नयाँदिल्ली । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ । भारतमा विगत चौबीस घण्टाको अवधिमा थप ३८ हजार ७ सय ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघेको सो मन्त्रालयले जानकारी दिएको हो । हाल भारतमा ९४ लाख ३१ हजार ६९२ जना कोरोना भाइरस संक्रमित रहेका छन् । जसमध्ये ८८ लाख ४७ हजार ६ सय व्यक्ति संक्रमणमुक्त भएका छन् । सो मन्त्रालयका अनुसार हाल ४ लाख ४६ हजार ९५२ व्यक्ति अझै पनि सक्रिय संक्रमित अवस्थामा छन् ।
भारतमा एकै दिन ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार २३ औं दिन हो । भारतमा कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा थप ४४३ जनाको मृत्यु भएको र यो सहित भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ३७ हजार १३९ पुगेको छ । भारतभरी सब भन्दा बढी कोरोना भाइरस प्रभावित राज्य महाराष्ट्र, केरला र राजधानी शहर दिल्ली भएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषदले भारतमा कूल १४ करोड ३ लाख ७९ हजार नमूना परीक्षण गरेको जनाएको छ । हिजो एकै दिनमा ८ लाख ७६ हजार १७३ व्यक्तिको कोरोना भाइरस परिक्षण भएको समाचारमा जनाइएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार भारतमा ९३.७१ प्रतिशत कोरोना भाइरसको संक्रमण निको भएको छ । –रासस/एएनआई