पाल्पा, पाल्पामा थप ४६ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई शुक्रबार र शनिबार प्राप्त विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका ४६ जना संक्रमितले कोरोना जितेका हुन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिका तथा नगर भित्र रहेका अस्पतालका २४ जना संक्रमितले कोरोना जितेका छन् । यस्तै माथागढी र रामपुरका एक /एक जना, पूर्वखोलाका ११ जना,रैनादेवी छहराका तीन जना, रम्भाका दुई जना, तिनाउका तीन जना, रिब्दीकोटका एक जना कोरोना संक्रमणमुक्त भएका हुन् ।
यो संगै पाल्पामा कोरोना संक्रमणमुक्त हुनेको संख्या एक हजार ६ सय ४३ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै पछिल्लो दुई दिनमा पाल्पामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ जना पुरुष र ३ जना महिलामा संक्रमण देखिएको हो । तानसेन नगरपालिकाका ७ जना, माथागढी, पूर्वखोला, रैनादेवी छहरा, रम्भाका एक/ एक जना र बगनासकालीका तीन जनामा संक्रमण देखिएको हो । योसँगै पाल्पामा एक हजार ७ सय ५२ जना कोरोना संक्रमित पुगेका छन् ।
पाल्पामा कोरोनाका कारण २९ जनाको मृत्यु भएको छ । अहिले जिल्लामा कुल सक्रिय संक्रमितको संख्या ८० पुगेको छ । उनीहरु सबै होम आइसोलेशन र केही अस्पतालमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो समयमा समुदायस्तरमा समेत कोरोना फैलिएको छ । जिल्लामा अहिलेसम्म ९ सय ४७ जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । ति मध्ये महामारीको अग्रभागमा रहेर काम गर्दै आएका ८२ जना स्वास्थ्यकर्मी रहेका छन् ।