Shittalpati
उड्डयनको भूमिका र विकास

कुनै पनि सरकारी तथा निजी क्षेत्रको विकासमा उड्डयन सुविधाको महत्वूर्ण भूमिका रहेको हुन्छ । विकासका पूर्वाधारहरुको स्थापना गर्न, आवत–जावत गर्न, सेवा सुविधाको पहुँच बढाउन, पर्यटन सम्भावनाको विकास गर्न, विपद् व्यवस्थापन गर्न र दूर्गमका विरामीहरुलाई समयमै उपचारका लागि अस्पतालसम्म समयमैं पुर्‍याउन उड्डयनको मूलभूत भूमिका रहेको हुन्छ । आज विश्वभरी नै उड्डयन सुरक्षा र व्यवस्थापनको विषयमा पहल गर्दै अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाईंदैछ । हरेक वर्षको डिसेम्बर ७ मा अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाउने गरिन्छ । सन् १९९४ मा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्थाको वार्षिकोत्सव मनाउन यो दिवस मनाउन शुरु गरिएको हो । त्यससँगै संयूक्त राष्ट्रसंघको महासभाले पनि डिसेम्बर ७ लाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका रुपमा मान्यता दिएको छ । सन् १९५७ मा नेपालमा पनि नागरिक उड्डयन प्राधिकरणको स्थापना भएको हो । उड्डयनको सुरक्षा, गुणस्तरीय सेवाको व्यवस्था लगायत व्यवस्थित अन्तर्राष्ट्रिय मापदण्डको हवाईक्षेत्र अनि विमानस्थलको सुरक्षा नै यसको मूख्य उद्देश्य हो ।

विकासको एक कडीका रुपमा उड्डयन क्षेत्रलाई लिने गरिन्छ । तर नेपालमा यसको प्रभावकारी विकास र विस्तार हुन सकेको छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक स्वरूप एवं सुविधाको विकासका लागि अविलम्ब उपयुक्त कदमहरू चालिनुपर्छ र खुला आकाशनीतिलाई कागजमा मात्र सीमित नराखी नियमित उडानहरूलाई प्राथमिकता दिई थप सुविधा र सहुलियत प्रदान गर्न सके मात्र विकासले गति लिन सक्छ । आन्तरिक हवाई उडानमा यात्रुहरूको सुरक्षाको प्रत्याभूति दिनुका साथै निजी क्षेत्रबाट सञ्चालन हुने हवाई कम्पनीहरूलाई थप इजाजत दिई नियन्त्रण गर्ने तर्फ ध्यान दिनुपर्दछ । निजी क्षेत्रका पर्यटनसँग सम्बन्धित संघ संस्थाहरूको समानुपातिक प्रतिनिधित्वका आधारमा उच्चस्तरीय अधिकार सम्पन्न पर्यटन बोर्ड गर्नु र नेपाल पर्यटन बोर्डसँग त्यसले सामञ्जस्य राखी काम गर्नु पनि आवश्यक छ । सरकारले सबैको सहमति र सामञ्जस्यमा राष्ट्रिय पर्यटननीति बनाई त्यसलाई कडाइका साथ लागू गर्ने हो भने नेपालमा पर्यटन क्षेत्रको विकास नहुने कुरै छैन ।

प्रकाशित मिति: सोमबार, मंसिर २२, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update