Shittalpati
खोप र नेपालमा यसको तयारी

विश्वभरका देशहरुले कोरोना नियन्त्रणका लागि खोप आविष्कार गर्ने प्रयास गरिरहेका छन् । अहिले चीन, रसिया, अमेरिका, बेलायत लगायतका मुलुकका नौ वटा संस्थाले खोपको अन्तिम परीक्षण गरिरहेका छन् । विश्वका एक सय ८२ कम्पनीले क्लिनिकल परीक्षणका लागि विश्व स्वास्थ्य संगठनसमक्ष अनुमति मागे पनि ३६ वटाले मात्रै स्वीकृति पाएका थिए । हुन त यी परीक्षण नै खोप उत्पादनको अन्तिम विन्दु होइन । किनकि विभिन्न चरणमा सुरक्षित र प्रभावकारी रूपमा परीक्षण भएर प्रमाणित भएपछि मात्रै यसमा विश्वास गर्न सकिन्छ । विश्व स्वास्थ्य संगठनले समेत अहिलेको गतिमा परीक्षण सफल हुँदै गएमा पनि अझै न्यूनतम तीन महिना लाग्नसक्ने अनुमान गरेको छ । उत्पादन सुरु भएपछि पनि नेपालमा आयात गर्नु भनेको जटिल काम हो । तर हामी सामु अन्य विकल्प नभएका कारण खोप आउला र कोरोना नियन्त्रण होला भन्नु शिवाय कोरोना नियन्त्रणका अन्य उपाय छैन । किनकि आर्थिक रूपमा सम्पन्न र विकसित मुलुकले लकडाउन मार्फत नागरिकलाई घरभित्रै थुनेर संक्रमण नियन्त्रण गर्ने कोशिस गरे पनि नेपाल लगायत तेस्रो मुलुकका लागि यो काम अब असम्भवजस्तै देखिएको छ ।

तर पनि नेपाल सरकारले खोपको परीक्षण बाहिर सफल भएपछि नेपालमा ल्याउने तयारी भने थालेको छ । सरकारको यो कदम अत्यन्त प्रशंसनीय रहेको छ । सरकारले पहिलो चरणमा २० प्रतिशत नागरिकलाई पुग्नेगरी खोप ल्याउने तयारीलाई अगाडि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप ल्याउनदेखि लगाउनसम्मको तयारी गर्नका लागि विभिन्न ८ उपसमिति समेत बनाएको छ । खोप परीक्षणको अन्तिम तयारीमा रहनु र सरकारले समिति गठन गरेर व्यवस्थापनलाई तीव्रता दिनुले यो भाइरसबाट छिट्टै नै उन्मुक्ति पाउन सकिन्छ कि भन्ने आशा जनस्तरमा पलाएको छ । तर समिति गठन गरेर मात्रै हुँदैन, जनस्तरमा देखिने गरी काम हुनु आवश्यक छ । शक्तिशाली राष्ट्रहरुमा खोपको उत्पादन सुरु भएर जनस्तरमा जान थाल्नेबित्तिकै नेपालमा पनि आपूर्ति हुने अपेक्षा गर्न सकिन्छ । तसर्थ यो कामलाई परिणाममूखी बनाउन नेपाल सरकारले खोप उत्पादन गर्ने राष्ट्रहरुसँग समन्वय र सहकार्य गरेर प्रक्रिया सुरु गर्न जरुरी छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update