दलीय व्यवस्थामा दलको निर्णयाक भूमिका हुन्छ । नेपाली काँग्रेसले खेल्ने भूमिका र लिने निर्णयले तिन करोड नेपाली जनतालाई प्रभाव पार्दछ । मजदुरदेखि मालिक सम्मलाई, गरिबदेखि धनी सम्मलाई, रैतीदेखि नागरिक सम्मलाई र आमजनतालाई नेपाली काँग्रेसले अपनत्व महशुस हुने गरी काम गर्न सक्नुपर्दछ । २०४४ सालमा मैले कक्षा ९ मा अध्यन गर्दा नेविसंघमा समर्थन गरेपछि सिके प्रसाईले लेखेको ‘आजको सरल राजनीति’ भन्ने पहिलो सरलरुपमा राजनैतिक ज्ञान भएको किताब पढेको थिए । उक्त किताबमा पढेको मलाई अहिले सम्म पनि एउटा कुरा विशेष याद छ कि राजनीति गर्नका लागि धनको आवश्यक पर्दैन । राजनीति जस्ताले पनि गर्न सक्छ अर्थात सर्वसाधारणले पनि राजनीतिक टिकाउन सक्छ । राजनीति गर्नका लागि धनभन्दा पनि मन र आत्मविश्वास चाहिन्छ । राजनीति भनेको सामाजिक सेवा हो । जसले कुनै पनि प्रकारको लोभ नगरिकन सामाजिक सेवा गर्दछ उसले सजिलै राजनीतिलाई टिकाउन सक्छ । सिके प्रसाइले भनेको अर्को कुरा पनि मलाई सम्झना छ कि नेपाली काँग्रेसको सदस्यता लिई सकेपछि कसैलाई पनि समस्या पर्दैन किनकी नेपाली काँग्रेसका साथीहरु बिच एक अर्कामा सामाजिक सदभाव र हार्दिकता हुन्छ । एक अर्कामा सहयोग आदानप्रदान हुन्छ । तर अहिलेको काँग्रेस सिके प्रसाईले भनेको अवस्थामा छ ? सबैलाई लाग्न सक्छ होला सिके प्रसाईले लेखेको विचार गलत साबित हुँदैछ । अहिले सिके प्रसाई जीवित भएको भए उनले आफ्नो दर्शनमा परिवर्तन गर्ने थिए होलान र ? राजनीति गर्नका लागी पहिला प्रशस्त धन सम्पत्ति थुपार्नुपर्छ, राजनीति टिकाउनका लागि अरुलाई झुक्याउने र आफ्नो साथीलाई सिध्याउने खेल खेल्न सक्नुपर्छ भन्ने लेख्ने थिए होलान र ? मलाई भने त्यस्तो लाग्दैन किनकी उखु बाङ्गो हुन सक्छ तर रस कहिले पनि बाङ्गो हुन सक्दैन, खोला बाङ्गो होला तर पानी बाङ्गो हुन सक्दैन, मानिसको मुख बाङ्गो हुन सक्छ आत्म बाङ्गो हुँदैन । राजनीति भनेको सिके प्रसाइले भने जस्तै हो । वर्तमान अवस्थामा राजनीति गर्नका लागि धन सम्पत्ति बिना सम्भव छैन भन्ने देखिन्छ । तर भगवान गौतम बुद्धले भन्नु भएको छ कि यो समय सधैँ यस्तै रहदैन ।
नेपाली काँग्रेस चौधौं महाधिवेशनमा प्रवेश गरी सकेको छ । कोरोना भाइरसको प्रकोपले अधिवेशन तोकिएको समय फागुन महिनामा नहुन सक्छ तर जतिसुकै ताने पनि २०७८ सालको भाद्र महिना भन्दा उता जाने ठाउँ छैन । अब नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता एवं सदस्यहरु मानसिक रुपमा अधिवेशनको लागि तयार हुने बेला आइसक्यो । दलीय व्यवस्थामा पार्टीको लागि आवधिक अधिवेशन भन्दा महत्वपूर्ण अरु हुन सक्दैन । नेपाली काँग्रेसको अधिवेशन विगतदेखि वर्तमान हेर्ने हो भने प्रथम महाधिवेशन २००३ साल माघ १२ र १३ गते भारतको कलकत्ताबाट सभापति टंकप्रसाद आचार्य र कार्यकारी सभापति विपी कोइराला, दोस्रो महाधिवेशन भारतकै बनारसबाट सभापति विपी कोइराला, कार्यबाहक सभापति डिल्लीरमण रेग्मी, तेस्रो महाधिवेशन २००५ साल फागुन १८–२० भारतको दरभंगाबाट कार्यबाहक अध्यक्ष मातृकाप्रसाद कोइराला, यसैगरी नेपाल प्रजातन्त्र काँग्रेस २००५ साल प्रथम महाधिवेशन पौष १५ मा सभापति महेन्द्र विक्रम शाहको नेतृत्वमा गठन भएको थियो । चौठों महाधिवेशन नेपाल प्रजातन्त्र काँग्रेस र नेपाल राष्ट्रिय काँग्रेस विच एकता भई २००६ साल चैत्र २७(२९ गते भारतको कलकत्ताबाट सभापति मातृकाप्रसाद कोइराला, पाँचौ महाधिवेशन २००९ साल जेठ १०–१३ जनकपुरबाट सभापति विपी कोइराला, छैटौं महाधिवेशन २०१२ साल माघ ९–१२ वीरगन्जबाट सभापति सुवर्ण शमशेर राणा, सातौँ महाधिवेशन २०१७ साल वैशाख २५–३१ काठमाण्डौबाट सभापति विपी कोइराला, आठौँ महाधिवेशन २०४८ साल फागुन १–३ गते झापाबाट सभापति कृष्णप्रसाद भट्टराई, नवौं महाधिवेशन २०५३ साल वैशाख २६–२९ पोखराबाट सभापति गिरिजाप्रसाद कोइराला, दशौं महाधिवेशन २०५७ साल माघ ६–१० बाट सभापति गिरिजाप्रसाद प्रसाद कोइराला, एघारौं महाधिवेशन २०६२ साल भाद्र १३–१६ काठमाण्डौबाट सभापति गिरिजाप्रसाद कोइराला (तत्कालीन पार्टी विभाजन पश्चात संथापक काँग्रेस), एघारौं महाधिवेशन २०६२ साल पौष २२–२५ काठमाण्डौबाट सभापति शेरबहादुर देउवा (तत्कालीन पार्टी विभाजन पश्चात नेपाली काँग्रेस प्रजातान्त्रिक), २०६४ सालमा पार्टी एकिकरणको सभापति गिरिजाप्रसाद कोइराला, बाह्रौं महाधिवेशन नेपाली काँग्रेस एकता महाधिवेशन २०६७ साल असौज १–५ काठमाण्डौबाट सभापति सुशील कोइराला र तेह्रौं महाधिवेशन सम्म आइपुग्दा सभापति शेरबहादुर देउवा निर्वाचित हुनु भयो । अब चौधौं महाधिवेशनमा सभापति को बन्दैछ त्यो बहसको विषय बनिरहेको छ ।
नेपाली काँग्रेसको विधान अनुसार आधिवेसनबाट केन्द्रीय कार्यसमिति –१, प्रदेश कार्यसमिति –७, जिल्ला कार्यसमिति –७७, संघीय निर्वाचन क्षेत्रीय कार्यसमिति –१६५, प्रदेश सभा क्षेत्रीय कार्यसमिति –३३०, महानगरपालिका कार्यसमिति–६, उपमहानगर कार्यसमिति–११, नगरपालिका कार्यसमिति–२७६, गाँउपालिका कार्यसमिति –४६०, वार्ड कार्यसमिति –६७४३, हजारौं टोल कार्यसमितिहरुको निर्माण हुँदैछ । यतिबेला गाँउ र शहरहरुमा नेपाली काँग्रेसको सदस्यता र क्रियाशील सदस्यता वितरण भइरहेको छ । नेपाली काँग्रेसको संगठन निर्माण गर्ने क्रममा नेपाली काँग्रेसको सदस्यहरु र क्रियाशील सदस्यहरुको निकै महत्वपूर्ण भुमिका हुन्छ । विशेषगरी नेपाली काँग्रेसको क्रियाशील सदस्यहरु भनेको नेपाली काँग्रेसको संगठन निर्माणको आधार वा नर्सरी हो । वार्ड कार्यसमिति, गाँउपालिका कार्यसमिति र क्षेत्रीय प्रतिनिधी चयन गर्नका लागि क्रियाशील सदस्यहरुको मुख्य भुमिका हुन्छ भने प्रदेश सभा क्षेत्रीय कार्यसमिति, प्रदेश महाधिवेशन प्रतिनिधी, संघीय निर्वाचन क्षेत्रीय कार्यसमिति, जिल्ला कार्यसमिति, केन्द्रीय महाधिवेशन प्रतिनिधी र महासमिति सदस्यहरुको निर्वाचनमा क्षेत्रीय प्रतिनिधिकोहरुको मुख्य भूमिका हुन्छ । प्रदेश सभा कार्यसमिति र केन्द्रिय कार्यसमिति निर्वाचित गर्नका लागि महाधिवेशन प्रतिनिधिहरु र महासमिति सदस्यहरुको मुख्य भूमिका हुन्छ ।
क्रियाशील सदस्यहरुको भूमिका : नेपाली काँग्रेस जस्तो विश्व मै विश्वास र ख्याती कमाई सकेको पार्टीको क्रियाशील सदस्य हुनु वा हुन पाउनु भनेको आफैमा गर्वको विषय हो । अहिले नेपाली काँग्रेस क्रियाशील वितरणको र पुरानो क्रियाशील सदस्यता नविकरणको अभियानमा लागि रहेको छ । नेपाली काँग्रेसको क्रियाशील सदस्य भनेको नेपाली काँग्रेसको सांगठनिक संरचना निर्माण गर्नका लागी पार्टीको सबै भन्दा तलको तर अत्यन्तै महत्वपूर्ण स्थानमा हुन्छन । क्रियाशील सदस्यता वितरणमा नेपाली काँग्रेसले यो संख्यालाई करिब दोब्बर गराउने भनेको छ तर यसको मतलब जसलाई पनि दिने, जस्ताले पनि लिने भनेको पक्कै होइन । क्रियाशील सदस्यहरुले कम्तिमा पनि नेपाली काँग्रेसको बारेमा आधरभुत सिद्धान्त बुझेको हुनु पर्छ र नबुझेको भए पार्टी कमिटीले बुझाउनु पर्छ । पार्टीमा आफ्नो वर्चस्व राख्नका लागि आपनो पकेटबाट पैसा हालिदिएर क्रियाशील सदस्यता फर्म भराउनु राम्रो होइन । क्रियाशील सदस्यहरु भन्न वित्तिकै स्वस्फुर्त रुपमा सक्रियता देखाउन सक्ने हुनु पर्छ । क्रियाशील सदस्यहरु भनेका नेपाली काँग्रेसको नर्सरी हो जुन नर्सरीमा राम्रो विरुवाको उत्पादन भयो भने राम्रा बुटाहरु हुने कुरामा दुइमत छैन । किनकी जापानमा कुखुराका अण्डाहरुको दर फरक फरक हुनुको कारण कुखुराले खाने दानाको गुणस्तरमा भर पर्छ भनिन्छ । क्रियाशील सदस्यहरुमा स्वतन्त्र ढंगले विवेक पुराउन सकेनन भने त्यसबाट जन्मने सांगठनिक स्वरूप कमजोर खालको हुन्छ । भनिन्छ कि घर वलियो हुनका लागि जग वा आधार वलियो हुनुपर्छ । क्रियाशील सदस्यहरुको भूमिका भनेको वार्ड तथा गाँउपालिका कार्यसमिति चयन गर्ने, क्षेत्रीय प्रतिनिधिहरु निर्वाचित गरेर पठाउने र सोहि तहमा उमेदवार पनि हुन पाउने भएको हुनाले क्रियाशील सदस्यहरु कसैको बहकाउमा लाग्न हुदैन । वर्माका प्रजातन्त्रवादी नेतृ आङ सान सुकीले आफ्नो कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा भन्नुभएको थियो कि हरेक मानिसलाई भगवानले एक एक वटा टाउको दिनुभएको छ तर भगवानले दिएको टाउको जसले जे–जे भन्छ त्यतै–त्यतै हल्लाउने होइन सोच विचार पु¥याउनुपर्छ भनेर भनेको उपदेशलाई नेपाली काँग्रेसका क्रियाशील सदस्यहरुले अनुसरण गर्दा राम्रो हुनेछ । ठिक व्यक्तिलाई ठिक स्थानमा छनोट गर्ने क्षमता राख्न सक्ने हुनु पर्छ ।
क्षेत्रीय प्रतिनिधिहरुको भूमिका : अधिवेशनमा क्रियाशील सदस्यहरुबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिहरुको विशेष भूमिका हुन्छ । नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधिहरु क्रियाशील सदस्यहरु मार्फत विधानले व्यवस्था गरे अनुसारको संख्याको आधारमा वार्डबाट निर्वाचित हुन्छन् । प्रदेश कार्यसमिति, संघीय निर्वाचन क्षेत्रीय कार्यसमिति र जिल्ला कार्यसमिति निर्माण गर्नेदेखि सोहि कार्यसमितिको सभापतिदेखि पदाधिकारीहरु तथा सदस्यहरुमा उमेदवार हुनपाउने सम्मको अधिकार हुन्छ । क्षेत्रीय प्रतिनिधिहरुले स्वतन्त्र ढंगले विवेक पु¥याएमा संगठन जीवित रहन्छ । नेपाली काँग्रेसले जमिन्दारी प्रथा, वृता प्रथा, राज्य रजौटा प्रथा, वेठी प्रथा, सामन्ति प्रथा जस्ता प्रवृति २०१५ सालमा निर्वाचित नेपाली काँग्रेसको सरकार प्रधानमन्त्री विपी कोइरालाको अगुवाइमा उन्मुलनको घोषणा गरिएको हो तर पनि नेपाली काँग्रेसभित्र यस्ता प्रथाको प्रवृति कायम राख्न खोज्ने एकथरी जमात अहिले पनि कायम छन् । राजनीतिलाई कसैले जीवन मरणको सवाल गराएर हिड्नेहरु पनि प्रशस्त छन भने राजनीतिलाई प्रतिष्ठा र मनोरञ्जनको विषय तथा आम्दानीको स्रोत बनाएर हिड्नेहरु पनि छन् । पार्टीमा यस्ता गलत प्रवृति अन्त्य गर्ने जिम्मेवारी अधिवेशनमा क्षेत्रीय प्रतिनिधिहरुको काँधमा हुन्छ । पार्टीभित्र पदीय जिम्मेवारी वहन गर्ने र नगर्ने विचको फरक छुट्याउने तागत क्षेत्रीय प्रतिनिधिहरुले अनिवार्य राख्नुपर्छ । अधिवेशनको समयमा प्रतिनिधिहरुलाई फोनको वर्षा हुनेदेखि अधिवेशन स्थलसम्म आउनका लागि गाडीभाँडाको व्यवस्था र जाँडरक्सी सेवन गराएर प्रलोभनमा पार्ने र गैरजिम्मेवार व्यक्तिहरुले आफ्ना पषमा समर्थन पार्ने चलन अझैपनि कायम छ । तर क्षेत्रीय प्रतिनिधिहरु साना साना प्रलोभनमा नपरी विवेक पूर्ण तरिकाले राय प्रकट गरेमा वा मतदान गरेमा नेपाली काँग्रेस बलियो हुनेछ । किनकी काँग्रेस कमजोर भयो भने लोकतन्त्र कमजोर हुन्छ ।
महाधिवेशन तथा महासमिति प्रतिनिधीहरुको भूमिका : नेपाली काँग्रेसको महाधिवेशनमा महाधिवेशन प्रतिनिधिहरु केन्द्रिय कार्यसमिति निर्माण गर्ने सर्वोच्च शक्तिशाली निकाय हो । केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुले पार्टी भित्रको गुट उपगुट भन्दा माथि उठेर आफ्नो भुमिका निभाउन सक्नुपर्छ । व्यक्तिलाई फाइदा हुने भन्दा पनि पार्टी, देश र जनतालाई फाइदा हुने कुरा सोच्नु पर्छ । एकले अर्कोलाई दोष लगाएर उम्किने भन्दा पनि आपनो कर्तव्य के हो भन्ने भूमिकामा अग्रसर हुनुपर्छ ।
निचोड : “कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन’’ श्रीमद्भाभागवत गीतामा भनिएको छ । हरेक मान्छेलाई कर्म गर्ने अधिकार छ तर फल प्राप्त गर्ने अधिकार नहुन सक्छ वा फलमा अधिकार राख्न हुँदैन । अर्थात् फलमा भन्दा कर्ममाजोड दिनुपर्छ । नेपाली काँग्रेसका प्रतिनिधिहरुले कर्ममा भन्दा फलमा जोड गर्ने प्रवृति भएकोले पार्टी कमजोर हुँदै गएको हो । जसले कर्म अर्थात काममा भन्दा प्रतिफल वा नाफामा जोड गर्छ उसले देश तथा समाजलाई केही योगदान दिन सक्दैन । प्रतिफल पहिला खोज्यो भने मनमा स्वार्थ र लोभ उत्पन्न हुन्छ र काम शुरु गर्न वित्तिकै उ आफै दुःखी हुन सुरु गर्छ ।
नेपाली काँग्रेसका प्रतिनिधिहरुले पार्टीबाट के फुस्काउन सकिएला भन्ने सोच भन्दा पनि पार्टीलाई मबाट के योगदान हुन सक्छ भनेर घोत्लिनुपर्छ । किनकी लोकतन्त्र बचाउनका लागि त्याग गर्नुपर्ने हुन्छ । लोकतन्त्रका लागि भारतका सुभाष चन्द्र बोसले भनेका थिए कि भारत स्वतन्त्र गराउन भारतिय जनतालाई अपिल गर्दै भने “Give me your blood, I give you democracy’’ नेपालमा गणेशमान सिंहले पनि यसै भनेका थिए । यसैले प्रत्यक नेपाली काँग्रेसका अधिवेशन प्रतिनिधिहरु आफुलाई कसैको दास नस्वीकारी पहिला आत्मलाई स्वतन्त्र राखी आउँदो चौधौं अधिवेशनमा उपयुक्त भूमिका निभाएमा विपक्षलाई हराउन सक्ने र सबैलाई अवसर प्रदान गर्ने काँग्रेस तयार हुनेछ । इमान्दारपूर्वक पार्टीमा कर्म गरे स्वभाविक फल अवश्य आउँछ भन्ने विश्वास राख्नुपर्छ । (लेखक नेपाली काँग्रेसका केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिषण प्रतिष्ठानका सदस्य समेत हुन् ।)