प्राकृतिक सौन्दर्यताको प्रतिक, वातावरणीय विविधताको धौतक, हाम्रा हिमश्रृंखला र हाम्रा आफ्ना पहाड पनि हुन् । नदी नालाको श्रोत, जल, जमीन अनि जंगलको समिश्रण पनि हाम्रा विशाल पर्वत र हिमश्रृंखला नै हुन् । तराईका फाँट सिन्चित गर्ने हाम्रा पहाड, अनि पहाडको गौरव बढाउने हाम्रा मधेसका उर्वरभूमिले गर्दा हामीले वातावरणीय विविधता र त्यसको उपयोगमा मानवीयता देखाउन नसकेको भन्ने कुरा अहिले आएर जताततै देखिन थालेको आभास हुन्छ । मानवीय वातावरणको विनासका लागि २१ औं शताब्दीको भौतिक विकास पनि करक तत्वका रुपमा मान्न सकिन्छ । राजनीतिक अनि संस्थागत कमजोरीहरुको कारण कम उपभोग भएका अद्वितीय आर्कषक भू–भागहरु एवं प्राकृतिक सम्पदाहरु भएको हाम्रा मुलुकको तुलनात्मक रुपमा वातावरणीय क्षयका कारण दैवीप्रकोप अनि विभिन्न खालका विनासकारी घटनाहरु घटिरहेका छन् । तर पनि अन्य विकासका दृष्टिले विकासको स्थिति केही हदसम्म विरोधाभास रहेको पाइन्छ । प्रकृतिका हरेक अवयवहरुको पहिचान र अस्त्विलाई बचाई राख्ने काम मानवीय आधारभूत मूल्य र मान्यतालाई पनि अहिलेको समाजले विस्मृत जस्तै अवस्थामा देखाइरहेको छ ।
नदी नाला र ताल तलैयाहरुको संरक्षण नहुनु चुरे क्षेत्रको दोहनले हिमाल, पहाड र तराईका भू–भागमा बसोवास गर्नेहरु प्रति पर्ने प्रत्यक्ष र अप्रत्यक्ष वातावरणीय असरलाई सुक्ष्म र विस्तृत रुपमा कुनै पनि क्षेत्रबाट अध्ययन नहुने जस्ता घटनाले गर्दा हामी दिनप्रति दिन विभिन्न समस्याबाट घेरिदै गएका हौं । प्रतिवर्ष हामीले डिसेम्वर ११ तारिख, अर्थात् नेपालमा मंसिर २६ गतेलाई विश्व पर्वत दिवसका रुपमा मनाउने गछौं । यसलाई दिवसका रुपमा मात्रै भन्दा पनि वास्तविकतासंगै दाजेर हेर्नुपर्ने अवस्थाप्रति हामीले ध्यान दिन सकेनौ कि भन्ने यथार्थता प्रति चिन्तित हुँदै गर्दा राम्रो हुने देखिन्छ । संसारकै सबै भन्दा अग्लो हिमश्रृंखला सगरमाथाको देश नेपाल र पृथ्वीको कूल भागको चार प्रतिशत पर्वतहरुमा मानव बसोवास भइरहेका बेला विश्वको कुल जनसंख्याको ७० प्रतिशतले संसारका विभिन्न पर्वतहरुबाट मूल फुटेर निस्कने पानी पिएर आफ्नो प्यास मेटाएका छन् । त्यस कारण पनि पर्वतको महत्व र मानवीय जीवन चक्रलाई यसले पार्ने प्रभाव अत्यान्तै महत्वपूर्ण रहेको पाइन्छ । यी सबै मूल्य र मान्यतालाई आत्मसाथ गर्दै विश्व पर्वत दिवसलाई केवल दिवसका रुपमा मात्रै भन्दा पनि मानव जीवनलाई वातावरण अनि मानवीय मैत्रीपूर्ण भावनालाई व्यवहारमै लागु गर्न सक्नु नै दिवसको सार्थकता हो ।