पाल्पा, कम्प्युटर साक्षरता कोर्ष पूरा गरेका विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । २०७५ साल पौषदेखि सुरु भएको एक वर्षे प्रोफेशनल डिप्लोमा इनकम्प्युटर एप्लिकेशन (पिडिआईसिए) कोर्षका विद्यार्थीलाई एक कार्यक्रमका बीच प्रमाणपत्र वितरण गरिएको हो । राइटस्टेप एजुकेशनल एकाडेमी र डाइनामिक कम्प्यूटर एकाडेमी तानसेनको सहकार्यमा एक वर्षे कम्प्यूटर साक्षरता अभियान (पिडिआइसिए) सञ्चालन भएको थियो ।
उक्त अभियानमा कम्प्युटर साक्षरता कोर्ष पूरा गरेका विद्यार्थीहरुलाई तानसेन नगरपालिकाका प्रवक्ता दामोदरप्रसाद घिमिरे र संस्थाका अध्यक्ष सुनिता अधिकारीले प्रमाणपत्र वितरण गरेका थिए । प्रमाणपत्र वितरण गर्दै प्रवक्ता घिमिरेले कम्प्युटर शिक्षा आजको आवश्यक भएको बताए । उनले व्यवसायिक वा व्यक्तिगत क्षेत्रमा कम्प्युटरको महत्वपूर्ण भूमिका रहने भएकाले सिकेका ज्ञान सीपलाई व्यवहारमा उतार्न विद्यार्थीहरुलाई आग्रह गरे । डाइनामिक कम्प्यूटर एकाडेमीका प्रशिक्षक गिरीराज न्यौपानेले अन्य इन्टिच्युटको कोर्ष भन्दा भिन्न र अन्तर्राष्ट्रिय स्तरको कोर्ष भएकाले यसमा सिकेका सीपलाई व्यवहारमा उत्तार्नु पर्नेमा जोड दिए ।
उनले तालिममा सिकेको सीपलाई व्यवहारमा लागु गर्न सके रोजगारीसँगै सीप विकासमा सहयोग पुग्ने धारणा व्यक्त गरे । जिल्लामै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको आइएसओ मान्यता प्राप्त प्रमाणपत्रको साथमा प्रोफेशनल कम्प्युटर शिक्षामार्फत सयौं विद्यार्थीलाई कम्प्यूटर साक्षरता अभियानमा राइटस्टेपसँगको सहकार्यमा डाइनामिकले कम्प्यूटर शिक्षा प्रदान गर्दै आएको संस्थाका म्यानेजि· डाइरेक्टर अमृत अधिकारीले जानकारी दिए । प्रशिक्षार्थीहरु हरी बस्याल र बेनुकला अधिकारीले आफूहरुले अन्य इन्चिच्यूटमा भन्दा फरक र उच्चतम शिक्षाहासिल गर्न पाएकोमा संस्थालाई आभार व्यक्त गरे । तालिममा ६ सय सहभागिबाट प्रवेश परीक्षामा छनौट भई एक सय ५० जना विद्यार्थीले कम्प्यूटर ज्ञान लिएका थिए ।