हरेक वर्षको १० डिसेम्बरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइन्छ । सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणापत्र पारित गरेको ऐतिहासिक दिवसको सम्झना स्वरुप यो दिवस मनाइन्छ । आज विविध कार्यक्रमहरुको आयोजना गरी देशभर यो दिवस मनाउन लागिएको छ । मानिस भएर जन्मेको कारणले विश्वका जुनसुकै मानिसलाई पनि स्वतः प्राप्त हुने अधिकारलाई मानव अधिकार भनिन्छ । यस अन्तर्गत त्यस्ता अधिकारहरु पर्दछन् जुन अधिकारहरु विश्वभरीका सबै मानिसहरुमा जाति, भाषा, धर्म, रंग, लिंग, राष्ट्रियता, उत्पति, सामाजिक र आर्थिक स्थिति, राष्ट्रिय सिमाना आदिको भेदभाव बिना निहित रहन्छ र यिनीहरुको सिर्जना अन्तर्राष्ट्रिय कानुनद्वारा हुन्छ । मानव अधिकारलाई नैसङ्र्गिक एवं मौलिक अधिकारका रूपमा विश्वभरि स्वीकार गरिनुका साथै मानवीय मूल्य र मान्यतालाई हरेक सभ्य समाजले स्वीकार गरेको छ । विश्वमा ठुलठूला क्रान्ति र घटनासहित परिवर्तन आएको दावा गरिए पनि मानव अधिकारका क्षेत्रमा भने खासै परिवर्तन आएको देखिदैन । यो अत्यन्तै दुःखको कुरा हो ।
आर्थिक विकास भयो भनियो तैपनि मानिसहरूमा कुपोषण व्याप्त छ, औषधोपचार नपाउँदा अकालमा मर्नु परेको छ । भोक, रोग मान्छेको नियती बनेको छ । भय र अभावमा उनीहरू बाँच्न विवश छन् । यस्ता समस्याबाट समाजलाई मुक्त गर्न तथा न्यूनीकरण गर्ने प्रयासले सार्थकता पाउन सकेको छैन । जसले गर्दा जनताका गाँस, बास, कपासजस्ता आवश्यकताको परिपूर्ति गर्न सकिएको छैन । सबैको जीवन सर्वाधिक महत्वपूर्ण हुन्छ । मानवजीवन यसै पनि महत्वपूर्ण छ । यस्तो जीवनलाई गरिमाका साथ व्यतित गराउन सकियो भने मात्र जीवन सार्थक ठहरिन्छ । तसर्थ, मानवजीवन उपभोग गर्दा गौरवको अनुभूति होस् भन्नका लागि केन्द्रमा मानव गरिमाको सम्मान स्थापित हुनै पर्छ । यसका लागि भय र अभावबाट मुक्ति हुन पाउनुपर्छ । यसरी मानवजीवन अभिशाप होइन, वरदान हो भन्ने अनुभूति गराउन सकियो र जीवनका स्वतन्त्रताहरूको उपभोग गरेर मनुष्य जीवनलाई सार्थकता प्रदान गर्न सकिए मात्र मानव अधिकार दिवस मनाइनुले सार्थकता पाउनेछ ।