किराँत समुदायको उधौली पर्व र नेवार समुदायको योमरी पुन्ही (ज्यापु दिवस) बुधबार देशभर मनाइएको छ । किराँत समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनको रुपमा उधौली पर्वलाई लिने गरिन्छ । बाली लगाउने बेलामा भने किराँत जातिमा उभौली अर्थात् यावा पर्व मनाइने चलन छ । किराँतहरुको महान चाड साकेलाको दुईवटा पर्विय पक्षहरु उगौली र उधौली हुन् । उँगो भन्नाले ठेट नेपाली शब्दमा माथि भन्ने बुझाउँदछ र उँधो भन्नाले तल भन्ने बुझाउँदछ । ठेट नेपाली गीत अनि शब्दावलीहरुमा उँगो र उँधो शब्दको पर्याप्त प्रयोग भएको पाइन्छ । तल माथि या प्रगती अनि दुर्गती लगायत शुरु या अन्त्य जनाउन उँगो र उँधो शब्दको प्रयोग भएको पाइन्छ । हरेक वर्षको मंसिर शुक्ल पूर्णिमाका दिन उधौंली पर्व पर्दछ । किराँती मान्यता अनुसार यसदिनदेखि हिउँद शुरु हुने मानिन्छ । हिउँद् शुरु भएलगत्तै लेकबाट वस्तुभाउ अनि चराचुरुङ्गी लेकबाट बेसीतिर बसाई सर्ने समय भएको संकेतका रुपमा यस पर्वलाई लिइन्छ । साथै अन्नबाली भिœयाइएको खुशीयालीमा पनि यो पर्व मनाइन्छ ।
यस्तै नयाँ धान भिœयाएको खुशीयालीमा नेवार समुदायले योमरी पुन्ही मनाउने गर्दछन् । नेपालका नेवार समुदायले बुधबार यो पर्व हर्षोल्लासका साथ मनाएका छन् । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडको रूपमा पनि लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ । नुहाइधुवाइ र घरमा लिपपोत गरी योमरी पकाउने चलन छ । योमरीमा दूधबाट बनेको खुवा र चाकु तथा तिलसमेत राखेर डल्लो बनाइन्छ । नेवार समुदायले पनि धान राख्ने भकारी वा कोठीमा पनि पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् । गर्भवती भएका चेलीबेटीलाई गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुन भनेर उपहार पठाउने चलन पनि छ । नेपाली मौलिक संस्कृतिसँग जोडिएका यि पर्वहरुको आ–आफ्नै महत्व रहेको छ । यसर्थ यि पर्वहरुले नेपालका सबै धर्मावलम्बी, जातजाति, भाषाभाषी जो जहाँ रहेको भएपनि एकताबद्ध भई आपसी सद्भाव तथा भातृत्व अभिवृद्धि गरी देशमा शान्ति र सु–व्यवस्था स्थापना गर्नका लागि प्रेरित गर्न सकोस् ।