Shittalpati
राजनीतिक प्रतिशोध प्रति तरुणदलको आपत्ति

पाल्पा, नेपाली काँग्रेसको भ्रातृ संगठन तरुण दल पाल्पाले ललिता निवास जग्गा प्रकरणमा काँग्रेस उपसभापति विजयकुमार गच्छदारलाई राजनीतिक प्रतिशोधमा राखिएको प्रति आपत्ति जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा राजनीतिक प्रतिशोधका लागि गच्छदारलाई मुछिएको भन्दै तरुण दलले आपत्ति जनाएको हो ।

तरुणदल पाल्पाले आइतबार एक विज्ञप्ती जारी गर्दै काँग्रेस उपसभापति तथा पूर्व उपप्रधानमन्त्री गच्छदारलाई राजनीतिक प्रतिशोध राखी वद्नियतपूर्ण ढ·ले लगाइएको भ्रष्टाचारको आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ललिता निवासको जग्गा प्रकरणमा कसैलाई काखा र कसैलाई पाखा हुने गरी सरकारको निर्देशनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही व्यक्तिहरुलाई जोगाउँदै केहीलाई मुद्दा दायर गर्नु दुखद् भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

‘तत्कालीन सरकारका प्रमुखहरु नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल, डा. बाबुराम भट्टराई र तत्कालीन सरकारका मुख्य सचिव लिलामणी पौडेललाई कम्यूनिष्टको छाहारी भित्र राखी नेपाली काँग्रेस भएकै कारण असम्बन्धित मन्त्रालयका तत्कालीन मन्त्री विजयकुमार गच्छदारलाई अधिनायकवादतर्फ उन्मूख ओली सरकारको निर्देशन र योजनामा अख्तियारले लगाएको आरोप खेदपूर्ण छ’ तरुणदलका जिल्ला सभापति मेजर सिंह केसी र सचिव गोेपाल गैरेद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

कम्यूनिष्ट र उसका भ्रष्ट मतियारहरु नेकपाका महासचिव विष्णु पौडेलका छोरा नविन पौड्याल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी लगायतलाई मन्त्रिपरिषदको नीतिगत निर्णय भन्दै उन्मुक्ति दिइएको र केहीलाई जग्गा फिर्ता गर्ने सर्तमा छोडिनुले सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मिलेमतो रहेको प्रष्ट देखिएको तरुणदलका जिल्ला सभापति केसीले बताए । उनले भने ‘यो प्रवृत्तिले अख्तियारको विश्वसनीयता र संवैधानिक स्वायत्तता माथि प्रश्न उठेको छ ।’ जग्गा प्रकरणमा संलग्न सबैलाई कानुनको कठघरामा उभ्याउन तरुण दलले माग गरेको छ ।

प्रकाशित मिति: सोमबार, माघ २७, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update