निजी क्षेत्रको सबैभन्दा ठूलो प्रतिनिधिमूलक संस्था तथा उद्योगी व्यवसायीको छाता संगठन उद्योग वाणिज्य महासंघको मंसिर ११ देखि १३ गतेसम्म नयाँ नेतृत्व छनोटका लागि काठमाण्डौँ ५४ औं वार्षिक साधारणसभा र अधिवेशन हुँदैछ । अधिवेशनले वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्षसहित ६४ जना पदाधिकारी चयन गर्नेछ । पाल्पा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा लुम्बिनी प्रदेशका कोषाध्यक्ष मोहन श्रेष्ठले जिल्ला/नगरतर्फबाट खुल्ला केन्द्रिय सदस्यमा उम्मेदवारी दर्ता गरी चुनावी मैदानमा उत्रिएका छन् । वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल प्यानलबाट उनी चुनावी मैदानमा उत्रिएका हुन् । सदस्यका उम्मेदवार श्रेष्ठ डेढदशकदेखि नै जिल्लाका उद्योगी व्यवसायीहरुको हितमा काम गर्दै आएका छन् । होटल व्यवसायी समेत रहेका श्रेष्ठ सामाजिक क्षेत्रमा पनि सक्रिय छन् । उनी अत्यन्त मिलनसार स्वाभावका व्यवसायीका रुपमा परिचय बनाएका व्यक्ति हुन् । चुनावी एजेन्डा, कोभिड–१९ ले थिलथिलो पारेको अर्थतन्त्र उकास्न निजी क्षेत्रको भूमिका, रोजगारी सिर्जना लगायतका विषयमा केन्द्रित रहेर शित्तलपाटी डटकमका उप–सम्पादक रामचन्द्र रायमाझीले श्रेष्ठसँग गरेको कुराकानीको सम्पादित अंश :
१. तपाईको चुनाव जित्ने आधार के हो ?
मेरो र हाम्रो समूहको चुनाव जित्ने मुख्य आधार भनेकै आम व्यवसायी साथीहरूको विश्वास हो । उद्योगी व्यवसायीहरुबाट प्राप्त सहयोग र समर्थन तथा मप्रति गर्नुभएको भरोसाका आधारमा म निर्वाचनमा जित्नेमा विश्वस्त छु । यससँगै हाम्रो सशक्त र सन्तुलित टिम पनि छ, जसले महासंघ र निजी क्षेत्रसामु देखिएका चुनौती समाधान गर्ने क्षमता राख्छ । हाम्रा एजेण्डा, विगतका अनुभव र भविष्यप्रतिको चिन्तनका आधारमा आम व्यवसायी साथीहरूले हाम्रो टिमलाई मतदान गर्नुहुनेछ ।
२. कोभिडले अर्थतन्त्र धरासयी भएको छ । यस्तो अवस्थामा अर्थतन्त्रलाई सवल बनाउन तपाईका एजेण्डा के छन् ?
कोरोना महामारीका कारण अर्थतन्त्रमा प्रभाव पर्यो । त्यसैले कोरोनाले प्रभाव पारेका मुख्य क्षेत्रको आत्मनिर्भर हुनेगरी व्यवसाय विस्तारमा सहजीकरण गर्ने र उद्योग व्यवसायीको हितमा सरकारसँग समन्वय गर्ने रहेको छ । व्यापार व्यवसायको साथमा उद्योगी व्यापारीका समस्या समाधानमा लाग्ने मेरो लक्ष्य हो । लगानी, उत्पादकत्व, रोजगार, आवागमन र उपभोग सबै पक्षमा कोभिड– १९ ले पारेको असरका कारण अर्थतन्त्र शिथिल भएको छ । हाम्रो जिम्मेवारी बन्द भएका उद्योग व्यवसाय पुनः सञ्चालन गराउनमा केन्द्रित हुनेछ । नीतिगत र प्रक्रियागत सुधार गरेर कोभिड– १९ ले बन्द हुने सँघारमा पुगेका उद्योग व्यवसाय बचाउन महासंघले सिर्जनात्मक र निर्णायक पहलकदमी लिनेछ ।
निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थामा लामो समय काम गरेकाले पनि सरकार र नियमनकारी निकायसँग नीतिगत लबिइङ गरेर समग्र आर्थिक विकास, समृद्ध नेपालको विकास गर्न उद्योगी व्यवसायीको विकास हुने नीति आउनुपर्यो भन्ने लागेको छ । नीतिकै कारण उद्योग व्यवसाय स्वस्फूर्त रूपमा फस्टाउन सकेका छैनन् । विदेशी लगानी आकर्षित गर्न पहिलो सर्त आन्तरिक लगानीको वातावरण चाहिन्छ । त्यसकारण उद्योगमैत्री मुलुकका रूपमा अगाडि बढाउन सशक्त अवाज उठाउने छु । जिल्ला–नगरका उद्योगी व्यवसायी साथीहरूका पनि धेरै मुद्दा छन् । कतिपय अवस्थामा महासंघले समेट्न सकेको छैन् । ती मुद्दामा काम गर्न पनि मेरो उम्मेदवारी हो ।
३. निर्वाचनमा सहमतिको सम्भावना कति छ ?
सहमतिको प्रयास जारी छ अन्तिमसम्म रहन्छ नै । निर्विरोध हुन्छु भन्ने लागेको छ । हुन सकेन भने स्वस्थ हिसाबले प्रतिस्पर्धामा जाने छु ।
४.महासंघले पाल्पाको ढाका र करुवा उद्योगलाई ध्यान दिन नसकेको सुनिन्छ । तपाई निर्वाचित भएपछि के गर्नु हुन्छ ?
हो पाल्पाको पहिचानका रुपमा रहेको ढाका र करुवा उद्योग जिल्लाबाट विस्थापित हुने अवस्थामा रहेका छन् । सरकारी तवरबाट कुनै पनि पहल हुन नसक्दा यि उद्योगको विस्तार हुन नसकेको पक्कै हो । यसका लागि जिल्लामा उद्योग वाणिज्य संघले उद्योगलाई विविधिकरण गर्नका लागि पहल नगरेको पनि होइन तर निजी क्षेत्र एक्लैले सम्भव रहेन् । म यि उद्योगको विस्तार र प्रवद्र्धनका लागि पनि महासंघमा आएको हुँ । नेतृत्वमा पुगेर महासंघलाई नीति निर्माणदेखि साना मझौला उद्योगका सारथि बनाउने अभियानमा लाग्ने छु । नेपालको अर्थतन्त्र र नेपाल उद्योग वाणिज्य महासंघको संस्थागत विकासमा लघु, घरेलु, साना तथा मझौला उद्योग–व्यवसायको समेत ठूलो योगदान छ । रोजगार सिर्जना, उपादकत्व बढाउन योगदान रहे पनि संस्थागत कदर हुन नसकेको साना व्यवसायीको अनुभव छ । अब यस्ता गुनासा सम्बोधन गर्न महासंघभित्र औपचारिक संचरनागत व्यवस्था गर्ने प्रतिवद्धता गर्दछु ।
५.अन्तमा :
म केन्द्रिय सदस्यमा निर्वाचित भएपछि कोभिड पछिको अर्थतन्त्र पुनरुत्थान र महासंघको संस्थागत सुदृढीकरणदेखि जिल्ला नगर आर्थिक सबलीकरण र वस्तुगत संघमार्फत सीप विकाससम्मका विषयमा प्रतिवद्ध भएर लाग्ने छु । नीति निर्माण तहमा निजी क्षेत्रको सबल उपस्थितिका लागि धेरै गर्न सकिन्छ भन्नेमा म स्पष्ट छु ।