पाल्पा । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफामा सुधार आएको छ । बैंकले कर्जा विस्तार र निक्षेप संकलनमा व्यापक वृद्धि गरी नाफामा सुधार ल्याएको हो ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंंकले ५१.१२ प्रतिशतले नाफा वृद्धि गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३० करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकको पाल्पा शाखाले जनाएको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा १० करोड १७ लाख रुपैयाँ हो । बैंकको नाफासँगै खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा पनि निकै सुधार देखिएको छ । गत आ.व को दोस्रो त्रैमासमा ४० करोड ९९ लाख ८० हजार ७ सय १३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले चालु आवको सोही अवधिमा ६८ करोड ६६ लाख ७२ हजार ६७७ रुपैयाँ आर्जन गरेको छ । गत आवको तुलनामा बैंकको निक्षेप संकलन ४२ प्रतिशत र कर्जा परिचालन ५०.३१ प्रतिशतले बढोत्तरी भएको बैंकले जनाएको छ ।
बैंकको सञ्चालन मुनाफा ४२ करोड ७० लाख रुपैयाँ रहेको छ । यो गत आवको तुलनामा १४ करोड ४५ लाख रुपैयाँले वृद्धि भएको हो । समीक्षा अवधिमा बैंकको कर्मचारी खर्च दोब्बर भएको छ ।दुई अर्ब ६२ करोड २९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको शेयरधनी कोषमा ८७ करोड ३५ लाख रुपैयाँ तथा जगेडा कोषमा ५३ करोड ५२ लाख रुपैयाँ सञ्चित रहेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ०.१७ प्रतिशत रहेको बैंकको निस्क्रिय कर्जा अनुपात ०.४४ प्रतिशत विन्दु बढेर ०.६१ प्रतिशतमा पुगेको छ ।