Shittalpati
ललिता निवास जग्गा प्रकरणमा गच्छदारलाई राजनीतिक प्रतिशोधमा राखिएको प्रति तरुणदल पाल्पाको आपत्ति

पाल्पा,नेपाली काँग्रेसको भ्रातृ संगठन तरुण दल पाल्पाले ललिता निवास जग्गा प्रकरणमा काँग्रेस उपसभापति विजयकुमार गच्छदारलाई राजनीतिक प्रतिशोधमा राखिएको प्रति आपत्ति जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा राजनीतिक प्रतिशोधका लागि गच्छदारलाई मुछिएको भन्दै तरुण दलले आपत्ति जनाएको हो । तरुणदल पाल्पाले आइएतबार एक विज्ञप्ती जारी गर्दै काँग्रेस उपसभापति तथा पूर्व उपप्रधानमन्त्री गच्छदारलाई राजनीतिक प्रतिशोध राखी वद्नियतपूर्ण ढङ्गले लगाइएको भ्रष्टाचारको आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ललिता निवासको जग्गा प्रकरणमा कसैलाई काखा र कसैलाई पाखा हुने गरी सरकारको निर्देशनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही व्यक्तिहरुलाई जोगाउदै केहीलाई मुद्दा दायर गर्नु दुखद् भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

‘तत्कालीन सरकारका प्रमुखहरु नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल, डा. बाबुराम भट्टराई र तत्कालीन सरकारका मुख्य सचिव लिलामणी पौडेललाई कम्यूनिष्टको छाहारी भित्र राखी नेपाली काँग्रेस भएकै कारण असम्बन्धित मन्त्रालयका तत्कालीन मन्त्री विजय कुमार गच्छदारलाई अधिनायकवाद तर्फ उन्मुख ओली सरकारको निर्देशन र योजनामा अख्तियारले लगाएको आरोप खेदपूर्ण छ ’तरुणदलका जिल्ला सभापति मेजर सिंह केसी र सचिव गोेपाल गैरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ । कम्यूनिष्ट र उसका भ्रष्ट मतियारहरु नेकपाका महासचिव विष्णु पौडेलका छोरा नविन पौड्याल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी लगायतलाई मन्त्रिपरिषदको नितीगत निर्णय भन्दै उन्मुक्ति दिइएको र केहीलाई जग्गा फिर्ता गर्ने सर्तमा छोडिनुले सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मिलेमतो रहेको प्रष्ट देखिएको तरुणदलका जिल्ला सभापति केसीले बताए । उनले भने ‘यो प्रवृत्तिले अख्तियारको विश्वसनीयता र संवैधानिक स्वायत्ततामाथि प्रश्न उठेको छ ।’ जग्गा प्रकरणमा संलग्न सबैलाई कानूननको कठघरामा उभ्याउन तरुण दलले माग गरेको छ ।

प्रकाशित मिति: आइतबार, माघ २६, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update