मदन देउराली
आज कार्तिक शुक्ल पूर्णिमा र गेडागुडी र कन्दमूलको पूर्णिमा पनि । वर्षदिनभरी नै विभिन्न चाड पर्व मनाउने नेवार समुदायले आजको दिनलाई हलीमुली पून्ही सकिमना पून्हिको रुपमा मनाउँछन । यो सकिमना पून्ही वास्तवमा आफना परिवारको सुख, सम्वृद्धिको लागि मनाइने चाडको रुपमा मनाइन्छ । हलीमुल पून्ही सकिमना पून्ही नेवारी शब्द हुन् । हलीमुली भनेको विभिन्न गेडागुडी जस्तै मकै, भट्ट, चना, केराउ, वदाम, सेमी, जुनेलो, लट्टे, कटहरको गेडा, फर्सिको वियाँ आदि विभिन्न प्रकारका गेडागुडीहरु एकै ठाउँमा मिसाएर घोलमोल गरेर भुटेर बनाइएको परिकार हो, जसलाई नेवारी भाषामा छुस्या मुस्या भनिन्छ । त्यस्तै सकि भनेको पिडालु र मना भनेको उसिन्नु हो । सकिमना भनेको पिडालु उसिनेको अर्थात् उसिनेको पिडालु हो । पिडालुका साथै फर्सी, सखरखण्ड, तरुल आदि पनि खाने गरिएकाले यसलाई सकिमना पून्ही भनिएको हो । यस दिन घरका महिलाहरु बिहानदेखि नै नुहाइ धुवाइ गरी दिनभर केवल फलफूलमात्र ग्रहण गरी व्रत बस्दछन् । राती चन्द्रमा उदाएपछि सुकुन्दा कलश स्थापना गरिन्छ तथा श्रद्धापूर्वक श्रीगणेशको र चन्द्रमाको पूजा गर्दछन् । त्यसपछि सबैलाई प्रसाद बाँडिन्छ । प्रसादको रुपमा रहेका यही विभिन्न गेडागुडीहरु तथा कन्दमूलहरु बाँडिन्छ । कन्दमूल भित्र पिडालु पनि पर्दछ । यो पून्हीको दिन अनिवार्यरुपमा पिंडालु राख्नु पर्छ । त्यसैले यस पून्हीलाई सकिमना पून्ही पनि भनिएको हो ।
आजको दिनमा उसिनेको पिडालु खाएमा वर्षभरिको लागि शरीरको लागि आवश्यक प्रोटिनको पूर्ति भई राख्ने, तागत उत्पन्न हुने र शरीर स्वस्थ हुने भन्ने विश्वास गरिन्छ । किनकी पिडालुमा प्रोटिनको मात्रा प्रशस्त हुन्छ जुन चीसो मौसममा स्वास्थ्यको लागि अत्यन्त राम्रो मानिन्छ । त्यसबेलाका बुढापाकाहरुले जे जस्तो चाडपर्वहरु मनाए पनि ति चाडपर्वहरु वैज्ञानिक तथ्यको आधारमा मनाएको देखिन्छ । यो सकिमना पून्हीमा पनि कन्दमूल र अन्नको महत्व र यो खानु पर्छ भनेर नै यो पर्व मनाएको हुनु पर्छ । नेवार समुदायले ऋतु अनुसारको उब्जनी आफनो उत्पादन इष्टदेवलाई चढाएर मात्र खाने प्रचलन अनुसार आजको दिन नयाँ पिडालु, सखरखण्ड लगायतका कन्दमूल उसिनेर आफ्नो इष्टदेवलाई चढाएर खाने गर्दछन् । उपत्यकामा आजको दिन विभिन्न नारायण मन्दिरहरुमा साथै भक्तपुरको यातु महादेव, आशापुरेश्वर महादेवको मन्दिर तथा डोलेश्वर महादेवको मन्दिरमा भक्तजनहरुको घुँइचो लाग्दछ । यसदिन महादेवको पूजा आराधना गरी ब्रत बस्नाले पुण्य प्राप्त हुने धार्मिक विश्वास पनि छ । सकिमना पून्हि वास्तवमा कलालाई अन्नमार्फत प्रस्तुत गर्ने एक दुर्लभ कलाकारिताको नमुना भने पनि हुन्छ । काठमाडांै उपत्यकामा विभिन्न गेडागुडीबाट न्यातपोल मन्दिर, गणेश लगाएत विभिन्न देवी देवताका आकृति बनाउँछन् । भनिन्छ किसानले आफुभित्र लुकेको कलालाई अन्नमार्फत प्रस्तुत गरेका हुन् । तानसेनमा यो दिन टक्सारटोलमा श्री ७ सूर्य विनायक दाफा भजन समूहले दाफा भजन गाउँछन् । भजन घरमा एउटा कपडामा घर–घरबाट ल्याइएको गेडागुडीकोे चैत्यको आकारको चित्र बनाउँछन् । दाफा भजन गर्ने बेलामा घर–घरबाट अनिवार्यरुपमा छुस्या मुस्या भगवानलाई चढाउन ल्याउने गर्दछन् र भजन पछि सो प्रसाद तथा उसिनेको पिडालु सबैलाई बाँडिन्छ । यसपाली कोरोनाको त्रास भएता पनि सुरक्षित रुपमा सकिमना पून्ही मनाउने तथा दाफा भजन गाउने अग्रज दाजु मंगल प्रसाद बज्राचार्यले बताउनु भएको छ । बाँकी भएको गेडागुडी शिवरात्रीका दिन आगोको धुनिमा जलाइने गरेको उहाँ बताउनु हुन्छ ।
भीमसेनटोलमा पनि यस दिन सना गुठीले श्री चैत्यराज भजन गाउँछन् । यो भजन भीमसेनटोलमा मात्र गाइन्छ । यो भजन करिब ११० वर्ष पुरानो भनिन्छ । पहिला पहिला चतुर्मास लागेपछि प्रत्येक दिन चर्तुमास भजन गाउने तथा श्री चैत्यराज भजन गाउने गरिन्थ्यो । यो भजन सबैजसो टोलहरुमा गाउने गरिए पनि विस्तारै सबै टोलहरुले चर्तुमास भजन गाउन छोडे पछि आजकाल भीमसेनटोलमा मात्र सिमित रहेको र चार महिनासम्म प्रत्येक दिन गाइने भजनपछि गएर औंसी र पूर्णिमाको दिन मात्र गाइने गरिएको श्री चैत्यराज भजनका संयोजक ज्ञानकुमार बज्राचार्य बताउनु हुन्छ । आषाढ शुक्ल एकादशीका दिनदेखि भगवान श्रीविष्णु चार महिनासम्म क्षीरसागरमा शयन गर्नु हुन्छ । त्यसैले यस दिनलाई हरिशयनी एकादशी भनिन्छ । यस दिनदेखि चर्तुमास प्रारम्भ हुन्छ । आषाढ शुक्ल एकादशीका दिन शयन गर्नु भएका श्री विष्णु भगवान चार महिना पछि आजको दिन कार्तिक शुक्ल एकादशीका दिन निद्राबाट ब्युँझनु हुन्छ त्यसैले यस दिनलाई हरिबोधनि एकादशी मानिएको र चतुर्मास समाप्त भएको भन्ने धार्मिक मान्यता रहेको छ । यसदिन ब्रत बस्नेहरुले बेलुका सखरखण्ड, पिडालु आदि उसिनेर प्रसादका रुपमा चढाउने तथा खाने गर्दछन् । ठूलो एकादशी अर्थात् हरिबोधनी एकादशीको पाँच दिन पछिको पूर्णिमा उपत्यकाका किसानहरुका लागि महत्वपूर्ण हुन्छ । यो दिन उनीहरुले मौसमसंग सम्बन्धित कन्दमूल र अन्नको सेवन गर्ने दिनको रुपमा मान्दछन् तथा जाडो याम शुरु भएको संकेतको अनुभव गर्दछन् ।
प्रत्येक वर्ष श्री चैत्यराज गुठीका गुठीयार मध्ये एकजना सदस्यले यो भजन औँसी पूर्णिमा गरी आफ्नो घरमा आठ पटकसम्म भजन गराउँछन् । विभिन्न रागहरुमा आधारित भजनहरु पहाडी कागतमा बाँसको कलमले अति सुन्दर अक्षरमा लेखिएका छन् । यो भजन गाउन बजाउन कठिन भएकोले सबैले गाउन सक्दैनन् । यो पून्हीको दिन पालो परेका गुठीयार सदस्यले आफनो घरमा छुस्या मुस्या गेडागडीको स्वयम्भुको आकार बनाउँदछन् साथै चन्द्र, सूर्य, मयुर, हात्ती, विभिन्न आकृतिहरु बनाउँछन् । यसरी बनाउन पनि सीपको आवश्यक्ता हुन्छ । जस्ले पायो त्यस्ले बनाउन सक्दैनन् । घरको बैठकमा कपडा विछयाई त्यसमाथि गेडागुडीको चैत्य बनाइन्छ तथा अन्य बनाइएका वस्तुहरु त्यहाँ राखिन्छ । चर्तुमासको समापनसंगै आजको पूर्णिमाको दिनदेखि सो सदस्यका लागि त्यस वर्षको लागि श्रीचैत्यराज भजन गर्ने कार्य सकिन्छ र अर्को सदस्यको पालो शुरु हुन्छ । राती भजन गर्नेहरु सबैलाई उसिनेको पिडालु खुवाइन्छ । त्यसैले यसलाई सकिमना पून्ही भनिएको हो । यस्को भोलिपल्ट यी सबै वस्तु छुस्या मुस्यालाई एकै ठाउँमा मिसाइ प्रसादकोरुपमा सबै गुठीयारहरुलाई बाँडिन्छ । तर यसपाली सना गुठीले गर्ने पूजा तथा भजन कोरोनाका कारण नगर्ने भनिएको छ । तानसेनस्थित धर्मचक महाविहारमा प्रत्येक वर्ष कोजाग्रत पूर्णिमादेखि सकिमना पूर्णिमा एक महिनासम्म दिनहुँ बिहान बुद्ध भजन, शील प्रार्थना, धर्मादेशनाको कार्यक्रम हुने गर्दछ । विद्वान भन्तेहरुले बुद्ध धर्म सम्बन्धी विभिन्न उपदेशहरु दिने गर्दछन् । तर यसपाली कोरोनाको महामारीले गर्दा सर्ब धार्मिक कार्यहरु लथालिंग भए । कुनै पनि धार्मिक कार्यहरु हुन सकेनन् । हलिमुलि पून्हीको कुनै पनि कार्यक्रमहरु भएनन् ।
हलिमुलि पून्हीको अर्को व्यवहारिक पक्ष भनेको आकाशदीप पनि हो । बडा दशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाका दिन दुर्गा माताको अनुष्ठानका सम्पूर्ण सामग्रीहरु विसर्जन गरिन्छ । तानसेनमा यस दिन नेवारहरुले आफनो घरको झयालबाट बाहिर आकाशदीप (मतकल नेवारीमा) यन्त्र बनाई झुण्डयाउने गर्दछन् । माता लक्ष्मी र भगवान श्रीनारायणको स्वागतको लागि आकाशदीप बालिएको भनिन्छ । कोजाग्रत पूर्णिमादेखि सकिमना पून्ही एक महिनासम्म भगवान श्रीनारायणको लागि यसरी दीप बालेमा महालक्ष्मीबाट सौभाग्य, सम्पदा प्राप्त हुन्छ भनिन्छ भन्ने धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ । हाम्रा गाउँघरतिर कता–कता आफ्ना घर अगाडि तुलसीको विरुवाको मठसंगै लामो बाँस गाडेर माथि आकाशदीप झुण्डाइको पनि देखिन्छ । पहिला–पहिला तेलको बत्तीको पाला राखी बाल्ने चलन थियो तर आजभोलि पालाको सट्टामा विजुली बत्ति राखिन्छ तापनि यो चलन सबैले गर्दैनन् कसै कसैले मात्र बाल्दछन् । हुनत यो चलन अत्यन्त व्यवहारिक छ जस्तो लाग्छ किनकि त्यसबेला विजुली बत्ती नभएको अवस्थामा पनि यसरी आकाशदीपमा बत्ती बाली बाहिर राखी दिए पछि बाटो हिड्नेहरु सो बत्तीको उज्यालोमा सजिलोसँग हिड्न पाउँथे । वर्षभरी मौसम अनुसार विभिन्न चाडपर्व मनाउने क्रम यसपाली शुरुदेखि नै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोनाको कारणले अस्तव्यस्त भएको छ । विगतका वर्षहरुमा धूमधामका साथ मनाइने गरेका सबैजसो चाडपर्वहरु यस वर्ष कुनै खुम्चिएका छन् । त्रासमा नमनाइएका हाम्रा चाडपर्वहरु यसपाली मनाउन नपाइएतापनि अर्को वर्ष निर्धक्क मनाउन पाउँ आशा गरौं । अस्तु ! (लेखक देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष समेत हुन् ।)