विगत तीन दशक अघिदेखि विश्वभर विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइँदै आइएको पाइन्छ । हरेक वर्ष डिसेम्बर १ का दिन विश्व एड्स दिवस मनाईने गरिन्छ । एचआइभी संक्रमण न्यून गर्न वा नियन्त्रण गर्न मुलुकमा सञ्चालित अनेक खाले उपायहरूमध्ये विश्व एड्स दिवस पनि एक हो । एचआईभीसँग जीवन बिताउनेहरुका लागि समर्थन गर्ने र एड्स सम्बन्धी रोगबाट ज्यान गएकाहरुको स्मरण गर्ने उद्देश्यले हरेक वर्ष डिसेम्बर १ तारिखका दिन नेपालमा पनि यो दिवस मनाउन थालिएको हो । एचआईभी एड्ससम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै एचआईभी एड्स विरूद्ध गरिएका कार्यक्रम तथा गतिविधिहरुका बारेमा सबै ठाउँमा सूचना पुर्याउनु नै यस दिवसको मुख्य उद्देश्य रहँदै आएको छ । विश्वका अन्य मुलुकहरू जस्तै नेपालमा पनि मंगलबार विश्व एड्स दिवस मनाइएको छ ।
नेपालमा एचआइभी संक्रमणका मुख्य कारण गरिबी, द्वन्द्व, अशिक्षा र चेतनाको अभाव नै हो । यसैका कारण स्वदेश र विदेशमा यो संक्रमण दिन प्रतिदिन बढिरहेको छ । आफ्नो गर्जो टार्न वा जीवन निर्वाहका लागि रोजगारीको खोजीमा भारत जानु नेपाली युवाको बाध्यता हो र अहिले पनि त्यो जारी छ । आफ्नो र परिवारको जीवन निर्वाहका लागि जस्तोसुकै गाह्रो काम गर्न तयार भएर जाने यी निर्दोष नेपालीले जीवन धान्ने केही पैसासंगै एचआइभी र एड्स बोकेर ल्याउने गरेका छन् । यसतर्फ राज्य र सरोकारवालाहरू अहिले नै सजग हुनु अति आवश्यक छ । नेपालमा बढी मात्रामा वयस्क जनसंख्या एचआईभीको जोखिममा छन् । असुरक्षित यौन सम्पर्क, असावधानी रुपमा सिरिन्जको प्रयोग लगायतका कारणले एचआईभीको जोखिम बढिरहेको छ । सरकार तथा दातृ निकायहरुको सहयोगमा विभिन्न संघसंस्थाहरु एचआईभी नियन्त्रण गर्न लागिपरेका छन् । सरकार, विभिन्न संघसंस्था, समुदाय, व्यक्तिहरुको सामूहिक प्रयासबाटै एचआईभी बारे सचेतना बढाउन सकिन्छ । नयाँ संक्रमण दर घट्दै जानु खुसीको कुरा हो । तथापी एचआईभी र एड्स बारे समुदायस्तरमा अझै बढी सतर्कता अपनाएर एड्सको महामारी अन्त्य गर्न सके मात्र एड्स दिवस मनाउनुको सार्थकता रहन सक्छ ।