निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघले नयाँ नेतृत्व पाएको छ । शेखर गोल्छाको कामण्डमा महासंघले नयाँ नेतृत्व पाएको हो । महासंघको प्रावधान अनुसार वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्ने रहेकाले गोल्छाको कमाण्डमा महासंघले नयाँ नेतृत्व पाएको छ । चुनावी प्रतिस्पर्धाबाट चन्द्र ढकाल वरिष्ठ उपाध्यक्ष बनेका छन् । नयाँ नेतृत्व भनिए पनि महासंघका विभिन्न पदमा रहेर कार्यरत व्यवसायीहरू नै नयाँ नेतृत्वमा देखिएकाले महासंघका आगामी दिन कम विवादास्पद हुने अपेक्षा गर्न सकिन्छ । व्यवसायीहरूको संगठनमा समूह बनाएर प्रतिस्पर्धा गरिएकाले भने निर्वाचनपछि पनि व्यवसायीहरूबीच तिक्तता र आरोपप्रत्यारोप रहिरहने हो कि भन्ने आशंका भने देखिन्छ । त्यसैले पनि नयाँ नेतृत्व यसमा विशेष संवेदनशील हुन आवश्यक छ । निर्वाचनका समयमा वर्तमान अध्यक्षले समर्थन नगरेको व्यक्ति वरिष्ठ उपाध्यक्ष बनेकाले अन्तर्विरोध र विवाद भइरहने हो कि भन्ने आशंका व्यवसायीमा छ । यद्यपि अध्यक्ष र वरिष्ठ उपाध्यक्षले मिलेर व्यवसायीको पक्षमा काम गर्ने प्रतिबद्धता विजयी भएपछि व्यक्त गरेका छन् । त्यसैले महासंघभित्रका सबैलाई समेटेर निजीक्षेत्रले भोग्नुपरेका समस्या समाधानार्थ जुट्नु नयाँ नेतृत्वका लागि चुनौतीपूर्ण देखिन्छ ।
विश्वव्यापी कोरोना कहरका कारण नेपालको अर्थतन्त्र नाजुक अवस्थामा रहेको तथ्य सबैलाई थाहा छ । कोरोना महामारीले थिलथिलो पारेकोे अर्थतन्त्रको पुनरुत्थान तथा दशकौं देखिको नेपाली अर्थतन्त्रको संरचनागत समस्यालाई नयाँ नेतृत्वले समाधान गर्ने कति प्रयास गर्छ, कति योगदान गर्छ, यसको अब समयले मूल्यांकन गर्ने छ । नेपालका संघसंस्थाहरूमा पछिल्ला वर्षहरूमा आइरहेका संस्थागत तथा नेतृत्वगत रूपमा ह्रास कसरी रोक्ने, यो पनि नयाँ नेतृत्वका लागि चुनौती नै हो । नेपाली अर्थतन्त्रलाई दिगो बनाउन कसरी सरकारसँग सहकार्य गर्ने भन्नेबारेमा निजी क्षेत्रभित्रै एउटै मत छैन । यो निजी क्षेत्रको विडम्बना हो । संविधानमा लेखिएको अर्थतन्त्रको बाटो, सरकार तथा सरकारमा रहेका दलको बुझाइ तथा निजी क्षेत्र आफ्नै बुझाइमा आकाश–जमिनको फरक छ । निजी क्षेत्रको छाता संगठनका तर्फबाट सरकार तथा आफ्नै व्यवसायी मित्रहरूबीच कसरी एउटै बुझाइ बनाउन सकिन्छ, यसतर्फ अहिलेसम्म निजी क्षेत्रले कुनै प्रयास गरेको देखिँदैन । त्यसैले नयाँ नेतृत्वका लागि आगामी दिनहरू सहज पक्कै छैनन् । तर असहजतामा नै सही नेतृत्वको पहिचान हुन्छ । त्यसैले अब महासंघको नयाँ नेतृत्वका लागि यो चुनौती तथा अवसर दुवै हो ।