रमेश विश्वकर्मा
गुल्मी । जिल्लामा कोरोना संक्रमणका कारण हालसम्म १३ जनाको ज्यान गएको छ । पछिल्लो समय लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारको क्रममा थप एक जनाको ज्यान गएसँगै कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको हो । जिल्लाको रेसुङ्गा नगरपालिका–१ का ३६ वर्षीय पुरुषको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । मंसिर २५ गते उपचारका लागि अस्पताल गएका उनको मंसिर २६ गते कोरोना पोजेटिभ देखिएको थियो । आइसियुमा राखेर उपचार भइरहेको बेला उनको मृत्यु भएको जनाइएको छ ।
कोरोना भाइरस संक्रमणका कारण पहिलो पटक मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षीय शिक्षकको बुटवलको क्रिमसन अस्पतालमा गत जेठ ८ गते संक्रमणका कारण ज्यान गएको थियो । यस्तै धुर्कोट गाउँपालिकाका ३६ वर्षीय पुरुषको जेठ ३१ तम्घासको महिला विकास कार्यालयमा रहेको आइसोलेशनमा उपचारको क्रममा ज्यान गएको थियो । छत्रकोट गाउँपालिकाका ६८ बर्षिय पुरुषको होम आइसोलेशनमा असार ६ गते ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए । यस्तै रुरु क्षेत्र गाउँपालिकाका ७५ बर्षका वृद्धको काठमाडौँको ग्राण्डी अस्पतालमा असोज १ गते मृत्यु भएको थियो । इश्मा गाउँपालिकाका ३१ बर्षका पुरुषको संक्रमणका कारण असोज ३ मा काठमाडौँको टिचिङ अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । रुपन्देहीको कोरोना विशेष अस्पतालमा असोज १४ गते मुसिकोट नगरपालिकाका ७८ वर्षका वृद्धको मृत्यु भएको थियो । असोज २२ गते रुरुक्षेत्र गाउँपालिकाका ८१ वर्षका वृद्धको मत्यु भएको थियो, भने असोज ३० गते रेसुंङ्गा नगरपालिकाकी ५५ बर्षकी महिलाको मत्यु भएको थियो । कात्तिक १८ गते गुल्मीदरवार गाउँपालिकाका ८५ वर्षका वृद्धको ज्यान गएको थियो । कात्तिक २७ गते रेसुङ्गा नगरपालिकाका ६८ बर्षका पुरुषको मत्यु भएको थियो । मंसिर ३ गते सत्यवती गाउँपालिकाका ६५ वर्षका पुरुष र मंसिर ५ गते रेसुङ्गा नगरपालिकाका ६६ वर्षका पुरुषको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।