Shittalpati
‘जनतामा हाम्रो सरकार भन्ने अनुभुति हुनेगरी काम गरेका छौँ’

इमान्दार, संघर्षशील र विकास प्रेमी सन्तोष थापा मगरले माथागढी गाउँपालिकाको नेतृत्व सम्हालेको साढे तीन वर्ष पुग्न लागेको छ । गाउँपालिकाको मुख्य योजनाकारको छवि बनाएका थापाले तीन वर्ष हाराहारीमा पृथक विकास आयोजना अघि बढाएका छन् । केही नयाँ योजनाको रूपरेखा पनि तय गरिसकेका छन् । वर्षौंदेखि अल्झिएका विकासका कामलाई निरन्तरता दिन उनी क्रियाशील छन् । ३० हजार ५ सय ९३ जनसंख्या रहेको गाउँपालिकामा मगर समुदायको बाहुल्यता रहेको छ । उनकै क्रियाशीलताका कारण स्थानीय पाठ्क्रम निर्माण गरी जिल्लामै नमूना काम गर्न गाउँपालिका सफल भएको छ । उनै थापासँग गाउँपालिकाका विभिन्न योजना र हालसम्म गरेका गतिविधिको सेरोफेरोमा रहेर नवजनचेतना दैनिक/शित्तलपाटी डटकमका उप–सम्पादक रामचन्द्र रायमाझीले गरेको कुराकानीको सम्पादित अशं :

दिनचर्या कसरी चलिरहेको छ ?
– व्यक्तिगत जीवन केही नहुँदो रहेछ । बिहानैदेखि जनताकै सेवा र कार्यक्रममा व्यस्त हुन्छु ।

तपाई निर्वाचित भएपछि गर्नुभएका मुख्य–मुख्य काम के–के हुन् ?
– पूर्वाधार विकास निर्माणलाई प्राथमिकतामा राखिएको छ । जसमध्ये शिक्षा, स्वास्थ्य र कृषि प्रमुख प्राथमिकतामा परेका छन् । त्यसपछि खानेपानी र सडक निर्माणमा जोड दिएका छौं । स्वस्थ गाउँपालिका बनाउने अवधारणा अनुरूप योजना बनेका छन् । खानेपानी समस्या दीर्घकालीन रूपमा समाधानका लागि अल्पकालिन र दीर्घकालिन योजना अगाडि सारिएको छ । हजुरले भने जस्तै काम त धेरै भएका छन् । तर कुन कामलाई कसरी भन्ने ? जनतामा हाम्रो सरकार भन्ने अनुभुत हुनेगरी काम गरेका छौँ । विकास बजेट यस अगाडि सन्तुलित थिएन । पहुँचका आधारमा विनियोजन हुन्थ्यो । कृषि पशुपालनका कार्यक्रमका विषयमा धेरै कृषकहरु अनविज्ञ थिए । मातृ र शिशु मृत्युदर बढी थियो । त्यसलाई कम गर्न बर्थिङ्ग सेन्टरको स्थापना र जनस्वास्थ्य प्रयोगशालाको निःशुल्क सेवा सुरुवात गरेका छौं । खरको छानामुक्त गाउँपालिका बनाउँदैछौं । विपन्न वर्गका मानिस स्वास्थ्य उपचारमा आर्थिक अभावका कारण मृत्युवरण गर्न नपरोस् भनेर विपन्नका लागि निःशुल्क रुपमा स्वास्थ्य बीमा गरिदिएकाछौँ । निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायिक बनाएकाछौँ । मगर समुदायको बाहुल्यता रहेको गाउँपालिकाका तीन विद्यालयमा स्थानीय मगर भाषामा पठनपाठन हुने व्यवस्था मिलाएकाछौं । साथै आधारभूत तहका लागि स्थानीय पाठ्यक्रम निर्माण गरी लागु गरिएको छ । पाठ्यक्रममा आधारित रहेर पाठ्यपुस्तक समेत निर्माण गरिएको छ ।

विकासको काम कसरी अघि बढेकोे छ ?                                                                                             
– २०७४ साल असार १४ गते स्थानीय तहको निर्वाचनबाट निर्वाचित भयौ । सुरुको एक वर्षलाई हामीले आधार वर्षका रूपमा लियौ । पहिलो वर्षभित्र स्थानीय ऐन, कानुन र कार्यविधि बनायौ । सुरुकै वर्ष पूँजीगत (विकास निर्माण) तर्फको ९५ प्रतिशत रकम खर्च गर्न हामी सफल भयौ । गाउँपालिकाका सबै वडाका बस्तीहरुमा विद्युतीकरणको कार्य अन्तिम चरणमा पुगेको छ । सबैको घरमा एक घर एक धारा, बाह्रै महिना यातायातका साधनहरु सञ्चालन गर्ने गरी सडकको स्तरउन्नतिका कामहरु धमाधम भइरहेका छन् । स्वास्थ्य, शिक्षा र सञ्चार क्षेत्रमा पनि पूर्वाधारका धेरै काम भएका छन् । जनताले प्रत्यक्ष अनुभूति हुने किसिमका अन्य विकास निर्माणका कामहरु पनि अगाडि बढेका छन् ।

शिक्षा क्षेत्रमा भएका प्रगति बारे केही बताइदिनुहुन्छ कि ?
– हामीले गाउँपालिकाको शैक्षिक अवस्थाको अध्ययन गरी पञ्चवर्षिय गाउँ शिक्षा योजना निर्माण गरी सोही अनुसार शिक्षा क्षेत्रमा नीति कार्यक्रम तथा बजेट विनियोजन गरेका छौं । व्यवसायिक र प्राविधिक शिक्षालाई जोड दिर्दै वडा १ मा रहेको सौभाग्य माविमा प्राविधिक शिक्षाको पठनपाठन सुरु गरेका छौं । मूल्याड्ढन पद्दतिलाई व्यवस्थित गर्दै कक्षा ५ र ८ को पालिकास्तरीय परीक्षा लिने व्यवस्था गरेका छौं । विद्यालयको प्रशासनिक कार्यलाई व्यवस्थित गर्न प्रत्येक विद्यालयमा कम्पुटर, ई–हाजिरी मेसिन जडान र पुस्तकालय स्थापना गरिएको छ । विद्यालयका प्रअ, व्यवस्थापन समिति, अभिभावक र शिक्षकलाई गुणस्तरी शिक्षा निर्माणमा टेवा पुग्ने गरी तालिम दिइरहेकाछौं । हामी निर्वाचित हुँदा शैक्षिक उपलब्धि प्रतिशत ५२ मात्र थियो । त्यसलाई उल्लेखिय रुपमा बढाएका छौं ।

युवा विदेश जाने क्रम बढ्दो छ, उनीहरूलाई रोक्न गाउँपालिकाले कस्तो पहल गरिरहेको छ ?
– हो, विगतमा धेरै युवाहरु रोजगारीको शिलशिलामा विदेश जाने गरेका थिए । अहिले त्यो क्रम केही हदसम्म रोकिएको छ । पछिल्लो समय कोभिडका कारण विदेश गएका युवाहरु गाउँ फर्किएका छन् भने जाने क्रम पनि कम भएको छ । हाम्रो गाउँपालिकाभित्र कृषि र पशुपालनको प्रचुर सम्भावना रहेको छ । त्यसैलाई नै लक्षित गरी कार्यक्रम बनाएर कार्यान्वयन गरेका छौ । दिर्घकालीन रोजगारी सिर्जनाका लागि कृषि र पशुपालनलाई जोड दिएका छौ । हामीले नयाँ कुरा त कसेनीको ओलेसमा किवी, झडेवामा खुर्सानी, रुप्सेमा आलु, हात्तिलुङ्गमा बाख्रापालन र धनियाँ खेतीको पकेट क्षेत्र बनाउँदैछौ । साथै गोठादी, रहवास, रुप्से र बहादुरपुरमा पनि बाख्रापालनको पकेट क्षेत्रका रुपमा विकास गर्दैछौं । रुप्से, कसेनी र चिदीपानीमा दूग्ध पकेट, चिदीपानीमा तरकारी पकेट क्षेत्र निर्माण गरेका छौं । उत्पादन लागतलाई कम गर्नका लागि कृषि मेसिनरी औजार र उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरेका छौं । त्यस्तैगरी युवालाई लक्षित गरी जीवनपयोगी सीपमूलक तालिम समेत दिइसकेका छौं ।

प्रधानमन्त्रीले भनेजस्तै माथागढीका जनता समृद्ध र खुसी छन् त ?
– समृद्धि भन्ने कुरा रातरात आउने कुरा चाहीँ हुँदैन । हामीले माथागढीलाई दिर्घकालीन रुपमा समृद्ध बनाउन योजनावद्ध रुपमा काम गर्दैछौ । सबै विषयमा जनता सन्तुष्ट र खुसी छन् भनेर मैले दाबी गर्न त मिल्दैन तर अधिकतम मात्रमा जनतालाई खुसी राख्न हामी कटिवद्ध छौं ।

बजेट कार्यान्वयन गर्दा के–कस्ता समस्या झेल्नु पर्दोरहेछ ?
– हामी जनप्रतिनिधि भनेका नीति नियम, कार्यक्रम र बजेट बनाउने हो । हामीले बनाएका नीति नियम, कार्यक्रम र बजेटलाई कार्यान्वयन गर्ने भनेको कर्मचारीले हो । तर दरवन्दी अनुसारका कर्मचारी अभाव छ । बजेट कार्यान्वयनमा समस्या भनेको कर्मचारी अभावको हो ।

कर्मचारीबाट हुने सहयोग कस्तो छ ?
– २० वर्षसम्म कर्मचारीकै भरमा सञ्चालन हुँदै आएको स्थानीय तहमा जनप्रतिनिधि आएपछि कर्मचारीलाई काम गर्न सजिलो भएको छ । अनुभवी कर्मचारी र भिजन भएका स्थानीय जनप्रतिनिधि बीच सहकार्य भए विकास निर्माणमा कुनै समस्या नहुने कामको अनुभवले प्रस्ट बनाएको छ । कहिलेकाँही कर्मचारी र जनप्रतिनिधिबीच समन्वय नहुँदा काम गर्न कठिनाई पनि हुने गरेका धेरै उदाहरण छन् । कर्मचारीमा पारदर्शिता र सक्रियता भए समयमा काम सम्पन्न गरिने, सेवाग्राहीले दुःख नपाउने, गुणस्तरीय कामको अनुगमन गर्न सजिलो हुने पक्का छ । यसका लागि राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने नीति लिएकाछौं । कर्मचारीको मनोबल उच्च हुनेगरी सेवा सुविधा प्रदान गरिएको छ । गाउँपालिकालाई भ्रष्टाचाररहित पालिका बनाउने र बेरुजु शून्य बनाउन विशेष अभियान थालिएको छ ।

स्थानीय तहको विकासमा प्रदेश र केन्द्र सरकारसँग सहकार्य कस्तो छ ?
– स्थानीय तहका केही त्यस्ता योजनाहरू छन् जुन प्रदेश र केन्द्र सरकारसँग सहकार्य नगरी सम्भव हुँदैन । गाउँपालिकामा पनि त्यस्ता चुनौती धेरै छन् । संविधानमा तीन वटा सरकारको व्यवस्था भएको छ । तीन वटा सरकारबीच सहकार्य समन्वय सहअस्तित्वबाट सञ्चालन हुने भनिएको छ तर अहिले सम्म नभएकै त्यहि नै हो । स्थानीय तहको एकल अधिकार माथि प्रदेश र संघीय सरकारले हस्तक्षेप गरेका छन् ।

तोकिएको समयमा योजना सम्पन्न गर्नका लागि के गर्दै छ गाउँपालिका ?
– योजना कार्यान्वयनका लागि कार्यतालिका बनाएर काम गरेका छौ कुन कुन महिनामा के के काम गर्ने भन्ने तालिका बनाएकाछौं र सोही अनुसार कार्यान्वयन पनि गर्नैछौं ।

स्थानीय तहमा वेथिती भ्रष्टाचार छ भनिन्छ नी ?
– कतिपय स्थानीय तहमा त्यस्तो हुन सक्छ तर जहाँ भएको छ त्यहाँ नै भन्नुपर्दछ । यो होलसेलमा भन्न भएन । जहाँ भएको छ त्यहाँका संग्लन व्यक्तिलाई कानुनी दायरामा ल्याउनुपर्‍यो नि ! अख्तियार, सर्तकता केन्द्र र स्थानीय प्रशासनले भ्रष्टाचार, अनियमिता गर्ने जो कोहीलाई कारवाही गर्नुपर्‍यो । अनिमियता गर्नेलाई कारवाही गरेको खोइ ? प्रश्न यहाँ हो । मलाई के लाग्दछ भने यस्ता हल्ला फैलाएर कतै संघीय व्यवस्थाप्रति नै प्रहार गर्न खोजिएको त होइन ?

स्थानीय तहमा बेरुजुको पनि समस्या उत्तिकै छ नी ?
– यो जटिल समस्या हो, तर रकम हिनामिना गरेर बेरुजु भएको होइन । काम उपभोक्ताले ग¥या छन् प्राविधिक स्टमेट अनुरुप नै भएको छ । तर त्यसलाई आवश्यक पर्ने कागज पत्र दुरुस्त राखेको हुदैन त्यसैले गर्दा पनि नीतिगत बेरुजु भएको हो । बेरुजु फस्र्योटका लागि गाउँपालिका तदारुकताका साथ लागेको छ ।

अन्त्यमा...
– लामो समय सम्मको नेपाली जनताको बलिदानीबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्नुपर्ने आजको आवश्यकता हो । जनप्रतिनिधि एक्लैले सबै काम गर्न सक्दैनन् । यसका लागि सबै नागरिकको साथ सहयोग चाहिन्छ । नागरिकले हरेक काममा साथ दिनुपर्छ । गलत कामका लागि खबरदारीसँगै बिग्रिएको ठाउँमा सच्याउने मौका दिनुपर्छ र राम्रो काम गर्दा प्रोत्साहन गर्नुपर्छ । आमनागरिक र जनप्रतिनिधि बीच नङ र मासु जस्तो सम्बन्ध हुनुपर्छ । धन्यवाद !

प्रकाशित मिति: मंगलबार, पुस ७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update