बुटवल । राष्ट्रिय सभामा सत्ता पक्षका प्रमुख सचेतक खिमलाल भट्टराईले निर्माणाधीन कृषि सडकको स्थलगत अनुगमन गरेका छन् । रुपन्देहीको सैनामैना नगरपालिका– ५ स्थित किसुली—कर्महा, बक्सड–बुद्धनगर सडकको शनिबार अनुगमन गर्दै शुद्धोधन गाउँपालिका र गैडहवा गाउँपालिका जोडनका लागि पुल निर्माणको सर्वे हुन लागेको उनले जानकारी दिए । उनले सडकको कालोपत्रेको काम गुणस्तरीय गर्न स्थानीयले घच्घचाइरहनुपर्नेमा जोड दिँदै सडक कालोपत्रेका लागि बजेटको अभाव नहुने स्थानीयलाई आश्वासन दिएका छन् । सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले नगरपालिकाका दुर्गम क्षेत्र पनि शहरउन्मुख हुन लागेको उल्लेख गर्दै सडकका कारण नगरपालिकाको सौन्दर्य बढ्दै गएको बताए ।
गत आर्थिक वर्षमा एक करोडको लागतमा ८ सय ५० मिटर सडक कालोपत्रे भएकोमा यस आर्थिक वर्षमा एक करोड २५ लाखको लागतमा एक हजार १०० मिटर सडक कालोपत्रे हुन लागेको छ । बक्सड गाउँका बीचमा करिब ५०० मिटर नालासमेत निर्माण भइरहेको नगरपालिका ५ का वडाध्यक्ष पर्शुराम सापकोटाले जानकारी दिए । प्रमुख सचेतक भट्टराईको पहलमा सो सडक कालोपत्र भएको हो । सडकको अवस्था जीर्ण हुँदा मुख्य राजमार्गसम्म आउनका लागि स्थानीयले लामो समयदेखि सास्ती खेप्दै आएका थिए । संघीय सरकारको भौतिक पूर्वाधार मन्त्रालयबाट सो रकम निकासा भएको बताइएको छ । करिब साढे पाँच किलोमिटर सडक कालोपत्र गर्न कूल लागत करिब नौ करोड अनुमान गरिएको छ । गत असोजदेखि शुरु गरिएको सडक कालोपत्रेको काम आगामी वैशाखको अन्त्यसम्ममा सक्ने लक्ष्य लिइएको छ । सडक कालोपत्र गर्दै बुद्धनगर जोडिने छ । –रासस