पाल्पा,पछिल्लो २४ घण्टामा पाल्पामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई बुधबार प्राप्त विवरण अनुसार ६ जना पुरुष र १३ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
तानसेनस्थित काजिपौवामा रहेको प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा रामपुर, रिब्दीकोटका १/१ जना, माथागढीका, बगनासकालीका २/२ जना र तानसेनका १३ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसंगै जिल्लामा कुल संक्रमितको संख्या १ हजार ४ सय ३ पुगेको छ ।
जिल्लामा अहिलेसम्म एक हजार एक सय ५५ जनाले कोरोना जितेर घर फर्किसकेका छन् । तोकिएको मापदण्ड पूरा गरेर १४ दिन होम आइसोलेशन तथा संस्थागत आइसोलेशनमा रहेकाहरुले कोरोनालाई जितेर घर फर्किएका हुन् ।
पाल्पामा अहिलेसम्म १८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । अहिले जिल्लामा कुल सक्रिय संक्रमितको संख्या २ सय ३० पुगेको छ । उनीहरु सबै होम आइसोलेशन र केही अस्पतालमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो समयमा समुदायस्तरमा समेत कोरोना फैलिएको छ । जिल्लामा अहिलेसम्म ६ सय ९३ जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । ति मध्ये महामारीको अग्रभागमा रहेर काम गर्दै आएका ७३ जना स्वास्थ्यकर्मी रहेका छन् ।