आज देशभरका इसाई धर्मालम्वीहरुले क्रिसमस पर्व मनाउँदै छन् । जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा हरेक वर्ष यो पर्व मनाइने गरिएको छ । आज शुक्रबार पनि इसाईहरुको सबैभन्दा ठूलो यो पर्वमा विभिन्न किसिमका कार्यक्रमहरु हुँदै छन् । यी कार्यक्रमहरु विगतमा जस्तो धुमधामका साथ भने नहुने देखिएको छ । विश्वभर फैलिएको कोरोना महामारीका कारण यी पर्व मनाउने चर्चाहरु सुनसान जस्तै छन् । जसले गर्दा विगत जसरी धुमधामका साथ मनाइने यो पर्व यस वर्ष भने खासै तामझाम नहुने देखिएको हो । तर पनि पर्वलाई निरन्तरता दिन इसाई धर्मलम्बीहरु जुटेका छन् । पछिल्लो समय यो पर्व केवल इसाईहरुले मात्रै नभएर गैर इसाईहरुले समेत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु गरी मनाउँदैछन् । यो पर्वसँग जोडिएका विभिन्न किसिमका चिह्न एवं संकेतहरुको कारण पनि यो पर्व सबैको साझा पर्वको रुपमा विकास भइरहेको देख्न सकिन्छ । क्रिसमससँग जोडिएर आउने विभिन्न संकेतहरु छन् । जस्तो हरियो रुखमा हिउँ परेको आकृति, रातो र सेतो रंग मिसिएको सान्टा क्लज र अरु पनि त्यस्ता परम्पराहरु क्रिसमससँग जोडिएर आउने पर्वहरु हुन् । हिन्दुहरुको महान् पर्व दसैँ तिहार जस्तै इसाई धर्मलम्वीहरुले पनि महान् पर्व क्रिसमसलाई लिने गर्दछन् ।
नेपालमा विभिन्न जातजाति, भाषा, धर्म मान्ने मानिसहरुको बसोबास रहेको छ । त्यसमध्ये इसाई धर्मका अनुयायीहरूले हरेक वर्ष हर्साेल्लासका साथ क्रिसमस मनाउने गर्दछन् । चिसो मौसमसँगै मनाईने यो पर्व क्रिसमसका धेरै पाटाहरु हिउँसँग जोडिएका छन् । विभिन्न प्राचीन यूरोपियन दस्तावेजका अनुसार क्राइस धर्तीमा आउन पूर्व नै हिउँद्को यो मध्ये समयमा आगो र प्रकाशको चाड मनाइने कुरा उल्लेख छ । इस्वी संवतका अनुसार हरेक वर्षको डिसेम्बर २५ लाई क्रिसमसका रुपमा मनाइन्छ भने केही देशहरुले डिसेम्बर २४ मा पनि मनाउने गर्दछन् । इस्वी सवंतलाई क्राइसको जन्म अगाडि र एनोनो डोमिनी क्राइस पछाडी गरी दुई भागमा बाँडिएको छ । संसारभरि नै उपहारहरु साटासाट गरिंदै, क्रिसमस रुख सिङ्गार्दै, भोज आयोजना गरी गिर्जा घरहरुमा गएर क्रिसमस मनाइने गरिन्छ । नजिकै जङ्गल हुने समुदायमा घरका पुरुषहरु जङ्गल गएर ठूला रुखका मुडाहरु काटेर ल्याउँने र आगनमा बालेर यो पर्व मनाउने गरिन्छ । क्रिसमसको ठूलो आकर्षण भनेको सान्टा क्लज हुन्, रातो टोपी लगाएका अनि सेतो दाह्री, जुँगाा भएको मोटोघाटो ठूलो शरीरको साधुले सबैलाई उपहार दिने र खुशी बाँड्ने जनविश्वास रहेको छ । वास्तुको आधारमा पनि क्रिसमस ट्री जस्तै आकारको रुखहरु राख्दा त्यसले घरमा सकारात्मक ऊर्जाको विकास गराउँछ भन्ने मान्यता रहेको छ । जसले क्रिसमस पर्वको महत्वलाई दर्साउँछ ।