कोदो एक ठाडो घाँस जातीय एकवर्षे बाली हो । यो मानिसका लागि अत्यन्त लाभदायिक र पौष्टिक तत्वका रुपमा रहेको छ । तर पछिल्लो समय किसानहरुले यसको खेती गर्न छोडेकाले लोप हुँदै गएको छ । केही स्थानमा मुख्य खाद्यान्न बालीका रूपमा स्थापित कोदो खेती किसानहरुले गर्न छोडेपछि अहिले लोप हुने अवस्थामा पुगेको हो । कोदोको महत्व थाहा नहुँदा यस खेतीप्रतिको आकर्षण घट्दो छ । नेपाल कृषि प्रधान देश हो । तर पनि सरकारले रैथाने र लोपउन्मूख अवस्थामा रहेको कोदो खेतीको सरंक्षणमा भने ध्यान दिएको देखिदैन । देश संघीय संरचनामा गइरसकेपछि स्थानीय, प्रदेश र संघीय सरकारले कृषिका विभिन्न नारा दिएका छन् । तिनले किसान र कृषिको पनि उत्तिकै कुरा गरेका छन् तर परम्परादेखि हुँदै आएको, दिनहुँ लोपोन्मूख कोदो खेती विस्तार, संरक्षण र प्रवद्र्धनका कुरा गरेको कहीँकतै सुनिएको छैन । यो आफैमा विडम्बनाको कुरा हो ।
नेपालका प्रायःजसो भू–भागमा कोदो खेती हुने सम्भावना छ । चार मुख्य प्रजाति मध्ये विभिन्न रंग भएको कोदो खेती हिमाली र पहाडी क्षेत्रको प्रमुख अन्नबाली र खाद्यान्न हो । अनावृष्टि र खडेरीले प्रमुख अन्नबालीहरू धान, मकै र गहुँ उत्पादनमा प्रभावित छ । त्यसैले प्रमुख अन्नबालीहरू नहुने अवस्था र स्थानमा कोदो खेती गर्न सकिन्छ । नेपालको हिमालीदेखि पहाडी इलाकाहरू कोदोले ढकमक्क ढाक्छन् । धान र गहुँको तुलनामा सबैभन्दा बढी क्याल्सियम पाइन्छ । त्यस्तै मिनरल र फाइबर पनि कोदामै बढी पाइन्छ । कोदो पानी बिना नै उत्पादन गर्न सकिन्छ । कोदो खेतीलाई सिँचाइको आवश्यकता पर्दैन । रासायनिक मल र विषादीको चर्को प्रयोगले आजित भएर विश्वभर प्राङ्गारिक उत्पादन प्रयोगमा मानिसहरूको आकर्षण बढिरहेकाले कोदोमा कुनै पनि रासायनिक मल र विषादी आवश्यक पर्दैन । आडिलो, स्वादिलो र पोसिलो भएकाले कोदोको ढिँडो लोकप्रिय छ । सहरी जीवनशैलीयापन गर्नेले कोदोको परिकार खोजीखोजी प्रयोग गरेको पाइन्छ । यसमा आइरनको मात्रा प्रशस्त हुने भएकाले रक्तअल्पता कम भएका व्यक्तिलाई धेरै लाभदायक हुन्छ । यसर्थ लोप हुन लागेको कोदो खेतीको संरक्षण र प्रवद्र्धनमा कम्तीमा पनि स्थानीय सरकारले कोदो खेती लगाउन किसानलाई प्रोत्साहन गर्नुपर्छ ।