जगदीश भट्टराई
पाल्पा । नेकपा स्थायी कमिटीका सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले पार्टी एकताका लागि नेताहरु बिच मन नमिले छुट्टा–छुट्टै बाटो लाग्ने अवस्था आउन सक्ने बताएका छन् । मंगलबार नेकपा प्रचार विभाग पाल्पाको प्रकाशनमा प्रकाशित सूर्य बुलेटिन वितरण तथा भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन् ।
उनले चुनावी गठबन्धनका माध्यमबाट प्राप्त परिणाम पछि शुरु भएको पार्टी एकताको प्रयास अहिलेसम्म पनि जारी रहेकाले अब पनि नमिले दुई पार्टी अलग भएर छुट्टाछुट्टै बाटो लाग्नुपर्ने अवस्था सिर्जना हुनेतर्फ संकेत गरेका छन् । मुख्यमन्त्री पोखरेलले भनेका छन्‘ इतिहासको बोझ बोकेर भविष्य निर्माण गर्ने बाटोमा तगारो बन्नु भन्दा अलग–अलग बाटोबाटै हिड्नुपर्ने हुन सक्छ ।’
हिजोको माओवादीमा बन्दुकको दम्व देखिनु र एमालेले जनताको बहुदलीय जनवादको नारा दिदै गर्दा, त्यसलाई कसरी मिलाएर लैजाने भन्ने बारेमा दुईनेताहरु बीच समझदारी र मेलमिलाप हुनु नै आजको आवश्यकता रहेको उनले औल्याएका छन् । पार्टी एकताको प्रयासमा दुई अध्यक्षहरु नै बाधक भएको पोखरेलले आरोप लगाए । उनले भने ‘ बाधकका बावजुद पनि पार्टी एकताको विकल्प सुदृढ एकता बाहेक अरु केही पनि हुन सक्दैन भन्ने मान्यतालाई परिपालना गर्नुपर्छ ।’ माथिका नेताहरु नमिल्दैमा तलसम्म पनि बेमेल भएको आभाष हुन नदिने काम गरिएन भने भोली पार्टी एकतालाई सार्थक बनाउँन गाह्रो पर्ने पोखरेलले बताए । पूर्वमाओवादीहरुसँग आफ्ना कति सदस्य थिए, भन्ने डाटा समेत नभएका कारण पनि समस्या उत्पन्न भएको उनको धारणा छ ।
दुई नेताहरु बीच बेमेल भएका कारण पार्टी एकतामा समस्या उत्पन्न भएको कुरा आम कार्यकर्तालाई नबुझाउँदासम्म वर्तमान अवस्थाको आँकनल गर्न गाह्रो हुने पोखरेलको तर्क छ । मुख्यमन्त्री पोख्रेलले फरक प्रसंगमा देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु नेपालमा कम्यूनिष्टहरु बढेको देखी सहन नसक्ने अवस्था रहेको समेत बताएका छन् । उनले नेपालमा आर्थिक परिवर्तन हुन नसक्नु, जनताका चहाना र महत्वकाँक्षा बढ्नु, पार्टी अधिवेशनको तयारी समयमा गर्न नसक्नु नै हाम्रा लागि बाह्य शक्ति बाधक रहेको बताए । मुख्यमन्त्री पोखरेलले नेताहरु आफुहरु बीच भएका सहमतिका दस्तावेजलाई विर्सनुले पार्टीमा विवादका मुख्य कारक तत्व भएको स्पष्ट पारे । उनले भने ‘दक्षिण एसियामा अरु देशको तुलनामा नेपालले कुलग्रास्थ उत्पादनमा अत्यन्तै छिटो प्रगती गरेको छ, कोभिड १९ लाई व्यवस्थापन गर्ने क्रममा पनि अरु देशको तुलनामा राम्रो भएका कारण विरामी र मृत्युदर कम छ, त्यस कारण विरोधी र प्रतिक्रियावादीले भने जस्तो वर्तमान सरकारले केही पनि गर्न नसकेको भने हैन ।’
कार्यक्रममा लुम्बिनी प्रदेशका वन तथा पर्यटन मन्त्री लिला गरी, संघीय सांसद सोम प्रसाद पाण्डे, प्रदेश सांसदहरु तुल बहादुर घर्ती, नारायण आचार्य, डा.पुरनमान बज्राचार्य,नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरे लगायतको उपस्थिती रहेको थियो । प्रचार विभागका प्रमुख गुराँस आत्रेयको अध्यक्षता, कमल तिमिल्सीनाको सञ्चालनमा कार्यक्रम भएको थियो ।