भ्रष्टाचारको अर्थ खराब आचरण भन्ने बुझिन्छ । भ्रष्टाचारलाई पतीत आचारण र दूषित मर्यादाका रूपमा व्याख्या गर्न सकिन्छ । नियम वा कानुनविरुद्ध नैतिकता पतन हुने गरी घूस खाई पक्षपातपूर्ण निर्णय र व्यवहार गर्ने काम, भ्रष्ट मनसाय वा घुसखोरीको काम नै भ्रष्टाचार हो । त्यसैले भ्रष्टाचार गर्नु जघन्य अपराध हो । हाल नेपालमा भ्रष्टाचारले जरो गाडेर बसेको छ । सरुवा रोगजस्तै चारैतिर व्याप्त रूपमा फैलिएर रहेको छ । नेपालको कुनै पनि क्षेत्र भ्रष्टाचारको जालोबाट अछुतो छैन । राज्यका सरकारी निकायहरू, निजी तथा सार्वजनिक संस्थानहरू साथै गैरसरकारी संस्थाहरूमा समेत भ्रष्टाचार हुने गरेको समाचार छ्यापछ्याप्ती सुन्न र पढ्न पाइन्छ । नेपालमा भ्रष्टाचार नियन्त्रणको लागि विभिन्न निकायले जोडतोडका साथ काम गरिरहेको दाबी गरिरहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि हरेक भाषणमा आफूलाई भ्रष्टाचार सैह्य नहुने र भ्रष्टाचार गर्नेलाई नछाड्ने प्रतिवद्धता जनाउँदै आएका छन् । तर पनि भ्रष्टाचार न्यूनिकरण हुन सकेको छैन । भ्रष्टाचार घट्नुको साटो बढिरहेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको जर्मनीको बर्लिनमा रहेको मुख्य कार्यालयले गरेको अनुसन्धान र यहाँको जनमतबाट पनि एसियामै नेपाल सबैभन्दा धेरै भ्रष्टाचार हुने देशको शीर्ष स्थानमा देखिएको छ । यो निकै निराशा र हाम्रो लागि दुःखको कुरा हो । ट्रान्सपरेन्सीको रिपोर्टले नेपालमा भ्रष्टाचार बढ्नुमा राजनीतिक संरक्षण नै मुख्य कारण देखाएको छ । त्यसमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सहकर्मीहरु माथि लागेका भ्रष्टाचारको आरोप खण्डन गर्दै हिँड्ने, उनीहरु माथि अनुसन्धान नगर्न दबाब दिने र बोली एउटा व्यवहार अर्को गर्ने गरेको देखिएको छ । जसले गर्दा पनि भ्रष्टाचार बढ्नुको सट्टा झन बढ्दै गएको छ । प्रधानमन्त्रीले भ्रष्टचार गर्नेलाई छोड्दिन भने पनि भ्रष्टाचार नघट्नु दुखद् हो । यसर्थ प्रधामन्त्रीले भाषणमा मात्र होइन व्यवहारमा कार्यान्वन नगरेसम्म भ्रष्टाचार अन्त्य हुने या कमी आउने कल्पना समेत गर्न सक्दैनौँ ।