Shittalpati
सवारी साधनमा भाडादर नटाँसे कारवाही

बागलुङ, सार्वजनिक सवारीले बढी भाडा असुलेको गुनासो बढेपछि जिल्ला यातायात व्यवस्थापन समितिले अनुगमनमा कडाइ गर्न थालेको छ । तोकिएको भाडादरको विवरण यात्रुले प्रष्ट देख्ने गरी नटाँसेको र बढी भाडा लिइएको पाइएमा सवारीसाधनलाई कारवाही गरिने समितिले जनाएको छ । सवारी तथा यातायात व्यवस्था ऐनले पनि सवारीसाधनमा भाडादर राख्नुपर्ने व्यवस्था गरेको छ ।

समितिले सडकको अवस्था, यातायात व्यवसायीको लगानी र समस्या, उपभोक्ताको क्रमशक्ति आदिलाई मध्यनजर गरी साविककै भाडादर कायम गर्ने निर्णय गरेको समितिका सदस्य सचिव एवं यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारिसिङ्ग थापामगरले जानकारी दिए । “सवारीसाधनमा भाडादर टाँस्नुपर्ने नियम पहिल्यै आएको भएपनि कार्यान्वयनमा आउन सकिरहेको थिएन, अब अनुगमन बढाउँछौँ”, उनले भने, “अनुगमनमा कमजोरी भेटिएमा कानूनअनुसार कारवाही हुन्छ ।” यातायात समिति र व्यवसायीलाई पनि राखेर भाडादरबारे उठेका गुनासा समाधानका लागि पहल र समन्वय गरिने प्रमुख थापामगरले बताए ।

समितिले कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी सवारीसाधनमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न/गराउन समेत सरोकार भएका सबै पक्षलाई अनुरोध गरेको छ । यातायात व्यवस्था कार्यालय, जिल्ला ट्राफिक कार्यालय लगायतका सरोकार भएका निकाय मिलेर स्वास्थ्य मापदण्ड पालना भए/नभएको बारे अनुगमन गर्ने भएका छन् ।  –रासस

प्रकाशित मिति: शनिबार, मंसिर २०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update