Shittalpati
सर्वसम्मत नेतृत्व चयन होस्

कोरोना कहरका बिच पनि उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभा तथा महासंघ हाँक्ने नयाँ समिति चयन बिहीबारदेखि सुरु भएको छ । कोरोना संक्रमणको जोखिमका कारण उद्घाटन मात्रै नभई बन्दसत्र समेत जुम एपबाट भएकोे छ । बन्दसत्र १२ गते हुनेछ । बन्दसत्र सकिएपछि १३ गते नयाँ कार्यसमितिका लागि निर्वाचन हुने छ । गत चैतमा हुनुपर्ने वार्षिक साधारणसभा तथा निर्वाचन कोरोना कहरका कारण पटक–पटक स्थगित भएको थियो । कोरोना कहरको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन तथा निषेधाज्ञाका कारण साधारणसभा हुन सकेको थिएन । तर, १३ गतेसम्म काठमाडौंमा हुने निर्वाचनका लागि प्यानल नै बनाएर दुई समूह चुनावमा होमिएका छन् । दुवै प्यानलका सदस्य तथा वरिष्ठ उपाध्यक्षहरूले आ–आफ्नो मनोनयन दर्ता गराएर चुनावमा गएका हुन् । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था अनुसार शेखर गोल्छा महासंघको आगामी अध्यक्ष बन्ने छन् । बाँकी पदहरुमा भने चुनाव हुँदैछ । गोल्छापछि नेतृत्वमा पुग्न वरिष्ठ उपाध्यक्ष पदका लागि महासंघका वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान चुनावी मैदानमा उत्रिएका छन् ।

महासंघको वस्तुगत उपाध्यक्षमा वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ भिड्दैछन् भने एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघाई र शौरभ ज्योति तथा जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र गुणनिधि तिवारी प्रतिस्पर्धामा उत्रिएका छन् । कोभिड–१९ को जोखिम र सरकारले तोकेको स्वास्थ्य मापदण्डलाई दृष्टिगत गर्दै निर्वाचन हुने छ । नेपालको निजी क्षेत्र हाँक्ने नेपाल उद्योग वाणिज्य महासंघमा प्रजातान्त्रिक पद्धतिअनुरूप निश्चित समयमा चुनावद्वारा नेतृत्व चयन गर्नु सकारात्मक हो । तर, यस यसपटक देशैभरका उद्योगी व्यवसायी कोरोना कहरका कारण पीडित छन् । त्यसैले यस्तो कठिन समयमा आफ्नो समय तथा ऊर्जा चुनावमा खर्च गर्नु त्यत्ति सान्दर्भिक छैन् । बरु निजी क्षेत्रले त्यो ऊर्जा र समय एकढिक्का भएर सर्वसम्मत नेतृत्व चुन्न सके सकारात्मक सन्देश जान्छ । महासंघको यो साधारण सभाले सर्वसम्मत रूपमा नेतृत्व चयन गरेर यस्तो कठिन समयमा नेपालका निजी क्षेत्र एक ढिक्का भएर कोरोना कहरविरुद्धको लडाइँमा उत्रने छन् भन्ने आशा गर्ने अझै ठाउँ छ । प्रजातन्त्रमा आवधिक निर्वाचन एउटा प्रक्रिया हो तर महासंघजस्तो विशुद्ध व्यवसायिक संस्थामा यसपटक सर्वसम्मत नेतृत्व आउँदा उद्योगी व्यवसायीहरुको हित हुने छ र देशको अर्थतन्त्रले पनि गति लिने छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update