Shittalpati
कोभिडका कारण रोजगार गुमाएका पाल्पाका युवा बंगुरपालनमा

पाल्पा । कोरोना भाइरसको बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैतदेखि लकडाउन गर्‍यो । लकडाउनका कारण स्वदेश तथा विदेशमा धेरैले रोजगारी गुमाउनु पर्‍यो । रोजगारी गुमाउने मध्येका एक हुन तानसेन नगरपालिका–१४ का रमेश परियार । यस अघि काठमाडौँस्थित एक होटलमा कुकम्यानका रुपमा काम गर्दै आएका परियार सात महिनादेखि बेरोजगार छन् ।

रोजगारी गुमेसँगै आफ्नो जन्मथलो कुसेनीमा परिवारसँगै बसोबास गर्दै आएका परियारलाई ग्रामीण आर्थिक विकास संघ (रेडा), तानसेन नगरपालिकाको आयोजना र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहयोगमा बंगुरका पाठापाठी र खोरका लागि आर्थिक सहयोग प्रदान गरिएको छ । व्यावसायिक रुपमा बंगुरपालन गर्न थालेसँगै उनलाई रोजगारी गुमाएको अहिले कुनै गुनासो छैन । बंगुरको स्थानीयस्तरमा नै खपत राम्रो हुने भएकाले बजारको कुनै समस्या नरहेको उनी बताउन्छन् । परिवारले अनुदानमा तीन वटा बंगुर पाएपनि १० वटा पालन गर्ने योजनामा रहेको उनले बताए । एउटा बंगुरबाट पाठापाठी उत्पादन गरी एक लाख आम्दानी लिन सकिने परियारको भनाइ छ ।

कोभिड–१९ को प्रतिकार्यका लागि युवा उद्यमशीलता विकास परियोजनाका माध्यमबाट सामाजिक तथा आर्थिक पुनःप्राप्ति कार्यक्रम अन्तर्गत बंगुरका पाठापाठी २० युवालाई वितरण गरिएको हो । रोजगारी गुमाएका बेरोगार युवालाई दुई पाठी र एक पाठा गरी तीन वटाका दरले बंगुरका पाठापाठी वितरण, खोर निर्माणका लागि १० हजार तथा प्राविधिक सहयोग गरिएको ग्रामीण आर्थिक विकास संघका कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले बताए । सोही स्थानका पदमबहादुर दर्जीले पनि कोभिड–१९ का कारण रोजगारी गुमाए । लामो समयदेखि भारतमा कुकम्यानका रुपमा कायरत दर्जी रोजगारी गुमाएपछि घर फर्किए । उनी निक्कै दुःख कष्ट गरी एक छोरा, एक छोरी र श्रीमतीका साथ पाल्पाको अर्गली घर फर्किएका छन् । घरमा आएसँगै पैसाको अभाव भएपछि दर्जी पनि बंगुरपालन व्यवसायमा आकर्षित भए । दुई वटा थप गरी अहिले उनले पाँचवटा बंगुरपालन गर्न थालेका छन् । खोरलाई १० हजार आर्थिक सहयोग पाएपछि अझै काम गर्न सजिलो भएको दर्जीको भनाइ छ । वर्षमा दुईपटक एउटा बंगुरबाट पाठापाठी उत्पादन हुने भएपछि राम्रो आम्दानी हुने आशा दर्जीको छ । विस्तारैविस्तारै बंगुरको संख्या बढाउने सोचमा रहेका दर्जी अब भारतमा पैसा कमाउन नजाने सोचमा छन् । स्थानीय बजारमा बंगुरका पाठापाठी पाँच हजारभन्दा बढीमा कारोवार हुन्छ । बंगुरको मासु प्रतिकिलो ४ सयमा कारोवार हुँदै आएको छ । यसको मासुको खपत बढ्दो छ । तानसेन नगरपालिका– १० र १४ का रोजगारी गुमाएका र बेरोजगार युवालाई उद्यमी बनाउनका लागि युवालाई बंगुरका पाठापाठी एक पाठा, दुई पाठी वितरण गरिएको छ । रेडाका अधिकृत डा.लेखनाथ अधिकारीले बंगुरपालन गर्दा पोषणयुक्त आहाराको उचितरुपमा व्यवस्थापन र प्रजननको समय ध्यान दिँदा यस व्यवसायबाट प्रशस्त आम्दानी गर्न सकिने बताए । उनले स्थानीय बजारमा बंगुरको मासुको माग बढ्दो रहे पनि आपूर्तिमा समस्या रहेको बताए ।

नगरप्रमुख अशोककुमार शाहीले तानसेनभित्र सञ्चालित युवा उद्यमशीलताको कार्यक्रम अहिले नमूना बनेको बताए । उनले तानसेनबाट शुरुआत गरिएको कार्यक्रम अहिले अन्य स्थानीय तहलेसमेत अनुशरण गरी कार्यान्वयनमा ल्याएको जानकारी दिए । उनले कोभिडका कारण विदेशमा रोजगारी गुमाएका तथा बेरोजगार युवालाई दुई करोड ९० लाख बजेट विनियोजन गरिएको बताए । उपप्रमुख लक्ष्मीदेवी पाठकले आफ्नै खेतबारीमा मेहनत गरेको अवस्थामा पैसा कमाउन विदेश धाउनुपर्ने बाध्यता सधैँका लागि अन्त्य हुने बताइन् ।   –रासस

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update