Shittalpati
मेलमिलाप दिवसको मर्म नभुलौं

देशभर नेपाली काँग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस बिहीबार मनाएको छ । नेपाली काँग्रेसले पुस १६ गतेलाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रूपमा मनाउन थालेको ४५ वर्ष पुगिसकेको छ । देशभित्र फाँसीको सजायको माग भईरहेको समयमा राष्ट्रियता माथि खतरा आएको भन्दै स्वदेश फर्कनका लागि नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका जन्मदाता बीपी कोईरालाले लिएको नीतिलाई काँग्रेसले हरेक वर्ष मेलमिलाप दिवसको रुपमा मनाउने गरेको हो । बीपीको मेलमिलाप नीति भनेको राजा र जनताबीचको मेलमिलाप थियो । राष्ट्रियताको सुरक्षाका लागि राजा र जनताबीच मेलमिलाप हुनुपर्ने बीपीको धारणा थियो । निरङ्कुश राणाहरूको शासन अन्त्य गरी राजालाई पुनःस्थापित गरेको काँग्रेसले लामो अस्थिरतापछि निर्वाचनका माध्यमद्वारा गठन भएको सरकारलाई अपदस्थ गरी निर्दलीयता लादेपछि काँग्रेस र राजाबीचको सम्बन्ध बिग्रेको थियो । थुप्रै मुद्दाको झमेलामा पारिएका बीपी निर्वासन त्यागेर जोखिम लिँदै स्वदेश फर्कनु चानचुने कुरा थिएन ।

उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गरी मुलुकको स्वाधीनता संरक्षणका लागि मुलुकभित्रै रहेर शान्तिपूर्ण संघर्ष गर्ने नीतिका साथ स्वदेश फर्केको यो दिन नेपाली काँग्रेसको इतिहासमै एक महत्वपूर्ण दिन हो । तर, यो दिवसको सान्दर्भिकताका विषयमा आमनागरिक अझै पनि सुसूचित हुन सकेका छैनन् । नेपाली काँग्रेस बाहेकका अन्य राजनीतिक दल तथा शक्तिहरूलाई पनि राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सान्दर्भीकताले छुन सकेको छैन । यर्थाथमा भन्नुपर्दा नेपाली काँग्रेसले पनि दिवंगत पुर्खाको श्राद्ध गर्ने परम्परा जसरी नै राष्ट्रिय एकता तथा मेलमिलाप दिवसलाई निरन्तरता दिदै आएको देखिन्छ । यसको मर्मलाई नेपाली काँग्रेस स्वयंले व्यवहारमा उतार्न सकेको छैन । यो लोकतन्त्रवादी काँग्रेसका लागि लजाष्पदको विषय हो । सयौं जनताको रगत बगाएर गरिएको संघर्षले भन्दा बीपीले २०३३ साल पुस १६ गते लिएको एउटै निर्णयले सयौं गुणा बढी उपलव्धी दिएको यथार्थता मुलुकका कुनै पनि दल तथा राजनीतिक शक्तिले बिर्सनु हुन्न । राष्ट्रियता माथिको संकट आज पनि टरेको छैन । यसर्थ संकटको घडीमा बीपीले लिएको मेलमिलाप नीतिको मर्मलाई कसैले पनि भुल्नुहुँदैन ।

प्रकाशित मिति: शुक्रबार, पुस १७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update