तुलसीपुर । लुम्बिनी प्रदेशमा पहिलो चौमासिकमा ८ सय २३ घरेलु हिंसा भएका छन् । प्रदेश प्रहरी कार्यालय दाङले प्रदेशका १२ जिल्लामा ८ सय २३ घरेलु हिंसा भएको जनाएको छ । यो वर्ष विगतका वर्षभन्दा हिंसाका घटनामा कमी आएको प्रदेश प्रहरी कार्यालय दाङले जानकारी दिएको हो । चालु आर्थिक वर्ष २०७७/७८ को कात्तिक सम्ममा सबैभन्दा बढी बाँकेमा घरेलु हिंसा भएका छन् । कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक राजकुमार बैदवारका अनुसार बाँकेमा २ सय ७२, रुपन्देहीमा १ सय ६१, कपिलवस्तुमा ९१, नवलपरासीमा ८२, दाङमा ५६ घरेलु हिंसाका घटना भएका छन् ।
त्यस्तै बर्दियामा ३८, रोल्पामा ३४, अर्घाखाँचीमा ३२, गुल्मीमा २६, पाल्पामा १४, प्यूठानमा १३ र रुकुमपूर्वमा चार वटा घरेलु हिंसाका घटना भएका छन् । वरिष्ठ प्रहरी उपरीक्षक बैदवारका अनुसार घरेलु हिंसा सबैभन्दा बढी कृषि क्षेत्रमा आश्रय रहेका परिवारमा हुने गरेको पाइएको छ । उनका अनुसार कृषिमा आवद्ध परिवारका ४ सय ७७, गृहिणी २ सय ६८, ज्यामी २७, विद्यार्थी नौ, बेरोजगार १३, व्यापारी २०, कर्मचारी आठ र वैदेशिक रोजगारी एक जना रहेका छन् । बैदवारका अनुसार हिंसापीडित हुनेमा ७ सय ३६ महिला रहेका छन्, भने ८७ जन पुरुष रहेका छन् । सबैभन्दा बढी २६ देखि ३५ वर्ष उमेरमा हिंसा भएको पाइएको छ । यस्तै १६ देखि ३५ वर्षका ३ सय ७६, १६ देखि २५ वर्षसम्मका २ सय २५, ३६ देखि ४५ वर्षसम्मका २ सय २५, ४६ देखि ६० वर्षसम्मका १ सय २३ जना हिंसापीडित बनेका छन् । बैदवारका अनुसार महिला हिंसामा २ सय ४९ जना महिला अभियुक्त छन् भने ६ सय ९६ पुरुष अभियुक्त रेहका छन् । सबैभन्दा धेरै जबर्जस्ती करणीका १ सय ५५, जर्बजस्ती करणी उद्योगका ५१, बहुबिवाहका ४४, बालबिवाहका चार, बोक्सीको आरोपमा छ, जातीय छुवाछुतका तीन, अप्राकृतिक मैथुन तीन, बालयौन दुराचारका १०, अवैद्य गर्भपतनका दुई, मानव बेचबिखनका ६ र घरेलु हिंसाका मुद्दा दर्ता एक वटा दर्ता भएका छन् । लुम्बिनी प्रदेश मातहतका १२ जिल्ला र ५३ इलाका प्रहरी कार्यालय गरी जम्मा ६५ प्रहरी एकाइबाट सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए ।
चालकसँग कुराकानी अभियान प्रदेश प्रहरी कार्यालयले चालकसँग कुराकानी अभियान पनि शुरु गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले प्रदेशका १२ वटै जिल्लामा सोे कार्यक्रम सञ्चालन गरेको हो । मंसिर १४ गतेदेखि सो अभियान शुरु भएको वरिष्ठ प्रहरी उपरीक्षक वैदवारले बताए । चालकलाई प्रशिक्षण, व्यवसायीसँग समन्वय, सवारी साधनको जाँच, सवारी साधनको यान्त्रिक व्यवस्था, अधिक भार, तीब्र गति, मादकपदार्थ सेवन परीक्षण गर्ने कार्य पनि भइरहेको छ । यो अभियान १५ दिनसम्म चल्ने बताइएको छ । –रासस