मदन देउराली
आज धान्य पूर्णिमा, योमरी पुन्ही । आज नै किरात समुदायहरुको उधौली पर्व पनि हो । प्रत्येक वर्ष मार्गशिर्ष शुक्लपक्ष पूर्णिमा तिथिलाई धान्य पूर्णिमा भनिन्छ । असारमा रोपेको प्रमुख बाली धान मंसिरमा पाकेर काटेर थन्काए पछि धर्तिमाता प्रति कृतज्ञता प्रकट गर्न धान्य पूर्णिमा पर्व मनाउने गरिन्छ । आफ्नो घरको भकारीमा रहेको धान कम नहोस् र जहिले पनि धन धान्यले भरिभराउ भइरहोस् भनेर यो पर्व मनाइने भएकोले यो पूणिमालाई धान्य पूर्णिमा भन्ने गरिएको भनिन्छ । यस अलावा आज नै पहाडी समुदायले कूलपूजा र गोठपूजा गरी गैडु पूजा गर्ने चलन पनि रहेकोछ । पूर्वी भेगका किरात समुदायले वर्षभरिको आफ्नो अन्न बाली भित्राए पछि लेक छल्ने भनेर बेसी झर्ने गर्दछन । मानिसहरु मात्र हैन आफ्ना जनावरहरु तथा त्यहा पाइने चराचुरुङ्गीहरु पनि बेंसी झर्ने गर्दछन् । त्यसैको संकेत स्वरुप उधौली पर्व मनाएको भनिन्छ । त्यसैगरी आज काठमाडौं उपत्यका लगाएत देशैभरि छरिएर रहेका विविध प्राचीन संस्कृति र परम्पराका धनी नेवार समुदायले धान बाली भित्राएको खुसीयालीमा योमरी पुन्ही मनाउँदछन् । वास्तवमा नेवारी समाजको जनजीवन नै एकप्रकारले कलापूर्ण मान्नु पर्छ । खानेकुरादेखि पिउने, बस्ने आदिमा समेत कलाको भूमिका रहेको हुन्छ । योमरी बनाउने शिल्पकलाले यो तथ्य स्पष्ट गराउँछ । यस पर्वलाई नेवार ज्यापूहरुले मनाउँदै आएको देखिन्छ । यो पर्व वास्तवमा परिश्रमी कृषकहरुको पसिनाको फल चाख्ने दिवस भने पनि हुन्छ । नयाँ अन्न भित्रिए पछि खुसी व्यक्त गर्दै सबभन्दा पहिला देवीदेवताहरुलाई योमरी बनाएर चढाई मात्र आफुहरुले प्रयोग गर्दछन् । नयाँ धानको पिठोमा चाकुको झोल, खुवा, किमा, मास, तिल आदि राखेर योमरी बनाइन्छ । यो रोटी खाँदा मिठो हुने भएकोले र सबैले मन पराएकोले यसलाई योेमरी भनिएको हो ।
नेवारी भाषामा य भनेको मन परेको मरी भनेको रोटी अर्थात मन परेको रोटी योमरी नेवारी शब्द हो । कसैले योमरी त कसैले यमरी पनि भन्ने गर्दछन् । योमरीलाई नाश्ताको रुपमा पनि खाइन्छ । योमरी बनाउँदा त्रिकोण या लाम्चोे आकारको बनाइन्छ । नयाँ धानको चामलको पिठोलाई माछाको जस्तो आकार बनाएर त्यसभित्र चाकु, तिल, दूधको खुवा आदि राखेर पानीको बाफबाट योमरी तयार गरिन्छ । योमरी अत्यन्तै स्वादिष्ट हुन्छ । तेल या अन्य चिल्लोपना नभएको यो परिकार स्वास्थ्यका हिसावले हितकारी छ । जाडोको महिना शुरु भैसकेको हुन्छ त्यसैले योेमरीलाई न्यानो परिकारको रुपमा लिइन्छ र यो खाएमा जाडो भगाउँछ भन्ने मान्यता छ । चामलको पिठो र तील चाकु मिसाएर मिठो गुलियो दुइतिर चुच्चो गरी योमरी बनाइन्छ । योमरीको त्रिकोणात्मक आकारले षटकोणको अर्ध भागको रुपमा सरस्वती अथवा ज्ञानको प्रतिविम्वको रुपमा मानिन्छ । पानीको देवताको रुपमा काठमाडौंबासीले मछिन्द्रनाथलाई माने जस्तै अन्न अथवा उब्जनीको माता अन्पूर्णालाई नयाँ उब्जनी अनि त्यसैबाट बनेको खानेकुरा योमरी चढाउने परम्परा रहँदै आएको छ । योमरी पुन्हीको रुपमा स्थापित धान्य पूर्णिमा नेवारी समुदायको एक प्रमुख चाड हो । यसलाई न्वागीको रुपमा पनि लिने गरिन्छ । खेतबाट आएको नयाँ धानलाई भकारीमा राखी पूजा गर्ने, योमरी चढाउने र प्रसादको रुपमा खाने अरुलाई बोलाएर ख्वाउने चलन नेवारी समाजमा रहेको छ । नेवारी संस्कृतिमा बाह्र वर्षसम्मका बच्चाहरुलाई जोर जन्मवर्षको पहिलो दिन योमरीको माला बनाएर लगाई दिने चलन पनि रहेको छ । भनिन्छ योमरी बौद्ध चैत्य दर्शनमा पनि आधारित छ । कृषिकार्यसंगै आजको धान्य पूर्णिमाले विशेष महत्व बोकेको छ । काभे्र जिल्लाको अत्यन्त पुरानो सहर पनौतीबाट योमरी बनाउने चलन प्रारम्भ भएको भनिन्छ । पहिला यसलाई पाँचालनगर भनिन्थ्यो । पौराणिक कथा अनुसार पाँचालनगरमा सुचन्द्र तथा क्रिता नाम गरेका दम्पति बस्दथे । तिनीहरु अत्यन्त दयालु थिए । तिनीहरुले यो धान्य पूर्णिमाका दिन आफ्नो खेतबाट आएको नयाँ अन्न धानको पिठो बनाई चाकुको झोल राखेर एक प्रकारको रोटी बनाई गाउँले सबैलाई खुवाए जुन सबैले रुचाए मीठो मानि खाए ।
नेवार समुदायमा प्रचलित कथा अनुसार योमरी पूर्णिमा कै दिन धनका राजा कुवेर भेष बदलेर त्यही बाटो हिडिरहेका रहेछन । यसरी भेष बदलेर हिडिरहेको वटुवा कुवेर भन्ने थाहा नभए तापनि उनलाई पनि सो दम्पतिले आदर सत्कारका साथ राखी योमरी रोटी खुवाएछन् । उनीहरुको सत्कारबाट खुसी भएर कुबेरले आफ्नो वास्तविक रुप देखाई उनीहरुलाई धनधान्यले भरिपूर्ण हुने तथा यो मंसिर पूर्णिमाको दिन जस्ले योमरी बनाइ भगवानलाई चढाइ पूजाआजा गर्नेछ उनीहरु गरीबीबाट मुक्त हुनेछ भनि बरदान दिई अन्तध्र्यान भएछन् । त्यसैले काठमाडौंबासीहरु पूर्णिमाको दिन योमरी बनाएर सबभन्दा पहिला असनमा रहेको अन्नपूर्णा मातालाई चढाउँछन् ताकी उनीहरुको खेतबाट राम्रो उब्जनी भइरहोस् भनेर त्यसपछि आफ्ना नातेदार, छरछिमेकी सबैलाई बोलाई योमरी खुवाउँछन् ।
यो पर्व धानबाली संग पनि सम्बन्धित रहेकोले नै यस दिनलाई धान्य पूर्णिमा पनि भनिएको भनिन्छ । यो विश्वास गरिन्छ कि योमरीको पुच्छर जति लामो हुन्छ त्यति नै हिउँद छोटो हुन्छ रे । योमरी लाई पृथ्वीसंग तुलना ग।िरन्छ । योमरीको दुई टुप्पालाई उत्तरी तथा दक्षिणी ध्रुबको रुपमा लिइन्छ । यस्मा राखिने चाकु तथा तिललाई महामायाको रुपमा मानिन्छ । मुखै रसाउने स्वादिष्ट परिकार योमरी बनाई भगवानलाइ चढाएमा धनधान्यले भरपूर गरिदिन्छ भन्ने विश्वास रहेको छ । तानसेन बजार नेवारहरुको बस्ती थियो पहिला । काठमाडौं उपत्यकाबाट विभिन्न कामको सिलसिलामा आएका नेवारहरुले आफ्ना धर्म, संस्कृति, रितीरिवाजलाई जलमल दिई जोगाई राखेका थिए । राणाकालमा विभिन्न प्रयोजनमा तानसेन आई बसेका नेवारहरुले त्यहाँ जस्तै तानसेनमा पनि आफ्नो संस्कृतिलाई भिœयाएका थिए । त्यसैको फलस्वरुप उपत्यकामा हुने करिव करिव सबैजसो जात्रा चाडपर्वहरु तानसेनमा पनि हुने गर्दछन् । यसै सन्दर्भमा तानसेनमा रहेका प्रायजसो नेवार समुदायहरुले पनि आजका दिन घरघरमा योमरी बनाउने गर्दछन् आफ्नो परिवारको लागि मात्र भए पनि । कसै कसैले विधिपूर्वक नै योमरी बनाई पुजाआजा गर्छन् । आजकाल यसरी विधिपूर्वक पूजा गर्ने थोरै छन् ।
सबैले छोडिसके । त्यसबेला कतिपय नेवारहरुको आफ्नो खेतीपाती हुन्थ्यो । प्रशस्त धान आउँथ्यो । घरमा नयाँ अन्न धान भित्राई सकेपछि सो धानको पिठोबाट योमरी बनाइन्थ्यो तर आजकाल खेतीपाती छोडे नयाँ धान आउँदैन त्यसैले बजारबाट चामल ल्याएर भएपनि त्यसैको योमरी बनाउने गरेको पनि सुनिन्छ । योमरी बनाए पछि पहिला भगवानलाई चढाउनु पर्छ भनेर एकदिन अगाडि नै बनाउन शुरु गर्छन् । योमरी बनाउँदा दुईवटा अलि ठूलो साइजको पनि बनाउँछन् जस्लाई मायो बायो भनिन्छ । मायो भनेको आमा यो अलि ठूलो हुन्छ बायो भनेको बुबा यो अलि सानो हुन्छ ।
योमरी बनाउँदा अन्य विभिन्न देवीदेवताहरुमा गणेश, लक्ष्मी, कुबेर, कुमार तथा चरा, अनार , मूला, कछुवा तथा लोहँचामरी आदि पनि बनाउँछन् । यी बनाइएका सबैलाई धान भए धानको भकारीमा नभए टिनको डब्बा वा बाटा आदिमा चामल राखिन्छ र त्यसैमा बनाइएका सबै योमरी राखी पूजा गरिन्छ । आफुले मनले चिताएको पूरा होस् भनि भगवानको प्रार्थना गर्दछन् । अग्रज घरमूलि भएकाहरुले आफ्ना चेलीबेटीहरु, नातेदारहरुलाई बोलाई विभिन्न परिकारका भोजसंगै योमरी पनि खुवाउँछन् । भोज खुवाउँदा सालको पात माथि चटामरी राखिन्छ र यस चटामरीको माथि चिउरा, योमरी तथा अन्य खानेकुराहरु राखिन्छ । चार दिन पछि भकारीमा राखिएका सबै योमरी निकाली पुनः प्रसादको रुपमा सबैलाई बाँडिने गरेको टक्सारका अग्रज दाजु मंगलप्रसाद बज्राचार्य भन्नुहुन्छ । उहाँको घरमा विधिपूर्वक पूजा हुन्छ । हुनत तानसेनमा भएका नेवारहरु सबैले आ–आफ्नो किसिमले पनि योमरी पुन्ही मनाउने गर्दछन् । योमरी पुन्हीको सुअवसरमा सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुमकामना । अस्तु ! (लेखक देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष समेत हुन् ।)