पाल्पा । सिद्धार्थ राजमार्ग दैनिक चार घण्टा पुनः बन्द रहने भएको छ । सिद्धार्थ राजमार्गको झुम्सा–दोभान सडकखण्डमा कालोपत्रे गर्ने कार्यका लागि दैनिक चार घण्टा सडक बन्द गरिने भएको हो । विहीबार सडक डिभिजन कार्यालय पाल्पाले एक सूचना जारी गर्दै सडक कालोपत्रे गर्नका लागि २०७७ मंसीर १४ गतेदेखि मंसीर १८ गतेसम्म दैनिक चार घण्टा राजमार्ग आवागमन बन्द रहने जनाएको छ । कार्यालयका अनुसार विहान १०:३० बजेदेखि १२:३० बजेसम्म र दिउसो २ बजेदेखि ४ बजेसम्मका लागि सडक बन्द रहने भएको हो ।
यता तानसेनको बर्तुङ–रिडी, तम्घास सडक पनि सडक स्तरोन्नतीका लागि समय–समयमा बन्द गरिदै आइएको छ । हार्थोक, माल्मुल–जोर्ते सडक खण्डको मोड सुधार तथा सडक स्तरोन्नतीको लागि कार्तिक २५ गतेदेखि मंसिर १३ गतेसम्म सडक बन्द रहदै आएको हो । डिभिजन कार्यालय पाल्पाले हरेक दिन बिहान ३ बजे देखि ६ बजे सम्म,बिहान ७ बजे देखि ९ बजे सम्म, दिउसो १२ बजे देखि ४ बजे सम्म, साँझ ७ बजे देखि ८ बजे सम्म र साँझ ९ बजे देखि राती १२ बजेसम्म आवागमनमा रोक लगाएको छ । यो समय भोलि सकिदै छ ।