिक्षण सम्बन्धी तालिम प्रदान गरेको छ । यी तालिम कार्यक्रममा ३०० भन्दा बढि शिक्षकहरूमा आधारभूत सिप विकास भएको तानसेनका शिक्षा अधिकारी रेशमलाल न्यौपानेले बताए । यसैगरी तुल्सीपुर उपमहानगरपालिका दाङले उपमहानगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरूका लागि टिप्याकमा आधारित ६ दिने डिजिटल सीप विकास तालिम सञ्चालन गरेको थियो । विशेषगरी अंग्रेजी र विज्ञान विषय शिक्षणमा केन्द्रित यस कार्यक्रममा ९७ जना शिक्षकहरू सहभागि भएको शिक्षा अधिकारी मानबहादुर खड्काले बताए ।

नेपालको संविधान अनुसार माध्यमिक तहसम्मको शिक्षाको कार्य अधिकार प्राप्त स्थानीय सरकारमध्ये केहीले रेडियो मार्फत शिक्षण सञ्चालन गरेको पाइयो । खासगरी कक्षा ६–१० का लागि बढी लक्षित देखिए तापनि केही स्थानीय तहले कक्षा ४ देखि नै रेडियो शिक्षण सञ्चालन गरेको बताएका छन् । यी रेडियो कक्षाहरू सञ्चालनमा स्थानीय सरकारहरूबाट सामान्यतया एक महिने छोटो अवधिका लागि सहयोग भएको देखिन्छ । कोरोना भाइरसका कारण स्थगित एस्इइ परीक्षालाई ध्यानमा राखेर पहिलोपटक एक महिने रेडियो शिक्षा सञ्चालन भयो भने सरकारबाट वैकल्पिक शिक्षणका रुपमा रेडियो शिक्षणसमेत गर्न सकिने भनेपछि स्थानीय तहहरूले रेडियो शिक्षणका लागि प्रायोजन शुरू गरेका हुन् । तर आर्थिक वर्षको अन्त्य र रेडियो शिक्षणका लागि आवश्यक बजेट प्रबन्ध नभएका कारण केही स्थानीय तहमा बाहेक रेडियो शिक्षण बन्द हुने अवस्था देखिन्छ । यसैगरी टेलिभिजन मार्फत शिक्षण कार्यक्रम पनि एक महिने अवधिका लागि मात्र सञ्चालन भै बन्द भएको छ । लकडाउन र विद्यालय सञ्चालनको स्पष्ट खाका र आवश्यक बजेट नभएकाले अब विद्यालय शिक्षाको थप अभ्यास कस्तो रहने भन्ने अन्योल बढेको छ । रेडियो, टेलिभिजन प्र्रशारणमा बालबालिकाको ध्यानकेन्द्रित हुन र सिकाइ प्रभावकारी हुन नसकेको कुरा सबै रेडियो शिक्षण कार्यक्रम सञ्चालन गर्ने स्थानीय तहका शिक्षा अधिकारी तथा शिक्षकहरूले बताउँछन् । यसबाहेक केही स्थानीय सरकारले निर्देशन गरेको टोल शिक्षण कार्यक्रम पनि प्रभावकारी नभएको मात्र होइन अभिभावक र अन्य व्यक्ति तथा समूहहरूबाट विरोध खेप्नु परेकोले निरन्तरता दिन नसकिएको बालहित माध्यमिक विद्यालय, निस्दी पाल्पाका प्रधानाध्यापक नवलसिं विरकट्टाले बताए । तथापि टेलिभिजन कार्यक्रम र परियोजना कार्य प्रति भने विद्यार्थीको लगनशीलता बढेको र सिकाइमा सकारात्मक प्रभाव परेको क्रमशः भैरव प्राथमिक विद्यालय, तानसेनका प्रधानाध्यापक भगवति खनाल र सौभाग्य माध्यमिक विद्यालय, माथागढीका प्रधानाध्यापक कृष्ण खनालले बताए । तर टेलिभिजनको पहुँच अति कममात्र विद्यार्थीमा भएको विडम्बना एकातिर छ भने परियोजना कार्य र सहजीकरण पुस्तक छपाईको प्रबन्ध गर्ने स्थानीय तहमध्ये माथागढी, पाल्पा, तिलोत्तमा रुपन्देह र तुल्सीपुर दाङ मात्र क्रियाशील भए । विद्यार्थीका लागि अनलाइन कक्षा कुनैपनि स्थानीय सरकारले गरेनन् ।

तसर्थ लकडाउनको अवधि लम्बिदै जाँदा विद्यालय सञ्चालन हुन नसक्ने अवस्थामा वा बन्दाबन्दी समाप्त भै विद्यालयहरू पुनः सञ्चालनमा हुँदा समेत शिक्षणसिकाइ प्रक्रियालाई निरन्तरता दिनका लागि सबै विद्यार्थीका लागि पुग्ने गरी पाठ्यपुस्तक, अभिभावकबाट सहजीकरण सहयोग पुस्तक छपाइ तथा वितरण, परियोेजना कार्य, गृहकार्य वा थप अध्ययन सामग्रीको विकास, छपाइ र वितरण, इन्टरनेट माध्यमबाट डिजिटल सिकाइका लागि आवश्याक प्रविधि तथा प्रविधिक सिप विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारहरूले आवश्यक आर्थिक, प्राविधिक र व्यवस्थापकीय सहकार्य गर्न सकियो भने मात्र सिकाइलाई निरन्तरता दिन र प्रभावकारिता बढाउन सकिने थियो । अन्यथा कोरोनाभाइरसको अन्त्यका लागि धूप बाल्दै बस्नु र पछि पुरानै कार्यशैलीमा फर्कनु बाहेक अर्को विकल्प देखिदैन । –साभार : नीतिपात्रो

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update