Shittalpati
अस्पताललाई थप प्रभावकारी बनाऊ

देशभरका सरकारी अस्पतालहरुमा कोभिड र ननकोभिडका विरामीहरुको चाप बढ्दै गएको छ । अहिले मौसम परिवर्तनका कारण पनि मौसमी विरामीहरुको चाप अध्याधिक रहेको छ । यस्तो अवस्थामा साधारण विरामीहरुले अस्पतालमा बेड नपाउने र पहुँच भएका विरामीहरुले मात्र उपचार पाउने अवस्था अहिले सिर्जना भएका समाचारहरु बाहिर आएका छन् । स्वास्थ्य सेवामा साधारण मानिसको पहुँचको विषय अहिले जटिल बन्दै गएको छ । पहुँच नभएका र आर्थिक अवस्था कमजोर भएका विरामीहरुले राम्रा अस्पतालहरुमा उपचार नपाएर मर्नु परेका घटनाहरु सार्वजनिक भएका छन् । यसरी सरकारी अस्पतालहरुमै सामान्य विरामीहरुले उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था आउने अत्यन्त दुःखको कुरा हो । विरामीहरुले जनतन अस्पताल पाए पनि त्यहाँ उपलब्ध चिकित्सक, उपचार उपकरण, औषधीको गुणस्तरसमेत राम्रो नहुँदा अकालमै ज्यान गुमाएका छन् ।

देशका ठूला अस्पतालदेखि जिल्ला र स्थानीय तहका साना उपचार केन्द्रसम्म नै गुणस्तरी भौतिक स्रोत र साधन छैनन् । जसले गर्दा सरकारी अस्पतालको सेवा प्रभावकारी हुन सकेको छैन् । कोभिड–१९ महामारी संक्रमणको बेलामा आम जनतामा प्रभावकारी सेवा प्रवाह गर्नुपर्ने मुख्य दायित्वमा रहेका सरकारी अस्पताल निकै कमजोर अवस्थामा रहनु राम्रो होइन । यसले जनताको स्वास्थ्यमा निकै ठूलो नकारात्मक असर पारिरहेको छ । तत्काल केही र मात्रात्मक रूपमा देखिए पनि दीर्घकालमा यसले गम्भीर समस्या सिर्जना गर्न सक्ने भयसमेत बढेर गएको छ । मुलुकमा गरिबीको रेखामुनि रहेकाहरूको संख्या अत्याधिक छ । गरिब विपन्नहरू महङ्गो शुल्क तिरेर निजी अस्पतालमा जान सक्ने अवस्था रहँदैन । उनीहरू जाने भनेकै सरकारी अस्पताल हो । त्यसैले सरकारी अस्पतालको सेवालाई प्रभावकारी बनाउन सकियो भने मात्रै आमनागरिकको मर्मलाई आत्मसात गर्न सकिन्छ । तसर्थ सम्बन्धित निकायले सरकारी अस्पताहरुको सेवा सुविधालाई थप प्रभावकारी बनाउने कार्यमा तदारुकता देखाउन जरुरी छ ।

प्रकाशित मिति: शनिबार, पुस ११, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update