रामचन्द्र रायमाझी
पाल्पा । पछिल्लो समय पाल्पा र गुल्मीमा पौष्टिक अन्नको रुपमा रहेको कोदो लोप हुँदै गएको छ । तीन दशकअघि मुख्य खाद्यान्न बालीका रूपमा स्थापित कोदो खेती जिल्लाका किसानहरुले गर्न छोडेपछि अहिले लोप हुने अवस्थामा पुगेको हो । कोदोको महत्व थाहा नहुँदा यसको खेतीप्रतिको आकर्षण घट्दो छ । कोदो फल्ने भेगमै किसानले खेती गर्न छोडेपछि अहिले बीउसम्म पाउन मुस्किल भएको किसानहरु बताउँछन् ।
पाल्पाको पश्चिमी भेगका तत्कालीन सत्यवती, कचल, ज्यामिरे, बल्ढेङ्गढी, भुवनपोखरी गाविसका अधिकांश किसानले कोदो खेती गर्दथे । यस्तै पूर्वी भेगका अर्चले, मित्याल, जल्पा, रिङ्नेरह, बहादुरपुर, बाकामलाङ्ग, सहलकोट, झिरुबास लगायतका ठाउँका किसानको मुख्य खाद्यान्न बाली कोदो थियो । उता गुल्मीको ताल्तुङ्ग, उजुङ्ग, ढाडा, बडागाउँ, मुसिकोट, पौदी अमराई, इस्मा लगायतका स्थानमा कोदो खेती गरिर्दै आइएको थियो । तर हिजोआज भने कोदो खेती पुरै विस्थापित हुने अवस्थामा पुगेको किसानहरू बताउँछन् । स्वास्थ्यका लागि अत्यन्त उपयोगी मानिने कोदो बाली अहिले पाल्पा र गुल्मीका सिमित गाउँमा मात्र खेती गरिन्छ । रोटी र ढिँडोका लागि मात्र उत्तम ठानिने भए पनि अहिले स्वस्थ रहनका लागि भन्दै शहरी क्षेत्रका मानिसले यसका परिकार खाने गर्दछन् । तर कोदो खेती गर्ने किसानको संख्या दिनहुँ घट्दै गएको गुल्मी इस्माका गर्भ मल्लको भनाई छ । ‘पहिले मुख्य खाना नै कोदाको रोटी, ढिँडो हुन्थ्यो तर अहिले मुख्य खाना भात भएकाले कोदो खेती विस्थापित भएको छ,’ मल्लले भने ‘अहिले कोदोको रोटी, ढिँडोभन्दा भात नै खाने चलन नै भयो ।’ पाल्पा तिनाउ गाउँपालिका कचलका रमेश बगालेले अहिले घरका लागि आवश्यक पर्ने मात्र आफूले बारीमा कोदो खेती गरेको भन्दै कोदो रोप्ने प्रचलन हटेको बताए । अहिले शहरी क्षेत्रमा यसको अत्याधिक माग भएपनि उत्पादन घट्दै गएको उनको भनाई छ ।
गाउँघरमा कोदोको महत्व नबुझ्दा यो अन्नलाई गरिबले खाने भन्दै घृणाको रुपमा हेरिनाले पनि यसको खेती हुन छोडेको बगालेले बताए । आधादशक अघिसम्म बगनासकाली गाउँपालिका खानीगाउँका डोलराज बस्यालको बारीमा प्रशस्तै कोदो फल्थ्यो तर अहिले गाउँमा यसको बिउसम्म पनि पाउन मुस्किल पर्न थालेपछि यसको कम खेती गर्न थालेका छन् । उनी मात्र होइन उनी जस्ता थुप्रै किसानहरुको मुख्य वाली नै कोदो थियो । तर आज तिनै कृषकले कोदो खेतीलाई जसो तसो निरन्तरता मात्र दिएका छन् । परम्परागत खेती र पुरानै वाली कोदोखेती यहाँका बिसभन्दा बढी गाउँका किसानहरुको मुख्य खाद्यान्नवाली थियो । तर तिनै पुराना किसानको घरमा आजभोली कोदो खेती कम हुँदै गएको छ । औषधीका रुपमा समेत प्रयोग हुने कोदोलाई पोषिलो अन्न मानिन्छ । पहिले –पहिले खेतीका रुपमा लगाईने कोदो अहिले देख्नै मुस्किल पर्न थालेको स्थानीय किसानहरु बताउँछन् । किसानले विस्तारै खेती गर्न छाडेपछि गाउँमा कोदो अभाव हुँदै गएको हो । कोदो अन्यबाली भन्दा स्वस्थकर वा लाभदायक भएपनि आकर्षण भने घट्दै गएको छ ।
सहरीकरणसँगै मानिसमा अल्छिपना बढ्दै गएको छ । कम मेहनत उत्पादन बढी हुने प्रयोग तथा उपयोगका क्रममा पोषणयुक्त खाद्यान्न बाली भित्र पर्ने भएपनि पोषिलो कोदोको पछिल्लो समयमा खाद्यान्नमा भन्दा अन्यत्र प्रयोग बढी हुन थालेको छ । परम्परागत शैलीमा स्थानीय जातको बिउ प्रयोग गरी मकैमा घुसुवा बालीका रुपमा लगाइने कोदो प्राय जसो जिल्लाका सबै गाउँ वस्तीमा हुन्थ्यो तर आजभोली सबै हराए । खाद्यान्नका लागि आटो, ढिडो, रोटीका रुपमा प्रयोग गरिथ्यो तर आजभोलि त्यही कोदोलाई मदिरा बनाउन प्रयोग गरेका कारण बिउ नै हराउने अवस्थामा पुगेको गुल्मी इस्माका अर्को किसान निर्दोष मुखिया बताउँछन् । स्वास्थ्यका लागि लाभदायक अन्न फलाउन छाडेर बजारमा पाइने प्याकेटका तयारी खाना खान थालेपछि एकातिर स्थानीय अन्न लोप हुँदै छन्, भने अर्कोतिर मानिसमा अनेक किसिमका रोगको संक्रमण बढ्न थालेको छ । धान, गहुँ र मकै जस्तै कोदोलाई किसानले महत्व नदिएका कारण यो लोप हुँदै गएको पाल्पा कृषि ज्ञान केन्द्रका प्रमुख शिवप्रसाद अर्यालले बताए । कृषि ज्ञान केन्द्रले विगतका वर्षदेखि रैथाने र लोप हुन लागेका बालीको प्रवद्र्धनका लागि अनुदान कार्यक्रम ल्याए पनि किसानहरु त्यसतर्फ आर्कषित हुन सकेका छैनन् । केन्द्रका प्रमुख अर्याल भन्छन्– ‘पाल्पामा रैथाने बाली प्रवद्र्धनका लागि अनुदान कार्यक्रम ल्याएर दरखास्त आह्वान गरे पनि व्यवसायिक कोदो खेती गर्न चाहने किसानहरु अहिले सम्म आएका छैनन् ।’ पाल्पामा अहिले २ हजार ५ सय ३७ हेक्टरमा मात्र कोदो खेती हुँदै आएको केन्द्रका कृषि प्रसार अधिकृत मुकेश रामजालीले बताए । संघीय संरचनासँगै स्थानीय सरकार गाउँ–गाउँ पुगेकाले पनि लोपउन्मूख अवस्थामा पुगेको कोदो खेतीको सरंक्षण प्रवद्र्धनमा लाग्न जरुरी छ । स्थानीय सरकारले कृषिमा पर्याप्त बजेट विनियोजन गरेकाले पनि त्यसको सम्भाव्यता अध्ययन गरी कोदो खेतीको व्यवसायीकरणमा ध्यान दिनुपर्नेमा सरोकारवाहरुको सुझाव छ ।